कम्पनीहरूले कर्मचारी कटौतीको वास्तविकता लुकाउन ‘एआई वासिङ’ गरेका हुन् ?

कर्मचारी निष्कासन गर्नुका विविध कारण भए पनि सहजताका लागि एआईलाई दोष देखाएको वा बहाना बनाएको तर्क बढ्दै

फाल्गुन १३, २०८२

कान्तिपुर संवाददाता

Are companies engaging in 'AI washing' to hide the reality of staff cuts?

What you should know

काठमाडौँ — पछिल्ला वर्षहरूमा विश्वका ठूला कम्पनी, बैंक तथा वित्तीय संस्था, प्रविधि क्षेत्रका अग्रणीहरूले निरन्तर रूपमा ठूलो संख्यामा कर्मचारी कटौती गर्दै आएका छन् । कर्मचारीले गर्ने काम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले स्वचालित रूपमा गरिदिएकाले धेरै जनशक्ति आवश्यक नपरेको अधिकांश रोजगारदाताले बताउँदै आएका छन् ।

तर, कर्मचारी निष्कासन गर्नुका विविध कारण भए पनि उनीहरूले सहजताका लागि एआईलाई दोष देखाएर वा एआईको बहानामा यस्तो गरेको भन्ने तर्क अहिले सुनिन थालेको छ । यसलाई प्रविधि क्षेत्रकाहरूले ‘एआई–वासिङ’ को संज्ञा दिएका छन् । 

भारतमा हालै सम्पन्न एआई सम्मेलनमा सीएनबीसी–टीभी१८ सँग बोल्दै च्याटजीपीटी निर्माता ओपेनएआईका प्रमुख साम अल्टम्यानले एआई प्रविधिलाई अन्यायपूर्वक दोष देखाएर कम्पनीहरूले कर्मचारी निष्कासन गरेको धारणा राखेका थिए । ‘ठ्याक्कै कति प्रतिशत त म भन्न सक्दिनँ तर थुप्रै मानिस उल्लेख्य रूपमा एआई वासिङमा संलग्न हुँदै कर्मचारी निष्कासनको दोष एआईलाई दिइरहेका छन्,’ उनको भनाइ थियो, ‘एआई नभएको भए पनि उनीहरूले कर्मचारी कटौती गर्थे । कतिपय जागिरहरू भने एआईले गर्दा विस्थापित भएका छन् ।’ 

फर्च्युन डटकमकी पत्रकार सासा रोजेलबर्गले अल्टम्यान मुखर भएको विषयमा सत्यता रहेको विश्लेषण गरेकी छन् । पत्रकार रोजेलबर्गका अनुसार कम्पनीहरूले आफ्ना कर्मचारी कटौतीको वास्तविक कारण लुकाउन एआईलाई दोष दिने प्रवृति देखिएको हो । टेक कम्पनीका संस्थापकहरूले एआईमा गरेको ठूलो लगानीको औचित्य पुष्टि गर्न एआईले श्रम बजार र अर्थतन्त्रमा ठूलो प्रभाव पारिरहेको छ भन्ने भाष्य सिर्जना गरिरहेको उनको तर्क छ । येल बजेट ल्याबकी कार्यकारी निर्देशक मार्था गिम्बेललाई उद्धृत गर्दै फर्च्युनले लेखेको छ, ‘कम्पनीहरूले आफ्नो व्यापारिक असफलता, घट्दो नाफा र भू–राजनीतिक तनावका कारण सिर्जित समस्याहरूलाई लुकाउन एआई वासिङको सहारा लिइरहेका छन् ।’ 

अहिलेका तथ्यांकहरूले एआईले व्यक्तिको रोजगारी खोसिरहेको छ/छैन भन्नेबारे स्पष्ट चित्र देखाउन सकेका छैनन् । यसले गर्दा एआई वासिङको चर्चा बढेको हो । अमेरिका, बेलायत, जर्मनी र अस्ट्रेलियाका हजारौं सी–सुइट (कम्पनीका उच्च अधिकारी) माझ गरिएको सर्वेक्षणमा ९० प्रतिशतले च्याटजीपीटी सार्वजनिक भएको तीन वर्षमा एआईले कार्यस्थलको रोजगारीमा कुनै प्रभाव नपारेको बताएका छन् । तथापि, विश्व आर्थिक मञ्चको ‘फ्युचर अफ जब्स रिपोर्ट २०२५’ अनुसार करिब ४० प्रतिशत रोजगारदाताले भविष्यमा एआईका कारण कर्मचारी संख्या कटौती गर्ने अपेक्षा गरेका छन् । 

Are companies engaging in 'AI washing' to hide the reality of staff cuts?

हालै द न्युयोर्क टाइम्समा प्रकाशित ‘डिड एआई टेक योर जब ? अर वाज योर इम्प्लोयर एआई–वासिङ ?’ शीर्षकको लेखमा कम्पनीहरूले आफ्ना कर्मचारी कटौतीको वास्तविक कारण खराब वित्तीय अवस्था वा ओभरहाइरिङ (आवश्यकताभन्दा बढी कर्मचारी भर्ती) जस्ता आफ्ना कमजोरी लुकाउन एआईलाई बहाना बनाइएको उल्लेख छ । उक्त आर्टिकलका अनुसार कर्मचारी कटौतीलाई एआईसँग जोड्नु ‘लगानीकर्ता रिझाउने चलाखी’ हो । यसले कम्पनी अत्याधुनिक प्रविधि अपनाउँदै छ र खर्च कटौतीमा सफल हुँदैछ भन्ने संकेत दिने टाइम्सको विश्लेषण छ । साथै, ट्यारिफजस्ता सरकारी नीतिको आलोचना गर्नु जोखिमपूर्ण हुने ठानेर कम्पनीहरूले कटौतीको कारण एआईलाई देखाउने सुरक्षित बहाना पनि बनाएको हुन सक्ने अनुमान गरिएको छ ।

जागिरबाट निकालिएका कर्मचारीहरूलाई नयाँ काम खोज्न मद्दत गर्ने अमेरिकी कम्पनी ‘च्यालेन्जर, ग्रे एन्ड क्रिसमस’ को तथ्यांकअनुसार सन् २०२५ मा भएका ५० हजारभन्दा बढी कर्मचारी कटौतीमा एआईलाई कारणका रूपमा उल्लेख गरिएको थियो । मासिक रूपमा ‘जब कट्स रिपोर्ट’ सार्वजनिक गर्ने च्यालेन्जर, ग्रे एन्ड क्रिसमसका अनुसार विश्वकै ठूलो ई–कमर्स प्लाटफर्म अमेजनले हालै मात्र १६ हजार कर्पोरेट जागिर कटौती गर्ने घोषणा गरेको छ । यो कम्पनीले पनि १४ हजार रोजगारी कटौती गरिसकेको थियो । पिन्टरेस्टले एआईमा लगानी बढाउँदै कार्यबलको करिब १५ प्रतिशत कटौती गर्ने जनाएको छ । एचपीका प्रमुखले आगामी वर्षहरूमा एआईका कारण ६ हजारसम्म जागिर कटौती हुन सक्ने बताएका छन् ।

लेअफ्स डट एफवाईका अनुसार २०२२ यता विश्वका टेक कम्पनीहरूले ७ लाखभन्दा धेरै कर्मचारी हटाइसकेका छन् । वारटन स्कुलका प्राध्यापक पिटर क्यापेली एआईका कारण रोजगारी गुमेकोमा शंका व्यक्त गर्छन् । द न्युयोर्क टाइम्ससँग उनले भनेका छन्, ‘कम्पनीहरूले हामी एआई अपनाउँदै छौँ भनिरहेका छन्, त्यसैले जागिरहरू कटौती हुन सक्छ भनिरहेका छन् । त्यो अहिले नै भइसक्यो भनेका छैनन् । त्यसकारण अहिले भइरहेको कटौतीको कारण एआई नै हो भन्नेमा विश्वास गर्ने आधार कमै छ ।’ 

येल बजेट ल्याबकी कार्यकारी निर्देशक गिम्बेलका अनुसार अहिलेको तथ्यांक हेर्दा एआईका कारण अर्थतन्त्रमा कुनै ठूलो ‘म्याक्रोइकोनोमिक’ प्रभाव परेको देखिँदैन । 

स्ट्यानफोर्डका अर्थशास्त्री एरिक ब्रिनजोल्फसनले भने गत वर्ष उत्पादकत्वमा २.७ प्रतिशतको वृद्धि भएको उल्लेख गर्दै एआईको प्रारम्भिक सकारात्मक प्रभावको रूपमा व्याख्या गरेका छन् । – एजेन्सीको सहयोगमा

कान्तिपुर संवाददाता

Link copied successfully