कुल २१३ कम्पनीको सेयर मूल्य बढ्यो, ४२ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २१.६२ अंकले वृद्धि भएको छ । मंगलबार शून्य दशमलव ८२ प्रतिशतले वृद्धि भएको समग्र नेप्से २ हजार ६ सय ३८ दशमलव ६० विन्दुमा उक्लिएको छ । कुल २१३ कम्पनीको सेयर मूल्य बढ्यो, ४२ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ४९ हजार ९३ पटकको सेयर कारोबारमा ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ४ अर्ब २३ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका सबै उपसमूहहरू बढ्यो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन १५८.३०, होटल तथा पर्यटन १४३.०४, जीवन बिमा ८८.८५ अंकले बढ्यो ।
सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएपछि सकारात्मक सर्किट ब्रेक लाग्यो । रिलायन्स स्पिनिङ मिल्सको ९.३१, हिमालयन पावर पार्टनरको ९.१५, सागर डिस्टिलरीको ८.९६ र बन्दिपुर केबलकार एन्ड टुरिजमको ८.३४ अंकले सेयर मूल्य बढ्यो ।
नेपाल एसबीआई बैंकको ३.५८, आरबीबी म्यूचअल फन्ड २को ३.४०, आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८ को २.२५, आरबीबी म्यूचअल फन्ड १ को २.०७ र एनआईबीएल ग्रोथ फन्डको १.९७ प्रतिशतले सेयर मूल्य घट्यो ।
