माथिल्लो कर्णालीमा सरकारलाई वित्तीय व्यवस्थापन गर्न बाटो खुल्यो

लगानी बोर्डको कार्यालय र जीएमआरबीच भएको आयोजना विकास सम्झौताको प्रावधानअनुसार नै सेयर संरचना परिवर्तन भएको सर्वोच्चको स्पष्टोक्ति

फाल्गुन १७, २०८२

सीमा तामाङ

The government has opened the way for financial management in Upper Karnali.

What you should know

काठमाडौँ — ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली पाएको भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) सँग वित्तीय व्यवस्थापन गर्न सरकारलाई बाटो खुलेको छ । सर्वोच्च अदालतमा परेको रिटमा निर्देशनात्मक आदेशको पूर्णपाठ आएसँगै वित्तीय व्यवस्थापनबारे प्रक्रिय अघि बढ्न लगानी बोर्डको कार्यालयलाई सहज भएको हो । 

जीएमआरले कागजात बुझाए पनि वित्तीय व्यवस्थापन हुन सकेको छैन । जीएमआरले गत २ माघमा भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी (इरेडा) ले ६५ अर्ब भारु ऋण लगानी गर्न सकारात्मक जवाफ दिएको र नेपाली बैंकहरूको समूहले २० अर्ब रुपैयाँ ऋण लगानी गर्न सैद्धान्तिक सहमति दिएको हुँदा परियोजनाको लगानी व्यवस्थापन सुनिश्चित भएको दाबी गर्दै लगानी बोर्डमा वित्तीय व्यवस्थापनका लागि कागजात बुझाएको थियो । 

बोर्डको ६० औं बैठकले माथिल्लो कर्णालीमा आफ्नो ३४, भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् विकास निगम (एसजेभीएन) को ३४, भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी (इरेडा) को ५ र नेपाल विद्युत् प्राधिकरणको २७ प्रतिशत सेयर रहने गरी बुझाएको उक्त सेयर संरचना परिवर्तनलाई स्वीकृत गरिसकेको छ । यसअघि भने जीएमआरको ७३ र नेपाल विद्युत् प्राधिकरणको २७ प्रतिशत सेयर हिस्सा थियो । तर जीएमआरले लगानी जुटाउन इरेडा र एसजेभीएनलाई सेयर दिएको हो । 

वित्तीय व्यवस्थापन दुई वर्षभित्र गर्नुपर्नेमा नगरेको र सरकारसँग स्वीकृति नलिई भारतमा आयोजनामा लगानी गर्न अन्य कम्पनीलाई सेयर दिने गरी सम्झौता गरिएको भन्दै बुढासुब्बा लिगल रिसर्चका प्रोप्राइटर अधिवक्ता दानबहादुर बुढाले ९ पुस २०८१ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लगानी बोर्ड, ऊर्जा मन्त्रालय, जीएमआरलगायतविरुद्ध दायर गरेको रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको थियो । 

तर पूर्णपाठ नआउँदा लगानी बोर्डले वित्तीय व्यवस्थापनको प्रक्रिया अघि बढाएको थिएन । परियोजना विकास सम्झौता (पीडीए) को प्रावधानअनुकूल नै भएको देखिएकाले सेयर संरचना परिवर्तन भएको विषयलाई अन्यथा मान्नुपर्ने नदेखिएको पूर्णपाठमा उल्लेख छ । जीएमआरले बुझाएको माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनसम्बन्धी प्रतिवेदन समीक्षा गर्न विज्ञ समिति गठन गरेको थियो । लगानी बोर्डको विज्ञ समितिले २०८१ फागुनअगावै जीएमआरले वित्तीय व्यवस्थापन गर्न सक्ने सुझाएको थियो ।

पूर्णपाठ आएको थाहा पाइए पनि औपचारिक रूपमा बोर्डमा आइनसकेको बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले बताए । अदालतको पूर्णपाठ र जीएमआरले बुझाएको वित्तीय व्यवस्थापनसम्बन्धी कागजात पनि आगामी बोर्ड बैठकमा पेस गरिने ज्ञवालीले जनाए । ‘निर्वाचनअघि बोर्ड बैठक सम्भव भएन, निर्वाचनपछिको बोर्ड बैठकमा लैजान्छौं र बोर्डको निर्णयअनुसार आयोजनाको काम अघि बढाउँछौं,’ उनले भने । 

सरकार र जीएमआरबीच १० माघ २०६४ मा माथिल्लो कर्णाली परियोजनाको सर्वेक्षण तथा ३०० मेगावाट विद्युत् निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सरकारले माथिल्लो कर्णाली निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलअन्तर्गत जीएमआरलाई दिएको थियो ।

आयोजना निर्माण गर्न अन्तर्राष्ट्रिय बोलकबोल गरिएकामा जीएमआरको प्रस्ताव उत्कृष्ट भन्दै तत्कालीन सरकार र जीएमआरबीच २०६५ (सन् २००८) मा आयोजना निर्माणका लागि समझदारीपत्र (एमओयू) भएको थियो । 

५ पुस २०६६ मा जीएमआरले ३०० मेगावाटबाट अधिकतम उपयोग गरी ९ सय मेगावाट पुर्‍याउन विद्युत् विकास विभागसमक्ष निवेदन दिएको थियो । २०६८ मा लगानी बोर्डको स्थापना भएपछि लगानी बोर्ड ऐन, २०६८ को प्रावधानअनुसार यो आयोजनालाई मन्त्रिपरिषद्मार्फत निर्णय गराएर लगानी बोर्डको कार्यालय मातहत राखिएको थियो । यसैगरी ३ असोज २०७१ मा लगानी बोर्ड र जीएमआरबीच आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।

पीडीए भएको दुई वर्षभित्र वित्तीय स्रोत जुटाउनुपर्ने भए पनि निर्धारित समयमा वित्तीय स्रोत जुटाउन नसकेपछि १ पुस २०७३ मा एक वर्ष म्याद थपिएको थियो । थपिएको १ वर्षमा पनि वित्तीय स्रोत जुटाउन नसकेपछि कात्तिक २०७४ मा बोर्डले पुनः एक वर्ष म्याद थपेको थियो । 

भदौ २०७५ यता (२०१८ सेप्टेम्बर) वित्तीय व्यवस्थापनका लागि जीएमआरलाई समय थप गरिएको थिएन । त्यसपछि २०७९ असार ३१ मा मन्त्रिपरिषद् बैठकले अर्को दुई वर्ष म्याद थप्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध रिट दायर भएको थियो । 

सर्वोच्चले १७ कात्तिक २०७९ मा उक्त रिटमाथि सुनुवाइ गर्दै म्याद थप कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि रतन भण्डारीलगायतले दायर गरेको रिटमा २४ वैशाख २०८० मा सर्वोच्च अदालतको संवैधानिक इजलासले फेरि म्याद नथप्न मन्त्रिपरिषद्लाई निर्देशनात्मक आदेशसँगै अन्तरिम आदेशका कारण वित्तीय व्यवस्थापनका लागि गुम्न गएको १ सय ८६ दिन समय थप्न आदेश भएको थियो । सोहीअनुसार लगानी बोर्ड ५५ औं बैठकबाट निर्णय भई १० साउन २०८१ मा बसेको मन्त्रिपरिषद् बैठकले ४ माघसम्म वित्तीय व्यवस्थापनका लागि समय थपेको थियो । अदालतकै आदेशअनुसार सरकारले म्याद थप गरेको समेत पूर्णपाठमा उल्लेख छ ।

मुद्दा पर्नुअघिसम्म थप भएको म्यादलाई सर्वोच्चले वैशाख २०८० मा वैधता दिए पनि त्यसपछि म्याद थप्न भने रोकेको थियो । यसअघि वित्तीय स्रोत जुटाउन नसकेपछि जीएमआर कम्पनीलाई पटक–पटक म्याद थप गरिएको थियो । माथिल्लो कर्णालीमा वित्तीय स्रोत जुटाउन मात्रै १० वर्षको समय पाइसकेको र उक्त समय पर्याप्त भन्दै सर्वोच्चले पुनः म्याद थप गर्नु नपर्ने आदेशमा उल्लेख छ ।

सीमा तामाङ तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully