विदेशी च्यानलले विज्ञापन देखाए जरिवाना र कारबाही गर्ने विज्ञापन बोर्डको चेतावनी

बोर्डले मंगलबार सूचना जारी गर्दै डाउनलिंक अनुमति लिएर नेपालमा प्रसारण भइरहेका कतिपय विदेशी च्यानलहरूले कानुन विपरीत विज्ञापनसहित प्रसारण गरिरहेको पाइएकाले त्यस्ता च्यानलहरूलाई पत्राचार समेत गरिसकिएको जनाएको छ ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

Advertisement Board warns of fines and action if foreign channels show advertisements

What you should know

काठमाडौँ — नेपालमा क्लिन फिड (विज्ञापनरहित) प्रसारणको व्यवस्था कार्यान्वयन गर्न नियामक नेपाल विज्ञापन बोर्डले विदेशी टेलिभिजन च्यानलहरूलाई निर्देशन दिएको छ । बोर्डले मंगलबार सूचना जारी गर्दै डाउनलिंक अनुमति लिएर नेपालमा प्रसारण भइरहेका कतिपय विदेशी च्यानलहरूले कानुन विपरीत विज्ञापनसहित प्रसारण गरिरहेको पाइएकाले त्यस्ता च्यानलहरूलाई पत्राचार समेत गरिसकिएको जनाएको छ ।

नेपालमा विज्ञापन नियमन गर्ने र स्वदेशी विज्ञापन बजारको संरक्षण गर्ने उद्देश्यले सरकारले २०७७ साल कात्तिकदेखि क्लिनफिड प्रसारण प्रणाली लागू गरेको थियो । विदेशी टेलिभिजन च्यानलहरू नेपालमा प्रसारण हुँदा त्यसमा समावेश भएका विदेशी विज्ञापन हटाएर विज्ञापनरहित कन्टेन्ट प्रसारण गर्नु क्लिनफिड हो । पछिल्लो समय विशेषगरी कतिपय विदेशी खेलकुद च्यानलहरूले यो व्यवस्थाको उल्लंघन गर्दै विज्ञापन देखाइरहेको पाइन्छ । 

‘नेपालमा डाउनलिंक अनुमति लिई प्रसारण भएका कतिपय विदेशी च्यानलहरूले विज्ञापनसहित प्रसारण गरिरहेको र त्यस्ता च्यानलविरुद्ध बोर्डमा उजुरी प्राप्त भई सम्बन्धितलाई पत्राचार समेत गरिएको छ,’ बोर्डको सूचनामा भनिएको छ । 

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ को उपदफा (१) मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित प्रसारण गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । साथै, केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ मार्फत विज्ञापन (नियमन गर्ने) ऐनमा संशोधन गरी विदेशी च्यानलहरूबाट विज्ञापनरहित प्रसारण भए वा नभएको अनुगमन गर्ने र कारबाही गर्ने पूर्ण अधिकार बोर्डलाई प्रदान गरिएको छ । ऐनको दफा ६ बमोजिमको कसुर गर्ने वा गराउने व्यक्ति वा संस्थालाई ऐनको दफा २५(३)(ख) बमोजिम ५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान  छ । 

विज्ञापन बोर्डले सबै वितरक, मल्टी सिस्टम अपरेटर, लोकल केबल अपरेटर तथा अन्य सरोकारवालाहरूलाई अनिवार्य रूपमा विज्ञापनरहित प्रसारण गराउन निर्देशन दिएको छ । डाउनलिंक अनुमति प्राप्त च्यानलहरूले विज्ञापनसहित प्रसारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम जरिवाना र अन्य कारबाही गरिने बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री) ले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully