कर छुटको निर्णयपछि कलंकी–बसुन्धरा चौकीसम्म सडक विस्तारको बाटो खुला

अब चिनियाँ पक्षसँग आयोजना कार्यान्वयन सम्झौता, डिजाइन स्वीकृतिपछि निर्माण कम्पनी र परामर्शदाता कम्पनी छान्ने प्रक्रिया सुरु हुने।

फाल्गुन १३, २०८२

विमल खतिवडा

Road expansion to Kalanki-Basundhara checkpoint opens after tax exemption decision

What you should know

काठमाडौँ — सरकारले निर्माण सामग्री र भन्सारबाट आउने सामानमा लाग्ने कर छुटको निर्णय गरेसँगै चक्रपथ दोस्रो खण्ड विस्तारका लागि बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट चक्रपथ दोस्रो खण्ड विस्तारका क्रममा लाग्ने कर छुट दिने निर्णय भएको सहरी विकासमन्त्री कुमार इङ्नामले बताए । अब चक्रपथ विस्तारको काम अघि बढ्ने उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयको जानकारी आएपछि यसको प्रक्रिया अघि बढाइने सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बताए । ‘मन्त्रिपरिषद्बाट निर्णय भएको जानकारी आएपछि कार्यान्वयन सम्झौता कहिले गर्न सकिन्छ भनेर चिनियाँ अधिकारीलाई सोध्छौं, त्यसपछि मिति तय हुन्छ,’ उनले भने, ‘चिनियाँ दूतावासमार्फत जानकारी गराएर कुन तहका कर्मचारीबाट सम्झौता गर्ने हो, त्यो बुझेर सम्झौतामा हस्ताक्षर हुन्छ ।’ निर्वाचनको समय नजिकिएकाले पनि फागुनभित्र यसको तयारी गरेर चैतमा हस्ताक्षर हुने उनको भनाइ छ । 

‘हस्ताक्षरपछि चिनियाँ प्राविधिकले गरेको डिजाइन स्वीकृतिका लागि पठाउँछन्, त्यसमा हामीले हेरेर ठीक भए/नभएको जानकारी गराउँछौं,’ अर्यालले भने, ‘फेरि हामीलाई बिड डकुमेन्ट पठाउँछन्, डिजाइन र बिड डकुमेन्ट यताबाट स्वीकृत गराएर पठाएपछि उताबाट निर्माण कम्पनी र परामर्शदाता छान्ने काम हुन्छ ।’ यसपछि काम गर्ने निर्माण कम्पनी र परामर्शदातालाई चीनले पठाउने उनले बताए । ‘निर्माण कम्पनी आएपछि साइट उपलब्ध गराउँछौं,’ उनले भने, ‘कुनै समस्या आइनपरे चालु आर्थिक वर्षभित्र निर्माण कम्पनी निर्माणस्थलमा परिचालन भइसक्नेछ ।’ 

चक्रपथ दोस्रो खण्ड विस्तारको चर्चा चलेको ७ वर्ष पुग्दा पनि अझै काम सुरु हुन सकेको छैन । नेपाल सरकारले समयमै नीतिगत निर्णय लिन नसक्दा सडक विस्तारको काममा ढिलाइ भएको हो । चिनियाँ पक्ष नेपाल सरकारले कर छुटसम्बन्धी निर्णय गरेपछि मात्र थप प्रक्रिया अघि बढाउने पक्षमा थिए । मन्त्रिपरिषद् निर्णयसँगै अब चिनियाँ निर्माण कम्पनीले भन्सारबाट निर्माणमा प्रयोग हुने उपकरणदेखि निर्माणका क्रममा लाग्ने कुनै पनि कर तिर्नुपर्ने छैन । 

Road expansion to Kalanki-Basundhara checkpoint opens after tax exemption decision

चक्रपथ दोस्रो खण्डको सर्भे गर्न गत ६ वैशाखमा चिनियाँ प्राविधिक टोली नेपाल आएको थियो । साढे दुई महिना लगाएर टोलीले डिजाइनका लागि सर्भेको काम गरेको थियो । ८.२ किलोमिटर दूरीमा सर्भे भए पनि त्यसअनुसार दूरी वसुन्धरा कल्भर्टसम्म नपुग्ने विभागले जनाएको छ । वसुन्धरा चोक नजिकसम्म मात्र सडक विस्तारको काम हुनेछ । 

डिजाइनअनुसार ढुंगेधारामा एउटा पक्की पुल बन्नेछ । तीन वटा आकाशे पुल अपांगमैत्री बन्नेछन् । सीतापाइला, बालाजु र माछापोखरीको बीच तथा सामाखुसी र वसुन्धरा प्रहरी चौकीको बीचमा आकाशे पुल बनाइनेछ । कलंकीदेखि वसुन्धरा चोकसम्म सडक बत्ती सडक बिस्तारकै क्रममा चीनले बनाउने गरी डिजाइनमा राखिएको छ । गत ६ भदौमा नेपाल र चीन सरकारका प्रतिनिधिबीच सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । कोटेश्वर–कलंकी पहिलो खण्डको काम भने २०६९ मा सुरु भई २०७५ मा सकिएको थियो । कलंकीदेखि वसुन्धरासम्म विस्तार गर्न भनेर चीनसँग सन् २०१८ मा जीटूजी सम्झौता भएको थियो ।

Road expansion to Kalanki-Basundhara checkpoint opens after tax exemption decision

अहिले चीन सरकारको अनुदानमा स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नति र चक्रपथ दोस्रो खण्ड विस्तार हुन लागेको हो । स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको यसअघि नै सरकारले कर छुटको निर्णय गरिसकेको छ । चीन सरकारको अनुदानमा स्तरोन्नति गर्ने गरी दुई देशका अधिकारीबीच सन् २०१९ मा कार्यान्वयन सम्झौता भएको थियो । १७ पुसबाट चिनियाँ पक्षले निर्माणका लागि क्याम्प खडा गरेर काम अघि बढाएका हुन् । स्याफ्रुबेंसी–रसुवागढीसम्मको दूरी १५ दशमलव ५ किलोमिटर छ ।

वैदेशिक सहायता नीतिअनुसार अनुदानको रकम कर प्रयोजनमा नलगाइने भएकाले त्यहीअनुसार दुवै खण्डको निर्णय मन्त्रिपरिषद्बाट गराइएको सडक विभागले जनायो । अनुदानमा बन्ने आयोजनामा प्रयोग हुने निर्माण सामग्री र चीनबाट आउने सामानमा कर छुट गर्नुपर्ने माग चिनियाँ पक्षको छ । चीनकै अनुदानमा कोटेश्वर–कलंकी खण्ड पनि यसरी नै बनेको भौतिक मन्त्रालयले जनाएको छ ।

चक्रपथ दोस्रो खण्ड विस्तारमा सुरुमा चिनियाँ पक्षबाट ढिलाइ हुँदा तेस्रो खण्ड विस्तारको काम नेपाल सरकार आफैंले अघि बढाएको छ । तेस्रो खण्डअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखाना खण्डको सात सय मिटरमा एकतर्फी कालोपत्र सकिएको छ । अर्कोतर्फ पनि कालोपत्र हुँदै छ । ६ फागुन २०८१ म भएको ठेक्का सम्झौताअनुसार २५ असार २०८२ भित्र यस खण्डको काम सकिसक्नुपर्ने थियो ।

Road expansion to Kalanki-Basundhara checkpoint opens after tax exemption decision

उक्त समयभित्र काम नसकिएपछि आगामी १३ फागुनसम्म म्याद हुँदा प्रगति ६५ प्रतिशत छ । तर, उक्त समयभित्र काम सकिने अवस्था भने देखिँदैन । सबै निर्माणको काम सकिएर अहिले मुख्य रूपमा कालोपत्र मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने दाबी सडक डिभिजन काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाको छ । ७ सय मिटरमा सडक विस्तारको ठेक्का अम्बुजा/एसके/काली जेभीले लिएको हो । 

भ्याटसहित ठेक्का रकम २४ करोड रुपैयाँ रहेको देवकोटाले बताए । यसलाई ६ लेनमा विस्तार गरिएको हो । अब चप्पल कारखानादेखि गोपीकृष्ण पुलसम्म सडक विस्तार गर्ने तयारी हुँदै छ । त्यसका लागि ५१ करोड रुपैयाँको स्रोत सहमति माग गर्दै राष्ट्रिय योजना आयोग पठाइएको र दूरी करिब १२ सय मिटर रहेको सडक डिभिजन कार्यालय काठमाडौंले जनायो । 

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully