जिल्लाभर १ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादनमा गिरावट आएको जिल्ला कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए ।
What you should know
सल्यान — बाग्चौर नगरपालिका–९, कोटमौलाका कृष्ण डाँगीले ४० रोपनीमा १ हजार ५ सय सुन्तला बोट लगाएका छन् । जसमध्ये १ हजार २ सय बोटमा फल लाग्ने गरेको छ । गत वर्ष सुन्तला बिक्री गरेर ४२ लाख रुपैयाँ कमाएका थिए । तर, यसपटक बोटमा रोग लागेपछि उत्पादनमा गिरावट आएको छ । बोट सुक्दै जाँदा उत्पादनमा कमीले यसपालि ३० लाख रुपैयाँ मात्र आम्दानी भएको उनले बताए ।
कोटमौलाकै लोकबहादुर डाँगीले ४० रोपनीमा १ हजारभन्दा भन्दा बढी सुन्तलाका बोट लगाएका छन । सुरुमा सुन्तलाको उत्पादन राम्रै थियो । प्रत्येक वर्ष सुन्तला बिक्री गरेर २८ लाखसम्म कमाइ गर्थे । पछिल्लो समय पात पहेँलिँदै झर्ने, हाँगा सुक्दै जाने र फल झर्ने समस्याले सोचेअनुसार आम्दानी लिन सकेका छैनन् । उनका अनुसार यसपटक उत्पादनमा आधा कमी आएको छ ।
जिल्लाभर व्यावसायिक सुन्तला खेती गरेका किसानको आम्दानीमा गिरावट आएको छ । गत वर्षको तुलनामा २५ प्रतिशत बढी उत्पादनमा गिरावट आएको किसान बताउँछन् । पिङ डिजिज, सिट्रस ग्रिनिङ रोग र बगैंचा व्यवस्थापन गर्न नसक्दा सुन्तला उत्पादनमा गिरावट आएको उनीहरूको भनाइ छ । जिल्लाभर १ हजार ६ सय ७५ हेक्टरमा सुन्तला खेती गरिएको छ । गत वर्ष ८ हजार ६ सय २ मेट्रिक टन सुन्तान उत्पादन भएको थियो । जिल्लाबाट ४१ करोड १३ लाख बराबरको ४ हजार ९ सय ९६ मेट्रिक टन सुन्तला बिक्री गरिएको थियो ।
यस वर्ष भने उक्त क्षेत्रफलमा ७ हजार ४ सय मेट्रिक टन सुन्तला उत्पादन भयो । ३९ करोड बराबरको ४ हजार ५ सय मेट्रिक टन मात्र जिल्लाबाहिर बिक्री गरियो । यस आधारमा गत वर्षको तुलनामा यसपालि १ हजार २ सय मेट्रिक टन कम सुन्तला उत्पादन भएको हो । जिल्लाका बाग्चौर नगरपालिकाको कोटमौला, खाली, छत्रेस्वरी गाउँपालिकाको दहखोला, दमाचौर, त्रिवेणीको फलाबाङ लगायतका स्थान, शारदा नगरपालिकाको कजेरी, रातामाटा लगायत अन्य पालिकाका विभिन्न स्थानका २ हजार किसानले वयावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन ।
रोगबाट उत्पादनमा गिरावट आएपछि ४ सय भन्दा बढी किसान प्रत्यक्ष प्रभावित भएका छन् । रोगका कारण सुन्तलाका बोट सुक्दै गएपछि व्यावसायिक रूपमा सुन्तला खेती गरेका किसान चिन्तित बन्दै गएका छन् । कोटमौला डाँगी गाउँका भरतनाथ योगीले केही वर्षदेखि विभिन्न रोगका कारण सुन्तला उत्पादनमा कमी आएको बताए । आफ्नो बगैंचामा यसपालि ३० प्रतिशत बढी सुन्तला उत्पादनमा गिरावट आएको उनले जनाए । जसबाट १०/१२ लाखजति घाटा भएको उनले बताए । उत्पादनमा गिरावट आए पनि गत वर्षसम्म ६०/७० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेका किसानले यसपालि एक सय रुपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री गरेको उनले बताए ।
जिल्लाभर १ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादनमा गिरावट आएको जिल्ला कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए । विशेष गरेर रोग र किसानले बगैंचा व्यवस्थापन गर्न नसक्दा सुन्तला उत्पादनमा गिरावट आएको उनले जानकारी गराए । उनका अनुसार प्रतिशतका आधारमा उत्पादन गिरावट २५ प्रतिशत रहेको छ । जिल्लाभरिका सबै स्थानमा किसानले व्यावसायिक सुन्तला खेती गर्दै आए पनि कोटमौलामै सबैभन्दा बढी उत्पादनमा गिरावट आएको छ ।
गत वर्षको तुलनामा उत्पादनमा गिरावट आएपछि यो वर्ष किसानलाई २ करोड बढी घाटा लागेको उनको भनाइ छ । जिल्लाभरिका एक हजार बढी किसानले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । बाग्चौर नगरपालिकाका कृषि शाखा प्रमुख घनश्याम केसीले नगरपालिकाका वडा ३ को खाली र वडा नम्बर ७/८ कोटमौलामा सुन्तला बढी उत्पादन हुने गरेकामा कोटमौलामै सबैभन्दा बढी रोगका कारण उत्पादनमा गिरावट आएको बताए ।
