राजस्व परामर्श समितिअन्तर्गतको उप–समितिहरुको २०८२ चैत्र मसान्तसम्म समितिलाई प्रतिवेदन बुझाइसक्नुपर्नेछ । राजस्व परामर्श समितिले अर्थमन्त्री समक्ष आगामी वैशाखमसान्त भित्र सिफारिश सहितको प्रतिवेदन बुझाउने पर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
What you should know
काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट निर्माणको तयारी सुरु गरेको छ । बजेट निर्माणका लागि विभिन्न विषयमा सरकारलाई राय/सुझाव दिनका लागि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गरेको गत माघ २८ को निर्णयअनुसार अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजक्तवमा राजस्व परामर्श समिति गठन गरेको छ ।
राजस्व परामर्श समितिमा राजस्व सचिज संयोजक रहनेछन् भने अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखाका सहसचिव सदस्य सचिव रहनेछन् ।
आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, डिजिटल सर्भिस ट्याक्स, ई-कमर्समा लागाइने कर तथा आर्थिक ऐन बमोजिम लगाइने अन्य आन्तरिक कर सम्बन्धी नीतिगत र कानूनी सुधारका विषय, कर तथा गैरका दरहरुको पुनरावलोकन, प्रक्रिया सरलीकरण, कर प्रणाली सुधार, समग्र राजस्व प्रशासन र संगठन संरचनामा गरिनु पर्ने सुधारका विषयमा सुझाव प्रदान गर्ने गर्नेछ ।
समितिले औद्योगिक प्रवर्द्धन तथा संरक्षण, वाणिज्य, आयात निर्यात तथा वैदेशिक व्यापार, सेवा व्यापार, आपूर्ति व्यवस्थापन तथा लगानी प्रवर्द्धनको लागि गर्नुपर्ने नीतिगत र कानूनी सुधार, प्रक्रियागत सरलीकरण र कर तथा गैर कर प्रोत्साहन समेतका विषयहरुमा सुझाव दिनेछ ।
राजस्व परामर्श समितिले आफ्नो पहिलो बैठक बसेर सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधिमूलक क्षेत्रका संघ संस्थाहरु, प्राज्ञिक क्षेत्र, सरोकारवाला निकाय संस्था एवम् सर्वसाधारणबाट सुझाव आव्हान गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ । राजस्व परामर्श समितिअन्तर्गतको उप–समितिहरुको २०८२ चैत्र मसान्तसम्म समितिलाई प्रतिवेदन बुझाइसक्नुपर्नेछ । राजस्व परामर्श समितिले अर्थमन्त्री समक्ष आगामी वैशाखमसान्त भित्र सिफारिश सहितको प्रतिवेदन बुझाउने पर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
आन्तरिक राजस्व उप–समिति, भन्सार उप–समिति, राजस्व चुहावट नियन्त्रण तथा अनुसन्धान उप–समिति, उद्योग, वाणिज्य‚ लगानी तथा निर्यात प्रवर्द्धन उप–समिति, कृषि, उर्जा‚ तथा पर्यटन क्षेत्र उप–समितिलगायत उपसमितिहरु छन् ।
सदस्यहरुमा विभागीय प्रमुख, त्रिभुवन विश्व विद्यालयका अर्थशास्त्र केन्द्रीय विभाग वा निजले तोकेको वरिष्ठ प्राध्यापक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, अर्थ मन्त्रालयबाट मनोनित सम्बन्धित विषयका २ जना विज्ञ (अर्थविज्ञ र करविज्ञ), नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष वा निजले तोकेको वरिष्ठ पदाधिकारी, नेपाल आर्थिक संघका अध्यक्ष वा निजले तोकेको वरिष्ठ सदस्य, नेपाल उद्योग परिसंघका अध्यक्ष वा निजले तोकेको वरिष्ठ पदाधिकारी, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष वा निजले तोकेको वरिष्ठ पदाधिकारी, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष वा निजले तोकेको वरिष्ठ पदाधिकारी र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष वा निजले तोकेको वरिष्ठ पदाधिकारी छन् ।
