हेलिकोप्टरको सिमुलेटर सुविधा अब नेपालमै

सिमुलेटर तालिमले जोखिमबिनै पाइलटलाई काल्पनिक आपतकालीन अवस्थाहरूमा निर्णय क्षमता विकास गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

फाल्गुन १५, २०८२

सुरज कुँवर

Helicopter simulator facility now available in Nepal

What you should know

काठमाडौं — हेलिकोप्टरको सिमुलेटर तालिम सुविधा अब नेपालमै उपलब्ध भएकाे छ । सिनामंगलस्थित नागरिक उड्ययन प्रधिकरणअन्तर्गतको एयर ट्रान्सपोर्ट क्यापासिटी इनह्यान्समेन्ट प्रोजेक्ट कार्यालयमा जडान गरिएकाे अत्याधुनिक सिमुलेटर सेन्टर शुक्रबारबाट सञ्चालनमा आएकाे हाे । 

उक्त लेभल थ्री  सिमुलेटर स्विट्जरल्याण्डमा बनेको हाे । करिब १.५ मिलियन युरो लागतको सिमुलेटर कन्टेनरमार्फत काठमाडौं ल्याइएकाे थियाे । यो नेपालमा पहिलोपटक हेलिकोप्टर पाइलटहरूका लागि अनुमतिप्राप्त  र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सिमुलेटर तालिम हो । 

नेपालमा हाल पाँच अन्तर्राष्ट्रिय फिक्स्ड–विङ वायुसेवा, ९ घरेलु फिक्स्ड–विङ आन्तरिक वायुसेवा र १२ हेलिकोप्टर अपरेटर उडानमा  छन् । दुर्गम तथा हिमाली भूगोल, छोटो टेकअफ–ल्यान्डिङ धावनमार्ग, एकतर्फी उडानका विमानस्थल र आकस्मिक उद्धारको मागका कारण हेलिकोप्टर सेवा नेपालमा अत्यावश्यक मानिन्छ ।

यद्यपि, सन् १९७९ देखि २०२४ सम्म ४१ हेलिकोप्टर दुर्घटनामा ९८ जनाको ज्यान गएको अभिलेख छ । सन् २०२४ मा हेलिकोप्टरतर्फ ३ सय ४९ घटना रिपोर्ट भएकामा दुई दुर्घटना, १६ गम्भीर घटना र ३३१ सामान्य घटना समावेश छन् । अघिल्लो वर्षको तुलनामा केही गिरावट देखिए पनि जोखिम पूर्ण रूपमा नियन्त्रणमा आएको छैन।

पछिल्लो दशकका दुर्घटनामध्ये ७२ प्रतिशत ‘कन्ट्रोल्ड फ्लाइट इन्टु टेरेन’ (सीएफआईटी) र २१ प्रतिशत ‘लस अफ कन्ट्रोल इन–फ्लाइट’ (एलओसी–आई) का कारण भएको तथ्यांकले देखाउँछ, जसले उडान सुरक्षा सुदृढीकरणको आवश्यकता औंल्याउँछ । २०२३ मा लगातार हेलिकोप्टर दुर्घटना भएपछि प्राधिकरणले हेलिकोप्टर पाइलटलाई पनि सिमुलेटर तालिम अनिवार्य गरेको हो । यो तालिमलाई संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले अनिवार्य गरेको छैन । तर, नेपालले हवाई सुरक्षा अभिवृद्धि गर्न हेलिकोप्टर सिमुलेटर तालिम अनिवार्य गरेको हो । 

सिमुलेटर तालिमले जोखिमबिनै पाइलटलाई काल्पनिक आपतकालीन अवस्थाहरूमा निर्णय क्षमता विकास गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

Helicopter simulator facility now available in Nepalउडानका क्रममा इन्जिनमा आगलागी, बादलभित्र हराउने अवस्था, आकस्मिक अवतरण, लङ–लाइन अपरेसन, तीव्र हावा तथा मनसुनजन्य चुनौती जस्ता जटिल परिदृश्यमा अभ्यास गराइने प्राधिकरणका  हेलिकोप्टर फ्लाइट अपरेशन इन्सपेक्टर प्रमोदकुमार लामाले बताए । 

प्राधिकरणका अर्का वरिष्ठ क्याप्टेन  हिराबाबु दाहालले यसलाई नयाँ पुस्ताको गुणस्तरीय सिकाइका रूपमा वर्णन गरे । उनले नेपालमै यस्तो सुविधा उपलब्ध हुँदा युरोपमा हुने तालिम खर्चको करिब एक तिहाइमै सेवा पाउने र भिसा, हवाई टिकट तथा आवास खर्चसमेत जोगिने बताए ।

सिमुलेटर सञ्चालन गर्ने कम्पनीले प्रति पाइलट प्रतिघण्टा ५ सय यूरो शुल्क निर्धारण गरेको छ, जबकि विदेशमा यही तालिमका लागि कम्तीमा १ हजार युरोसम्म खर्च हुने अनुमान छ । यो सिमुलेटर विशेषगरी एयरबसको  एच–१२५ बी३ई मोडेल हेलिकोप्टरका पाइलट लक्षित हो । 

नेपालमा यस्ता ३३ हेलिकोप्टर सञ्चालनमा छन् र ३६ जना पाइलट (२५ क्याप्टेन र ११ को–पाइलट) कार्यरत छन् । नेपालमा को–पाइलटले ६ सय घण्टा टर्बाइन उडान र ७५ घण्टा प्रशिक्षकसँगको उडान पूरा गरेपछि मात्र सिमुलेटर तालिममा सहभागी हुन पाउने प्रावधान छ भने आवश्यक क्षमता मूल्यांकनपछि मात्र क्याप्टेनमा पदोन्नति सम्भव हुन्छ ।

यो तालिम एयरबस इन्डिया, युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) तथा स्विट्जरल्याण्डस्थित लफ्ट डायनामिक्स को सहकार्यमा सञ्चालन भइरहेको छ । 

तालिम दिन एयरबस र लफ्ट डाइनामिक्सका प्रशिक्षकहरू क्लाउस क्राउस, यान गुएरिन, लोरेन्ज नुफ्लर, निक मेह्यू , माउरिजियो फोलिनी र मिका बर्गर नेपाल आएका छन् । 

नेपालमा हेलिकोप्टर उडानको ६५ वर्षे इतिहास छ । ६० वर्ष नाघेका पाइलटले हेलिकोप्टर उडाउन नपाउने र मनसुनमा को–पाइलट अनिवार्य राख्नुपर्ने नियम छ । अन्य सिजनमा नेपालमा एकजना पाईलटले हेलिकोप्टर उडान गर्छन् । 

सिनामंगलस्थित एउटा कोठाभित्र प्रोग्रामिङमार्फत पहाड, बादल, तीव्र हावा र आगलागीजस्ता दृश्य सिर्जना गर्दै सुरु गरिएको यो तालिम पाइलटहरूका लागि सुरक्षित दीर्घकालीन लगानीका रूपमा हेरिएको छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully