सकियो एआई सम्मेलन

नयाँदिल्लीस्थित भारत मण्डपममा फेब्रुअरी १६ देखि २० सम्म चलेको सम्मेलनमा एआईको भविष्यबारे बहस, प्रशंसा, मतभेद, आशा र चिन्ता— सबै एकै ठाउँमा देखिए

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

AI conference over

What you should know

काठमाडौँ — प्रविधि क्षेत्रका अग्रणीहरूसँगै विश्व नेताहरूको ठूलो जमघट, उत्साह, विवाद, राजनीतिक विरोध र केही व्यवस्थापकीय अस्तव्यस्तताबीच भारतले आयोजना गरेको ‘एआई इम्प्याक्ट समिट २०२६’ सम्पन्न भएको छ । नयाँदिल्लीस्थित भारत मण्डपममा १६ देखि २० फेब्रुअरीसम्म चलेको सम्मेलनमा एआईको भविष्यबारे बहस, प्रशंसा, मतभेद, आशा र चिन्ता— सबै एकै ठाउँमा देखिए ।

समिटका चर्चित सहभागीमध्ये एक ओपन एआईका प्रमुख साम अल्टम्यानले सीएनबीसीसँग कुरा गर्दै भारतमा देखिएको एआईप्रतिको उत्साह अद्भुत रहेको टिप्पणी गरे । ‘यहाँको ऊर्जा र मानिसहरूको चासो देख्दा म निकै उत्साहित छु,’ उनले भनेका छन्, ‘यहाँको उत्साह, निकै अद्भुत र हेर्नलायक नै थियो ।’ सीएनबीसीका पत्रकार अर्जुन खरपालले यस समिटलाई आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण रिपोर्टिङ असाइनमेन्टमध्ये एक भनेका छन् । ‘नयाँदिल्लीको ट्राफिक र सुरक्षा व्यवस्थापनका कारण धेरै प्रतिनिधि र सञ्चारकर्मीले सास्ती ब‍ेहोर्नुपर्‍यो,’ उनको अनुभव छ ।

करिब दुर्ई लाखलाई निमन्त्रणा पठाइएको भनिएको सम्मेलनको पहिलो दिन असाध्यै लामो लाइन, थेगिनसक्नु भीड र प्रवेशमा ढिलाइ भएको गुनासो सुनिएको थियो । बिजिनेस स्ट्यान्डर्डका अनुसार सहभागीहरूले तीन घण्टासम्म उभिनुपरेको बताएका थिए । रजिस्ट्रेसन प्रणाली क्य्रास हुनु र झन्झटिलो सुरक्षा जाँचले हैरानी दिलाएको पनि सञ्चारमाध्यमले उल्लेख गरेका थिए । एआई सम्मेलनमै वाइफाई नचल्ने, पेमेन्ट प्रणाली (यूपीआई) सेवा अवरुद्ध हुने, सिट अभावजस्ता विषयमा पनि व्यापक आलोचना भयो ।

कार्यक्रममा सहभागी हुन आएका विदेशी अतिथि एवं वक्ताले भने भारतको प्रविधि जनशक्ति, सस्तो बजार, एआई पूर्वाधारजस्ता विषयको तारिफ गरे । गुगलका प्रमुख सुन्दर पिचाईले भारतको ठूलो जनशक्ति र यहाँको उपभोक्ता बजारको प्रशंसा गरे । भारतसँग एआईको क्षेत्रमा अगाडि बढ्न सक्ने बलियो आधार रहेको पिचाईले बताए । एपी न्युजका अनुसार यस सम्मेलनमा २० देशका राष्ट्र प्रमुखहरूको सहभागिता थियो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रों र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा जस्ता शक्तिशाली नेताले भारतको एआई यात्रामा ऐक्यबद्धता जनाए ।

१७ देखि १९ फेब्रअुरीसम्म भारतमा रहेका म्याक्रोंले प्रविधिको विकासमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको धारणा राखे । सम्मेलनलाई ‘नमस्ते’ भन्दै सम्बोधन गरेका उनले भारतको डिजिटल उपलब्धिको प्रशंसा गरे । उनले सबै मानिसले साझा रूपमा उपभोग गर्न पाए मात्रै एआईको प्रतिबद्धता वा लाभ पूरा हुने धारणा राखे । अघिल्लो पटक फ्रान्सले नै आयोजना गरेको यो सम्मेलन ग्लोबल साउथ (विकासशील देश) का लागि एआईको भविष्य तय गर्ने एउटा महत्त्वपूर्ण मञ्च बनेको म्याक्रोंले बताए ।

उत्साहसँगै सम्मेलनमा कैयौं विषयमा विवाद र आलोचना पनि देखापर्‍यो । मुख्यगरी गलगोटियाज विश्वविद्यालयले चिनियाँ कम्पनी ‘युनिट्री’ले बनाएको रोबोट डगलाई आफ्नो आविष्कार भनिदिएपछि हंगामा मच्चिएको थियो । यसैकारण सो विश्वविद्यालयलाई सम्मेलनबाटै निकालियो । विद्यार्थीहरूलाई प्रोग्रामिङ सिकाउन उक्त रोबोट प्रयोग गर्ने गरेको भन्दै विश्वविद्यालयले पछि स्पष्टीकरण दिए पनि विदेशी प्रविधि प्रदर्शनमा राखेर परनिर्भरता देखाएको भन्दै थप आलोचना भयो ।

सम्मेलनमा एआई क्षेत्रका दुई ठूला प्रतिस्पर्धीबीचको रोचक दृश्य पनि सामाजिक सञ्जालमा चर्चित बन्यो । प्रधानमन्त्री नरेन्द्र मोदीसँग मञ्चमा सामूहिक फोटो खिच्ने क्रममा सबैले एक–अर्काको हात समातेर माथि उठाउने बेला ओपनएआईका प्रमुख अल्टम्यान र एन्थ्रोपिकका प्रमुख डारियो अमोदेईले एकअर्काको हात समात्न अस्वीकार गरे । यो दृश्य सामाजिक सञ्जालमा ‘एआई कोल्ड वार’का रूपमा भाइरल भयो । पछि अल्टम्यानले आफू के गर्ने भन्नेमा झुक्किएको भन्दै स्पष्टीकरण नै दिनुपर्‍यो ।

द लजिकल इन्डियनकी पत्रकार छवि चाँदनीले सम्मेलन स्थलभित्र भएको राजनीतिक विरोधको विस्तृत रिपोर्टिङ गरेकी छन् । उनका अनुसार शनिबार भारत मण्डपममको हल नम्बर ५ भित्र युथ कंग्रेसका कार्यकर्ताहरूले अर्धनग्न भएर प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले भारत र अमेरिकाबीचको व्यापार सम्झौताले किसान र साना व्यवसायीलाई असर गर्ने दाबी गरेका थिए । ‘प्रहरीले कृष्ण हरि, कुन्दन यादव, अजय कुमार र नरसिंह यादवलाई पक्राउ गरी हिरासतमा लिएको थियो,’ चाँदनीले लेखेकी छन् । प्रदर्शनी हलभित्रै भएको यो सुरक्षा कमजोरीले सुरक्षा निकायलाई निकै दबाबमा पारेको थियो । सत्तारूढ भाजपाले यसलाई भारतको अन्तर्राष्ट्रिय छवि बिगार्ने प्रयास भन्दै निन्दा गर्‍यो ।

एनडीटीभीका अनुसार माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले भारतलाई विश्वकै सबैभन्दा ठूलो ‘एआई कक्षाकोठा’ को संज्ञा दिए । उनले भारतलाई एआईको क्षेत्रमा एक महत्त्वपूर्ण साझेदारका रूपमा हेरेको उल्लेख गरे । एनडीटीभीले रिपोर्ट गरेअनुसार स्मिथले भारतमा भइरहेको डिजिटल विकासले विश्वलाई नै नयाँ दिशा दिने विश्वास व्यक्त गरे ।

सम्मेलनको पाँचौं दिन ‘नयाँदिल्ली घोषणापत्र’ जारी गरियो । यस घोषणापत्रलाई अमेरिका र चीनसहित ८८ देशले समर्थन गरेका छन् । घोषणापत्रमा एआईलाई मानव कल्याण र समावेशी विकासका लागि प्रयोग गर्ने संकल्प गरिएको छ । भारतीय सञ्चारमाध्यमअनुसार यसमा सुरक्षित र भरपर्दो एआई प्रणालीको विकासमा जोड दिइएको छ । भारतले आगामी दुई वर्षमा यस क्षेत्रमा २ सय अर्ब डलर लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ ।

‘टाइम’ पत्रिकाका पत्रकार बिली पेरिगोले भने एआई नियमनका विषयमा देशहरूबीच मतभेद रहेको औंल्याएका छन् । एआईमा धेरै नियमन गर्दा आविष्कारमा बाधा पुग्ने अमेरिकाको तर्क छ । पेरिगोका अनुसार चीन यस सम्मेलनमा लगभग अनुपस्थित थियो । यो समिट कूटनीतिक मञ्चभन्दा पनि भारतको प्रविधि शक्तिको विज्ञापन गर्ने थलोजस्तो देखिएको टिप्पणी पेरिगोले गरे । विभिन्न देशका ठूला कम्पनीले भारतीय कम्पनीहरूसँग व्यापारिक सम्झौता गर्न यस मञ्चको प्रयोग गरे ।

एपी न्युजका अनुसार एआईका कारण रोजगारी गुम्न सक्ने चिन्ताबारे पनि सम्मेलनमा चर्चा भयो । नासकमकी वरिष्ठ उपाध्यक्ष संगीता गुप्ताले यस चुनौतीलाई सामना गर्न सीप विकास (रि–स्किलिङ) मा जोड दिनुपर्ने बताइन् । एआईले पुराना केही रोजगारी हटाए पनि नयाँ अवसर सिर्जना गर्ने उनको विश्वास छ । विद्यार्थीहरूलाई एआईले सजिलो बनाइदिएको दिल्ली विश्वविद्यालयका विद्यार्थी अनिरुद्ध सिंहले एपी न्युजलाई बताए ।

न्यु इन्डियन एक्सप्रेसका अनुसार पक्राउ परेका युथ कंग्रेसका नेताहरूलाई अदालतले पाँच दिनको हिरासतमा पठाएको छ । उनीहरूमाथि आपराधिक षड्यन्त्र र गैरकानुनी भेला गरेको आरोप लगाइएको छ । भारतका आईटीमन्त्री अश्विनी वैष्णवले पहिलो दिनको व्यवस्थापकीय कमजोरीका लागि माफी मागेका छन् । यति धेरै विवाद र चुनौतीबीच भारतले आफूलाई एआई शक्तिका रूपमा स्थापित गर्न सफल भएको सरकारी पक्षको दाबी छ । –एजेन्सीको सहयोगमा

कान्तिपुर

Link copied successfully