सरकारी ऋण साढे २८ खर्ब, सात महिनामा पौने २ खर्ब थपियो

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको माघ महिनाको प्रतिवेदनले नेपालमा सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको जनाएको छ ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

Government debt increased by 2.5 trillion rupees in seven months

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको सात महिनामा करिब पौने २ खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो गत साउनदेखि माघसम्म थपिएको सार्वजनिक ऋण हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको माघ महिनाको प्रतिवेदनले नेपालमा सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको जनाएको छ । गत असारको सार्वजनिक ऋणको तुलनामा यो १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँले बढी हो । गत असारमा तिर्न बाँकी सरकारी ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । 

माघसम्म सरकारले तिर्न बाँकी कुल सरकारी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४६ दशमलव ८१ प्रतिशत बराबर हुन आउँछ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा जीडीपी ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

कुल सार्वजनिक ऋणमा आन्तरिक ४७.१९ प्रतिशत अथवा १३ खर्ब ४९ अर्ब र वैदेशिक ५२.८१ प्रतिशत अथवा १५ खर्ब ९ अर्ब रुपैयाँ छ ।

गएको सात महिनामा सरकारले २ खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ ऋण संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ४२.८९ प्रतिशत हो । जसमध्ये आन्तरिक ऋणको प्राप्ति ६०.१३ र वैदेशिक ऋणको १६.१८ प्रतिशत छ । यसरी संकलन गरिएको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋण ८५.२० प्रतिशत र वैदेशिक १४.८० प्रतिशत छ । यसका आधारमा यस वर्ष तय भएको कुल ऋण संकलनको लक्ष्य प्राप्ति गर्न ३ खर्ब ४० अर्ब १७ करोड रुपैयाँ उठाउनुपर्छ । जसमा आन्तरिक ऋण १ खर्ब ४४ अर्ब ३३ करोड र वैदेशिक ऋण १ खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ छ ।

गत माघसम्म सरकारले ऋणको साँवा ब्याज भुक्तानीका लागि २ खर्ब ३ अर्ब ६५ करोड रुपैयाँ खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ४९.५५ प्रतिशत हो । यस वर्ष सरकारले ऋणको साँवा ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ । गत माघसम्म सरकारले भुक्तानी गरेको कुल रकममध्ये १ खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ साँवा र बाँकी ४० अर्ब १३ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully