इन्डो-नेपाल ट्रेड फेस्टिभलमा नीति निर्माता तथा व्यवसायीहरूले नेपालको जलविद्युत् स्रोत भारतको एआई-अर्थतन्त्रका लागि दीर्घकालीन ऊर्जा आपूर्ति बन्न सक्ने बताए ।
What you should know
काठमाडौँ — भारतको एआई–केन्द्रित विकास रणनीतिका लागि दीर्घकालीन ऊर्जा आपूर्ति सुनिश्चित गर्न नेपाल महत्त्वपूर्ण साझेदार बन्न सक्ने धारणा अघि सारिएको छ । नयाँ दिल्लीमा सम्पन्न ‘इन्डो-नेपाल ट्रेड फेस्टिभल २०२६’ मा सहभागी नीति-निर्माता, कूटनीतिक र निजी क्षेत्रका प्रतिनिधिहरूले नेपालको स्वच्छ जलविद्युत् स्रोत र भौगोलिक विशेषताले भारतमा विस्तार भइरहेको डिजिटल तथा एआई पूर्वाधारलाई भरपर्दो ऊर्जा आधार प्रदान गर्न सक्ने बताएका हुन् ।
तीन दिनसम्म चलेको महोत्सवले नेपाल-भारतबीच बहुआयामिक आर्थिक, प्राविधिक र सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको थियो । एभरेस्ट च्याम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा नेपाल पर्यटन बोर्ड र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सहकार्य गरेका थिए । आयोजकका अनुसार ५० भन्दा बढी स्टल र करिब २० हजार दर्शकको सहभागिताले द्विपक्षीय व्यापार र लगानी सहकार्यप्रति बढ्दो चासो झल्काएको थियो ।
ऊर्जासम्बन्धी सत्रमा वक्ताहरूले ‘हिमालयन कम्प्युट करिडोर’ अवधारणा अघि सार्दै नेपालमा उपलब्ध स्वच्छ जलविद्युत्, चिसो हावापानीजस्ता स्रोतले डेटा सेन्टर तथा एआई इकोसिस्टम विकासका लागि उपयुक्त वातावरण प्रदान गर्न सक्ने बताएका थिए । भारतले एआई, क्लाउड कम्प्युटिङ र उच्च क्षमताका डेटा प्रोसेसिङमा लगानी विस्तार गरिरहेको छ । यसै सन्दर्भमा दीर्घकालीन, हरित र स्थिर ऊर्जा आपूर्ति महत्त्वपूर्ण आवश्यकता भएको उनीहरूको भनाइ थियो ।
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले भारतमा नेपालको पर्यटन प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । निर्यात संरचनामा विविधीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले सोयाबिन तेल र पाम आयलमा निर्भरता घटाएर अन्य उत्पादन विस्तार गर्नुपर्ने धारणा राखे । भारतीय व्यापार मेलामा नेपाली सहभागिता न्यून रहेकोप्रति चिन्ता व्यक्त गर्दै निजी क्षेत्रलाई स्पष्ट रोडम्यापसहित अघि बढ्न आह्वान गरे ।
वक्ताहरूले ऊर्जा निर्यातभन्दा अघि नेपालभित्रै प्रसारण पूर्वाधार सुदृढीकरण, ग्रामीण क्षेत्रमा भरपर्दो आपूर्ति र नीतिगत स्थिरता आवश्यक रहेको औँल्याए । स्थिर नीति, निजी क्षेत्रको सक्रियता र सीमापार प्रसारण लाइन विस्तारमार्फत दुवै देशले परस्पर लाभ हासिल गर्न सक्ने धारणा व्यक्त गरिएको थियो ।
कार्यक्रममा बैंकिङ तथा फिनटेक सहकार्य, डिजिटल भुक्तानी प्रणाली अन्तरसम्बन्ध, पर्यटन प्रवर्द्धन, युवा तथा शैक्षिक आदान–प्रदान, स्वास्थ्य सहकार्य र मिडियाको भूमिकाबारे पनि छलफल भएको थियो । सहभागीहरूले परम्परागत व्यापारिक सम्बन्धलाई ऊर्जा, डिजिटल अर्थतन्त्र र नवप्रवर्तनसँग जोडेर नयाँ ढाँचामा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
