अर्बौं रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति, उत्पादन र बिक्रीमा आएको अवरोध, आपूर्ति शृङ्खलाको विच्छेद र लाखौँ नेपालीको रोजगारी गुम्ने अवस्था जेनजी विद्रोहका प्रत्यक्ष नतिजा भएको विषय अध्ययनमा सहभागी लगानीकर्ता व्यवसायीले उठाएका छन् ।
What you should know
काठमाडौँ — यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
उनीहरूको घोषणापत्रमा निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य इञ्जिन मानिएको छ र व्यावसायिक जगतको आत्मविश्वास बढाउन आफूहरूले नीतिगत सुधार गर्ने दाबी पनि गरेका छन् ।
लगानीकर्तालाई विश्वास दिलाउन करका दर स्थिर राख्ने, राज्य केबल सहजकर्ता वा नियामकमात्र रहने, भयरहित वातावरण बनाउने, स्वदेशी उत्पादन र नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने, एकाधिकार हटाउने, कानुन संशोधन गरी अवरोध हटाउने, लगानीलाई व्यापारभन्दा उत्पादनशील क्षेत्रमा केन्द्रित गर्न प्रोत्साहन गर्नेजस्ता विषय घोषणापत्रमा समेटिएका छन् ।
यद्यपि, गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा आफ्नो सम्पत्ति र भौतिक संरचनामाथि भएको आक्रमणका कारण निजी क्षेत्रको मनमा लागेको घाउ अझै पनि आलै छ । तसर्थ, जोसुकै दल आए पनि आसन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने सरकारले व्यावसायिक जगतको मनमा लागेको ठेस निको पार्न यथेष्ट प्रयास गर्नुपर्ने देखिन्छ ।
अनलाइन समाचार पोर्टल ‘क्लिकमाण्डु डट कम’ले हालै सार्वजनिक गरेको ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण, २०८२’ शीर्षकको अध्ययन प्रतिवेदनले पनि निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको छ । प्रतिवेदनअनुसार ९८ प्रतिशत लगानीकर्ताको मनोबल कुनै न कुनै स्तरमा कमजोर भएको देखिएको छ भने ९७ प्रतिशत व्यवसायीले लगानीको वातावरण कमजोर भएको महसुस गर्नु भएको छ । यसैगरी ७० प्रतिशत व्यवसायी थप लगानीका निमित्त ‘पर्ख र हेर’को अवस्थामा रहेको प्रतिवेदनको निष्कर्ष छ ।
भौतिक तथा आर्थिक क्षति र लगानीकर्ता व्यवसायीको मनोबल मापन गर्ने तथा व्यावसायिक वातावरण जाँच गर्ने उद्देश्यका साथ गरिएको सो अध्ययनले नेपालका स्थापित र ठूला व्यवसायीहरूमा गहिरो मनोवैज्ञानिक र आर्थिक चोट पु¥याएको देखाएको छ । खासगरी भौतिक क्षतिको तुलनामा विश्वास र मनोबलको क्षति निकै डरलाग्दो देखिएको छ ।
मुलुकको कुल गार्हस्थ्य उत्पादन, पुँजी निर्माण, रोजगारी सिर्जना तथा सरकारी राजस्व परिचालनमा निजी क्षेत्रको योगदान उल्लेखनीय छ । तर दुई दिनको गतिविधिले निजी क्षेत्रको भौतिक संरचना, उत्पादन प्रणाली, सेवा प्रवाहमा गम्भीर क्षति पु¥याउनुका साथै उद्यमीहरूको मनोबलमा निकै नराम्रो असर पु¥याएको प्रतिवेदनको ठहर छ । अर्बौं रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति, उत्पादन र बिक्रीमा आएको अवरोध, आपूर्ति शृङ्खलाको विच्छेद र लाखौँ नेपालीको रोजगारी गुम्ने अवस्था जेनजी विद्रोहका प्रत्यक्ष नतिजा भएको विषय अध्ययनमा सहभागी लगानीकर्ता व्यवसायीले उठाएका छन् ।
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न व्यावसायिक प्रतिष्ठानमा भौतिक तथा आर्थिक क्षति भएको छ भने धेरै व्यवसायीको व्यावसायिक गतिविधिमा मात्र नभई व्यक्तिगत घर र गाडीमा आक्रमण भएको छ । जेनजी प्रदर्शनका कारण व्यवसायीले भोगेको क्षतिको प्रकृति विश्लेषण गर्दा भौतिक क्षतिभन्दा ठूलो असर मनोबलमा परेको पाइएको हो ।
‘दशकौँको मेहनत र अर्बौंको लगानीबाट खडा गरिएका उद्योग र व्यावसायिक प्रतिष्ठानमा तोडफोड र लुटपाट हुँदा त्यसले भौतिक क्षति मात्र गर्दैन, एउटा उद्यमीको आत्मविश्वासको जग नै हल्लाइदिन्छ,’ प्रतिवेदनमा प्रमुख सूचनादाताका रुपमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘आफ्नो लगानी र सम्पत्ति सुरक्षित छ त भन्ने त्रासमा बाँच्नुपर्ने अवस्था कुनै पनि व्यवसायीका लागि सबैभन्दा ठूलो पीडा हो ।’
प्रदर्शनपछि आर्थिक क्षतिका विवरण आइरहेकै छन् । तर, आर्थिकभन्दा मानसिक क्षति बढी भएको महसुस आफूले गरेको महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छाले बताए । ‘रोजगारी सिर्जना गर्ने, कर तिर्ने र जोखिम मोलेर सम्पत्ति सिर्जना गर्ने वर्गमाथि ईष्र्या र रिसइबीका कारण प्रहार हुनु असह्य छ,’ उनले भने ।
क्लिकमाण्डुको अध्ययनमा सहभागी ९८ प्रतिशत व्यवसायीले जेनजी प्रदर्शनका कारण आफ्नो मनोबलमा सामान्य, ठूलो वा अत्यधिक असर परेको जवाफ दिँदा दुई प्रतिशत व्यवसायीले मात्र मनोबलमा फरक नपरेको जवाफ दिएको बताइएको छ । यो तथ्यले व्यवसायीको आत्मविश्वास निकै कमजोर बनेको पुष्टि गर्छ । आठ प्रतिशत व्यवसायीले लगानी थप गर्न वा व्यवसाय विस्तार गर्न आफू तयार नभएको बताउँदा पर्ख र हेरको अवस्थामा ७० प्रतिशत व्यवसायी छन् । २१ प्रतिशत व्यवसायी भने थप लगानी गर्न इच्छुक देखिएका छन् ।
विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भौतिक वा आर्थिक क्षति समय क्रममा पुनरुत्थान हुँदै जानेछ तर यसबाट व्यवसायीमा परेको आघात भने अमिट छ,’ प्रतिवेदनमा भनिएको छ,’ अध्ययनका क्रममा व्यवसायीहरूमा चरम निराशा, असुरक्षा र अनिश्चितताजन्य त्रास फैलिएको पाइएको छ ।’
प्रतिवेदनले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको देखाएको छ । नयाँ लगानीका योजना स्थगित भएको र केही उद्यमीहरूले ‘पुँजी पलायन’ सम्मको सोच बनाउन थालेको प्रतिवेदनमा उल्लेख छ । नेपाल लगानीका लागि असुरक्षित गन्तव्य बनेको सन्देश जाँदा वैदेशिक लगानी प्राप्त हुने सम्भावना झन क्षीण भएको छ ।
जेनजी विद्रोहका क्रममा उद्योग, बैंक, व्यापारिक प्रतिष्ठान तथा सवारीसाधनमा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब रु ३४ अर्ब बराबरको क्षति भएको छ । प्रत्यक्ष भौतिक क्षतिभन्दा अप्रत्यक्ष आर्थिक क्षति अझ भयावह छ, जुन करिब ८१ अर्ब रुपैयाँ छ । यसले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब पाँच प्रतिशतसम्म प्रभाव पार्ने अनुमान गरिएको छ । रासस
