नारायणगढ–बुटवल सडकको दाउन्नेमा ३ किमि कालोपत्र, ११ किमि ढलान

२०७५ चैतमा ठेक्का सम्झौता भएअनुसार यस सडकखण्डको काम २०७९ साउनभित्र सकिसक्नुपर्ने थियो । तर कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० ११ साउनसम्मका लागि यसको म्याद थप त भयो । तर उक्त समयभित्र पनि काम सकिएन ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

3 km of blacktop, 11 km of slope on the Narayangadh-Butwal road

What you should know

काठमाडौँ —  

आउने चैतमा नारायणगढ–बुटवल सडक विस्तारको काम थालेको सात वर्ष पूरा हुन्छ । तर अझै काम सकिएको छैन । समग्र प्रगति ८० प्रतिशत छ । अन्यत्र काम सकिए पनि सबैभन्दा बढी समस्या आइरहने दाउन्नेको १४ किमि खण्डको सकस अझै टरेको छैन । 

बर्खामा बढी समस्या आउन थालेपछि यस खण्डको ११ किमिमा सिमेन्ट प्रयोग गरेर सडक ढलान गरिँदै छ । सुरुको डिजाइनमा उक्त क्षेत्रको जोखिम आकलन गर्न नसक्दा परामर्शदाता र निर्माण व्यवसायीकै आग्रहमा अहिले डिजाइनमा पुनर्विचार गरी ढलान सडक निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ । 

सुरुको डिजाइनमा कालोपत्र गर्ने उल्लेख भए पनि निर्माणका क्रममा त्यस क्षेत्रको माटोका कारण कालोपत्र टिकाउ नहुने अवस्था देखिएपछि ढलानको काम अघि बढाइएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए । ‘दाउन्ने खण्डमा निर्माणका क्रममा धेरै समस्या आइरहेका कारण टिकाउका लागि सबैतिरबाट ढलान सडक नै चाहियो भनियो । पहिला गरेको अनुमानभन्दा त्यस क्षेत्रको माटो फरक पाइयो,’ उनले भने, ‘पानी रसाइरहने र दलदल माटो बढी भयो, उक्त क्षेत्रमा मालवाहक सवारीसाधन बढी गुड्ने भएकाले ब्रेक लगाउँदा कालोपत्र सडक भासिने र बिग्रने जोखिम बढी देखियो ।’ 

विशेषज्ञहरूसँगको छलफल र परामर्शदाताको सुझावअनुसार ढलान नै गर्नुपर्ने देखिएको ढकालको भनाइ छ । ‘दाउन्ने खण्डमा मात्र भौगोलिक अवस्थाले तीन लेन सडक बनाइँदै छ । यसबाहेकको ९९ किमिमा ग्रामीण र जंगल क्षेत्रमा चार लेन र बजार क्षेत्रमा दुईतिर सर्भिस लेनसहित आठ लेनसम्म सडक बनाइएको छ,’ उनले भने, ‘दाउन्नेमा कमजोर पहाड छ, बर्खामा धेरै पटक समस्या आयो । चाडबाडका बेला यात्रुले धेरै सास्ती खेप्नुपर्‍यो, परामर्शदाताले कालोपत्र गर्दा सडक टिकाउ नहुने औंल्याएपछि ढलानको काम अघि बढाइएको हो ।’ 

१४ किमिमध्ये ३ किमि कालोपत्र र बाँकी ११ ढलान सडक निर्माण हुनेछ । ३ किमि कालोपत्र भइसकेको छ । यसमा साढे ६ किमि सडक ढलान भइसकेको छ । साढे ४ किमि सडक ढलान गरेर निर्माण हुँदै छ । ‘दिनमा ५० मिटरका दरले सडक ढलानको काम भइरहेको छ, ढलानको काम पछि थपिँदा अनुमानित लागतभन्दा करिब ५१ करोड बढी लागत पर्न गएको छ,’ उनले भने, ‘३० वर्षमा मर्मत गर्दा लाग्ने लागत जोडेर हेर्दा कालोपत्र सडक यो अवधिमा तीन पटक नयाँ बनाउनुपर्ने र मर्मत एक–दुई वर्षमा गरिरहनुपर्ने हुँदा सबै खर्च जोडेर हेर्दा ढलाने सडक बनाउन सस्तो पर्ने देखियो ।’ 

सडक कालोपत्र गर्न अलकत्रा र बिटुमिन बाह्य मुलुकबाट ल्याउनुपर्छ । ‘सिमेन्टमा आत्मनिर्भर भएकाले आफ्नै छ, ढुंगा, गिट्टी, बालुवा आफ्नै छ,’ उनले भने, ‘स्वदेशी उत्पादनको खपत पनि भयो, सडक टिकाउन पनि हुने भयो ।’ 

समग्र आयोजनाको म्याद असारसम्म भए पनि जेठभित्रै दाउन्नेको काम सकिने दाबी उनको छ । ‘अन्यत्र सबै काम सकिएर रंगरोगन भइरहेको छ, सर्भिस लेनको काम आधा बढी सकिएको छ,’ उनले भने, ‘दाउन्नेमा दुईवटा कर्ल्भट निर्माणका क्रममा छ, तर कामको गति बढी भएकाले अब ढिला हुने छैन ।’ 

२०७५ चैतमा ठेक्का सम्झौता भएअनुसार यस सडकखण्डको काम २०७९ साउनभित्र सकिसक्नुपर्ने थियो । तर कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० ११ साउनसम्मका लागि यसको म्याद थप त भयो । तर उक्त समयभित्र पनि काम सकिएन । दोस्रो पटक ८ साउन २०८१ सम्म म्याद थप गरियो । तर काम सकिएन । तेस्रो पटक साउन २०८२ सम्म म्याद थपिए पनि काम नसकिएपछि चौथो पटक असार २०८३ सम्म म्याद थपिएको छ । सडकको कुल दूरी १ सय १३ किमि छ । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नारायणगढ–बुटवल सडक विस्तार गरिएको हो । ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । अहिलेसम्म समग्र आयोजनाको निर्माण प्रगति ८० प्रतिशत छ । ‘निर्माण कार्य जारी रहेको यस अवधिमा दाउन्ने खण्डबाट यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले निकै असुविधा भोग्नुपर्‍यो,’ निर्देशक ढकालले भने, ‘यसमा हामी दुःखी छौं, अब जेठबाट यात्रामा सडक र पुलका कारण कुनै सास्ती भोग्नुपर्ने छैन, सहज रूपमा यात्रा गर्न यात्रुले पाउने छन् ।’

कान्तिपुर

Link copied successfully