कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्यो, २२० कम्पनीको मूल्य घट्यो, बाँकी ७ को स्थिर
What you should know
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार साढे २७ अंकले घटेर बन्द भएको छ । गत मंगलबार करिब २१ अंकले घटेर २ हजार ६ सय ४२.१५ अंकमा बन्द भएको नेप्से आइतबार २७.५९ अंकले घटेको हो ।
अघिल्लो दिनको तुलनामा १.०४ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय १४.५५ अंकमा ओर्लेर बन्द भएको छ । गत साता सार्वजनिक बिदाका कारण सोमबार र मंगलबार दुई दिन मात्र सेयर बजार खुलेको थियो । ती दुवै दिन नेप्से घटेको थियो ।
त्यसअघिको साता पनि पाँच दिन कारोबार भएकामा एक दिन मात्र नेप्से बढ्दा चार दिन घटेको थियो । यसरी पछिल्ला साताका प्रायः दिन नेप्से घटिरहेको छ । अपवादका रूपमा केही दिन बजार बढे पनि वृद्धिदर निकै कम छ । आसन्न निर्वाचन नजिकिँदै जाँदा सेयर बजारको घट्ने दर बढिरहेको छ ।
यसले आसन्न निर्वाचनलाई सेयर बजारले पत्याउन नसकेका रूपमा विश्लेषण गर्न थालिएको छ । निर्वाचनपछि कुन दल ठूलो बन्छ ? कसको नेतृत्वमा सरकार बन्छ ? र, सेयर बजारप्रति त्यो दलको धारणा कस्तो हुन्छ भन्ने अन्योल रहेकाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको धितोपत्र ब्रोकर बताउँछन् ।
आइतबार कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय २० कम्पनीको मूल्य घट्यो, बाँकी ७ कम्पनीको स्थिर रह्यो । उच्च दरले घटेको बजारमा पनि सालपा विकास बैंकका सेयरधनीको सम्पत्ति १० प्रतिशतका दरले बढेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सेयरधनीको सम्पत्तिको मूल्यमा पनि बढोत्तरी आएको रूपमा विश्लेषण गरिएको हो ।
योसँगै आइतबार ३४ वटा कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । तर सो दिन २ सय २० कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य घटेको छ । तीमध्ये बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ८.९२, रिडी पावर कम्पनीको ८.३३ र आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ८.२८ प्रतिशतले बढेको छ । यीसँगै २ सय २० कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य घटेको छ । सात कम्पनीका सेयरधनी भने नाफा न घाटामा रहे ।
यस दिन कुल ७२ हजार १ सय ४ पटकको सेयर कारोबारमा १ करोड ५९ लाख ८९ हजार ४ सय ३० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको हो । गत मंगलबार सेयर बजारमा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले घट्न दबाब पुगेको हो । जसमध्ये बैंकिङ उपसमूहको परिसूचक ०.५२, विकास बैंकको १.४१, वित्त कम्पनीको ०.५६, होटेल तथा पर्यटनको १.०९, जलविद्युत्को १.८१, लगानीको ०.९४, जीवन बिमाको ०.७३, उत्पादन तथा प्रशोधनको १.०२, लघुवित्तको ०.४८, सामूहिक लगानी कोषको ०.२२, निर्जीवन बिमाको ०.४२, अन्यको ०.८५ र व्यापार उपसमूहको परिसूचक ३.६१ प्रतिशतले घटेको नेप्सेको तथ्यांक छ ।
आइतबार सेयर बजारको आकार कुल बजार पुँजीकरण ४६ अर्बले खुम्चिएको छ । यसअनुसार गत सोमबार ४४ खर्ब ४४ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण ४३ खर्ब ९६ अर्ब रुपैयाँ कायम भएको छ ।
