लोथर-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, आयोजनास्थलको जग्गा सम्याउनै बाँकी 

चितवन र मकवानपुर जिल्लाको सिमाना भएर बग्ने लोथर खोलाको आडमै भण्डारणस्थल बन्दै छ । खोला रोक्न अग्लो तटबन्धन बनाए पनि खोलाको सतह जमिनभन्दा माथि छ ।

फाल्गुन १५, २०८२

रमेशकुमार पौडेल

Lothar-Amlekhgunj petroleum pipeline, land for project site yet to be settled

What you should know

चितवन — लोथरमा अमलेखगन्जदेखि पेट्रोलियम पाइपलाइनसहितको भण्डारणस्थल बनाउन फिल्ड अफिस खुलेको सात महिना भएको छ । तर निर्माणस्थललाई सुरक्षित बनाउने काम अझै पूरा हुन सकेको छैन ।

चितवन र मकवानपुर जिल्लाको सिमाना भएर बग्ने लोथर खोलाको आडमै भण्डारणस्थल बन्दै छ । खोला रोक्न अग्लो तटबन्धन बनाए पनि खोलाको सतह जमिनभन्दा माथि छ ।

निगमले चितवन राप्ती नगरपालिका–१ पिप्ले लोथरमा पाइपलाइनसहितको भण्डारणस्थल बनाउन लागेको हो । यसका लागि जग्गा किन्ने काम ९ वर्षअघि २०७३ सालको फागुनबाट सुरु भएको थियो । निर्माण कार्य अगाडि बढाउन निगमले लोथरमा गत साउन १६ गते शुक्रबार फिल्ड कार्यालय खोलेको थियो । त्यो कार्यक्रममा आएका निगमका अधिकारीले निकै तीव्र गतिमा काम गर्ने बताएका थिए ।

‘अहिले हामी ड्याम (तटबन्ध)लाई बलियो बनाउँदै छौं । जमिन सम्म्याउने काम पूरा गर्ने र आयल निगमको जति जग्गा हो त्यसमा बाउन्ड्री पर्खाल लगाएपछि अन्य निर्माणका लागि सो जग्गा इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई हस्तान्तरण गर्ने छौं,’ परियोजनाका प्रमुख प्रदीपकुमार यादवले भने । जमिन पुर्न सम्म्याउनका लागि माटो जुटाउन एक महिनाभित्रै टेन्डर निकाल्ने उनले बताए ।

आउँदो ६ देखि ९ महिनाभित्र यो काम पूरा हुने यादवले बताए । त्यसपछि  इन्डियन आयल कर्पोरेसन (आईओसी)ले निर्माणका लागि यो जग्गा लिने छ ।  आईओसीले नै यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको हो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा २०८० जेठ १८ मा पाइपलाइन र भण्डाणस्थल परियोजनाका सम्बन्धमा समझदारी भएको थियो ।

Lothar-Amlekhgunj petroleum pipeline, land for project site yet to be settled

दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि २०८१ सालको असोज १७ मा आईओसी र नेपाल आयल निगम (एनओसी)बीच  बीटुबी सम्झौता भएको थियो । अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम पनि सुरु भएको एनओसीका अधिकारीले बताए । फिल्ड अफिस बसेसँगै राजमार्गसम्म पुग्ने बाटो छिचोल्ने काम पूरा भएको छ । 

राजमार्गबाट केही भित्र आयल निगमको जग्गा छ । तर मुखैमा रुख भएका कारण त्यसलाई काटेर बाटो छिचोल्न गाह्रो थियो । १० वटा ठूला-ठूला साल, साज, करमका रुख हटाउन समय लागेको फिल्ड कार्यालयका अधिकारीले बताए । बाटो छिचोलेसँगै निगमले राजमार्ग आडमा आयोजनाको गेट राखेको छ । जग्गाभित्र रहेका माछापोखरी पुर्ने काम पनि पूरा भएको छ ।

निगमले लोथरमा लगभग २६ बिघा जग्गा किनेको छ । सबै जग्गा माटोले पुर्नुपर्ने खालको छ । लोथर खोलाको सतहभन्दा जमिन तल रहेका कारण आयोजनास्थलको जमिन औसतमा तीन मिटर जति पुर्नु पर्ने हुन्छ । यसका लागि महिना दिनभित्रै टेन्डर निकाल्ने निगमले तयारी गरेको छ । लोथर खोलाको तटबन्ध पुरानो हुँदै गएका कारण निगमले त्यसलाई बलियो बनाउँदै छ ।

तटबन्धको माथिल्लो सतहमा लगभग ९ सय मिटर लम्बाइमा कंक्रिट ढलान गर्ने काम अन्तिम हुँदैछ । ड्यामको लोथर खोलातर्फ जाली राखेर भर्ने काम हुँदैछ । आयोजनास्थलको जमिन पुरेपछि पनि ड्याम बलियो बनाउने काम गर्ने फिल्ड कार्यालयका कर्मचारीले जानकारी दिए । आयोजनाका लागि खरिद भएको २६ बिघा जमिनमध्ये दुई कट्ठा जतिको स्वामित्व निगममा आउन बाँकी छ ।

निगमले कुल १४ अर्ब ९ करोड ६० लाख रुपैयाँको लागतमा पाइपलाइन र पेट्रोलियम भण्डारस्थल बनाउन लागेको हो । पाइपलाइनमा निर्माणमा ४ अर्ब २८ करोड ८० लाख रुपैयाँ र भण्डारगृहको लागत ९ अर्ब ८० करोड ८० लाख रुपैयाँ रहेको छ । 

Lothar-Amlekhgunj petroleum pipeline, land for project site yet to be settled

यो पाइपलाइनको दूरी ६२ किलोमिटर हुने छ । यसअघि भारत मोतिहारीदेखि अमलेखगन्जसम्म ६९ किलोमिटर पेट्रालियम पाइपलाइन १८ महिनामा तयार भएको थियो । अमलेखगन्जदेखि पूर्व-पश्चिम राजमार्गको समानान्तर लोथरसम्म पाइपलाइन राख्ने निगमले जनाएको छ । पाइपलाइन तयार भएपछि मोतिहारीबाटै लोथरसम्म पेट्रोलियम पदार्थ आउने छ ।

आयल निगमले दिएको जानकारीअनुसार पाइपको ब्यास (गोलाकार) पौने ११ इन्च रहने छ । यसबाट प्रतिघण्टा २७३ किलोलिटर तेल प्रवाह हुने छ । वर्षमा २० मिलियन (दुई करोड) टन इन्धन ढुवानी गर्न सक्ने पाइपलाइनको क्षमता भएको निगमका अधिकारीले जानकारी दिएका थिए । लोथरमा उपत्यकाबाहिर पहिलो पटक हवाई इन्धन पनि भण्डारण गर्ने पूर्वाधार बन्दै छ ।

भण्डारगृहमा ३३ हजार किलोलिटर पेट्रोल अट्ने छ । प्रत्येकमा ११ किलोलिटर क्षमता भएका पेट्रोल राख्न सकिने तीनवटा ट्यांकी हुने छन् । त्यसै गरी डिजेल राख्न १५ हजार ५ सय किलोलिटर क्षमता भएका तीनवटा भण्डारणस्थल हुने छन् । जहाँ ४६ हजार ५ हजार किलोलिटर डिजेल अट्ने छ । त्यसै गरी प्रत्येकमा ८ सय किलोलिटर अटाउने मट्टीतेलका दुईवटा भण्डारगृह रहने छन् ।

हवाइ इन्धनका तीनवटा भण्डारगृह रहने छन् । प्रत्येकमा ३ हजार ६ सय किलोलिटर तेल राख्न सकिने क्षमता भएका ती भण्डारगृहहरूमा १० हजार ८ सय किलोलिटर हवाई इन्धन रहने छन् । सबै गरेर भण्डारस्थलमा ९१ हजार ९ सय किलोलिटर पेट्रोलियम पदार्थ राख्न सकिने फिल्ड अफिस उद्घाटनमा आएका बेला निगमका अधिकारीले जानकारी दिएका थिए । 

दुईवटा ट्रान्समिक्स ट्यांकी र चारवटा अन्डरग्राउन्ड ट्यांकी पनि बन्ने छन् । प्रत्येक ट्रान्समिक्स ट्यांकीको क्षमता २५० किलोलिटर र पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको ५०/५० किलोलिटर क्षमताका अण्डरग्राउन्ड ट्यांकी रहने छन् ।  परियोजनामा भारतले करिब ५ अर्ब रुपैयाँ सहयोग गर्ने छ । बाँकी लगानी नेपाल आयल निगमको हुने परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए । 

प्रधानमन्त्री तहमा समझदारी भएको अढाई वर्ष पार भइसकेको छ । समझदारी भएको ६ वर्षभित्र यो आयोजना पूरा गर्ने भन्ने लक्ष्य थियो । ‘लगभग आधा समय बितेको छ । तर हामी कामको समय तालिकाभित्रै छौं । आईओसीलाई जमिन हस्तान्तरण गरेपछि निर्माण कार्यले तीव्रता लिन्छ । समयभित्रै यो परियोजना पूरा हुने अवस्था कायमै छ,’ परियोजना प्रमुख यादवले भने । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully