भारतले कच्चा तेल आयातका लागि ढुवानीको वैकल्पिक मार्गहरु खोजिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
What you should know
काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ९ प्रतिशतले वृद्धि भएको छ। अमेरिका र इजरायलले संयुक्तरुपमा इरानमाथी आक्रमण गरेपछि 'स्ट्रेट अफ हर्मुज' मार्फत हुने ढुवानी ठप्प भएसँगै सोमबार ब्रेन्ट क्रुड फ्यूचर्स १३ प्रतिशतसम्म बढेर प्रति ब्यारेल ८२.३७ डलरसम्म पुगेको छ । जुन सन् २०२५ यताकै उच्च हो । नेपाल आयल निगमकै अनुसार पनि अहिले अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयल प्रति ब्यारेल ७२ .४८ डलरमा कारोबार भइरहेको छ ।
कच्चा तेलको मूल्य मात्र नभई अन्तर्राष्ट्रिय बजारमा सुन, चाँदी ग्यासलगायतको मूल्य समेत वृद्धि भएको छ । सुन प्रति औंश ५ हजार २ सय ३०.५० डलरमा कारोबार भइरहेको छ ।
‘स्ट्रेट अफ हर्मुज’ इरान र ओमानबीचको जलमार्ग हो । यसले खाडीलाई अरब सागरसँग जोड्छ । एक दिनमा विश्वको कुल तेल खपतको २० प्रतिशत बराबरको तेल ढुवानी गर्ने ट्यांकर साउदी अरब, इराक, इरान, यूएई, कुवेत, कतारलगायत उत्पादहकका कार्गोले समेत यही मार्ग प्रयोग गर्छन् ।
इरानविरुद्ध अमेरिका–इजरायलले ओपेक प्लस (तेल निर्यात गर्ने देशहरु तथा सहयोगी देशहरुको समूह) का सदस्य देश इरानविरुद्ध युद्ध गरेपछि र तेहरानको प्रतिशोधले मध्यपूर्वमा तेल ढुवानीमा अवरोध भएको छ ।
ओपेक प्लसको बैठकमा आइतबार दिनको १ लाख ३७ हजार ब्यारेलदेखि ५ लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन गर्ने विकल्पमाथि छलफल भएको छ । छलफलपछि आगामी अप्रिलदेखि दिनको २ लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने सहमति भएको छ । मौसमी कमजोरीका कारण जनवरीदेखि मार्च २०२६ सम्मका लागि उत्पादन वृद्धिमा रोक लगाइएको छ ।
कच्चा तेल र तरल प्राकृतिक ग्यास बोकेका २०० भन्दा बढी ट्यांकर ‘स्ट्रेट अफ हर्मुज’ बाहिर खुला खाडीको पानीमा अड्किएका छन् । एसीयाली अर्थतन्त्रले इन्धनको मौज्दात र वैकल्पिक आपूर्तिका लागि छलफल सुरु गरिसकेका छन् । दक्षिण कोरियाले लामो समयसम्म आपूर्ति बन्द रहे आन्तरिक मौज्दातबाट स्थानीय उद्योगलाई आपूर्ति दिने बताएको छ । भारतले पनि ढुवानीको वैकल्पिक मार्गहरु खोजिरहेको छ ।
