गल्फ क्षेत्रमा हवाई अवरोध : एमिरेट्स र एतिहादले थपे नियमित उडान स्थगन अवधि

सीमित संख्यामा यात्रु उद्धार (रिपाट्रिएसन) तथा कार्गो उडान सञ्चालन भने जारी रहने वायुसेवा कम्पनीले जनाएका छन् ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Gulf air disruption: Emirates and Etihad extend suspension of regular flights

What you should know

काठमाडौं — गल्फ क्षेत्रमा हवाई क्षेत्र अवरुद्ध भएपछि दुबई र अबुधाबीलाई 'हब' बनाएर सञ्चालन हुने दुई प्रमुख वायुसेवा कम्पनी एमिरेट्स र इतिहाद एयरवेजले आफ्ना नियमित उडान स्थगनको अवधि थपेका छन् । यूएईस्थित एमिरेट्सले दुबई आउने-जाने सबै नियमित उडान स्थानीय समयअनुसार बुधबार राति ११:५९ बजेसम्मका लागि स्थगित गरेको जनाएको छ ।

कम्पनीले बुधबार पनि सीमित संख्यामा यात्रु उद्धार (रिपाट्रिएसन) तथा कार्गो उडान सञ्चालन गर्ने स्पष्ट पारेको छ । ती उडानमा पहिल्यै टिकट बुक गरेका यात्रुलाई प्राथमिकताका आधारमा समायोजन गरिने जनाइएको छ ।

एमिरेट्सले यात्रुलाई सिधै सूचना प्राप्त नभएसम्म वा विशेष उडानका लागि पुष्टि गरिएको टिकट नभएसम्म विमानस्थलमा नजान आग्रह गरेको छ । उडानसम्बन्धी अद्यावधिक विवरण आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने र यात्रुलाई यात्राअघि उडानको अवस्था जाँच गर्न, इमेलमार्फत प्राप्त सूचना हेर्न अनुरोध गरिएको छ । कम्पनीले यात्रु तथा चालक दलको सुरक्षा उच्च प्राथमिकता भएको दोहोर्‍याएको छ ।

सन् १९८५ मा स्थापना भएको एमिरेट्स दुबई अन्तर्राष्ट्रिय विमानस्थललाई 'हब' बनाएर सञ्चालन हुने विश्वका अग्रणी अन्तर्राष्ट्रिय एयरलाइन्समध्येको हो । यसले ६ महादेशमा फैलिएको सञ्जालमार्फत सेवा दिँदै आएको छ । एमिरेट्सको नेपालमा प्रत्यक्ष उडान छैन । यद्यपि, फ्लाई दुबईमार्फत दुबई पुगेका धेरै नेपाली यात्रुले युरोप, अमेरिका र क्यानडातर्फ जान एमिरेट्स वा एतिहादका उडान प्रयोग गरेका छन् ।

यसैबीच, यूएईको राष्ट्रिय ध्वजावाहक एतिहाद एयरवेजले पनि अबुधाबी आउने-जाने सबै नियमित व्यावसायिक उडान यूएई समयअनुसार बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरेको जनाएको छ । कम्पनीका अनुसार सम्बन्धित सरकारी निकायसँग समन्वय गरी केही विमान पुनःस्थापन (रिपोजिसनिङ), कार्गो तथा यात्रु उद्धार उडान सञ्चालन हुन सक्नेछन् तर ती उडान कडा सुरक्षा र प्राविधिक स्वीकृतिपछि मात्र सञ्चालन गरिने उल्लेख छ ।

एतिहादले यात्रुलाई कम्पनीबाट सिधै सम्पर्क कल/इमेल नभएसम्म विमानस्थल नजान पनि आग्रह गरेको छ । 

१० मार्चसम्मको यात्रा मिति भएका यात्रुले ३१ मार्चसम्म निःशुल्क पुनःबुकिङ गर्न सक्ने तथा १० मार्चसम्मका उडान रद्द गर्न चाहनेले पूर्ण रकम फिर्ता लिनसक्ने व्यवस्था गरेको जनाएको छ । ट्राभल एजेन्टमार्फत टिकट लिएका यात्रुले सम्बन्धित एजेन्टसँगै सम्पर्क गर्नुपर्नेछ ।

सन् २००३ मा स्थापना भएको एतिहाद अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थललाई मुख्य 'हब' बनाएर मध्यपूर्व, युरोप, एसिया, अफ्रिका र अमेरिकाका विभिन्न गन्तव्यमा सेवा दिँदै आएको छ । कोभिड-१९ महामारीपछि नेपालमा यसको उडान कटौती भए पनि पुनः सञ्चालनको तयारी भइरहेको जनाइएको छ । अबुधाबीलाई विश्वव्यापी ट्रान्जिट हबका रूपमा स्थापित गर्न एतिहादले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully