इन्डो-नेपाल ट्रेड फेस्टिभलको दोस्रो संस्करण नयाँ दिल्लीमा जारी

तीन दिनसम्म चल्ने महोत्सव आइतबार समापन हुनेछ ।

फाल्गुन ९, २०८२

कान्तिपुर संवाददाता

Second edition of Indo-Nepal Trade Festival begins in New Delhi

What you should know

काठमाडौँ — 'कनेक्टिङ पिपुल, इन्हान्सिङ बाइलेटरल ट्रेड' भन्ने मूल नारासहित इन्डो–नेपाल ट्रेड फेस्टिभलको दोस्रो संस्करण भारतको राजधानी नयाँ दिल्लीमा जारी छ । हौजखासस्थित पीएडी भवनमा शुक्रबार औपचारिक उदघाटन सत्र सम्पन्न भएको हो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतमा नेपालको पर्यटन प्रवर्द्धन अझ प्रभावकारी रुपमा गर्नुपर्नेमा जोड दिए । नेपालको पर्यटकीय गन्तव्यहरुको भारतमा प्रचार प्रसार नपुगेको बताउँदै सम्भावना भएका रामग्रामजस्ता ऐतिहासिक स्थलहरूको प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको उनले बताए । राजदूत शर्माले नेपालबाट भारततर्फ निर्यात वृद्धि भए पनि सोयाबिन तेल र पाम आयलजस्ता सीमित वस्तुमा निर्भरता रहेको भन्दै अन्य उत्पादनको निर्यात बढाउनुपर्नेमा जोड दिए ।भारतमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न आहृवान गर्दै उनले यसका लागि नेपालका नीजी क्षेत्रले स्पष्ट रोडम्याप तयार पार्न सुझाव दिए र दूतावासबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रमका विशेष अतिथि भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महाबरले नेपालमा दुई सातापछि हुने निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै भारतले आवश्यक लजिस्टिक सहयोग उपलब्ध गराएको जानकारी दिए । महाबरले भारतको आन्तरिक तथा विदेशी नीतिमा समावेशीता नै मूल आधार रहेको उल्लेख गर्दै उन्नत कनेक्टिभिटी र सहकार्यमार्फत साझा समृद्धि अघि बढाउने प्रतिबद्धता दोहोर्‍याए । नेपालसँग जलविद्युत् क्षेत्रमा भएको प्रगतिले आगामी दिनमा थप महत्वाकांक्षी परियोजनामा सहकार्यको सम्भावना रहेको उनको भनाइ थियो।

महोत्सवका मुख्य आयोजक एभरेष्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बरालले स्वागत मन्तव्य दिँदै नेपाल–भारत सम्बन्ध हजारौं वर्षदेखि ‘रोटी–बेटी’को आत्मीय सम्बन्धमा आधारित रहेको उल्लेख गरे । व्यापार प्रवर्द्धन, कला–संस्कृति प्रदर्शन तथा फिल्म  प्रदर्शनी मार्फत सम्बन्धलाई अझ सुदृढ बनाउन महोत्सव आयोजना गरिएको बताउँदै आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भारतीय लगानीकर्ताहरूलाई नेपालका होटल, रिसोर्ट, केबलकार सर्किट तथा धार्मिक पर्यटन पूर्वाधारमा संयुक्त लगानीका लागि आहृवान गरे । पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर र लुम्बिनी जस्ता स्थलहरूले करोडौं भारतीय श्रद्धालुसँग गहिरो सम्बन्ध राख्ने उल्लेख गर्दै पहाडी पर्यटन र डेस्टिनेसन वेडिङ क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको बताए । उनले आन्तरिक पुँजी परिचालनमार्फत लगानी विस्तार गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ पुँजीसहित नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरिएको जानकारी दिँदै भारतमा रहेका नेपालीहरूलाईसमेत उक्त पहलमा सहभागी हुन आह्वान गरे ।

कार्यक्रममा नेपालका पूर्व सांसद दिव्यमणि राजभण्डारीले जलवायु परिवर्तन जस्ता साझा मुद्दामा नेपाल–भारतले संयुक्त रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल घरेलु तथा साना उद्यमी महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको घरेलु तथा साना उद्योग क्षेत्रमा करिब ४० लाख रोजगारी सिर्जना भएको र त्यसमध्ये १० लाख भारतीय नागरिक संलग्न रहेको उल्लेख गर्दै दुवै देशबीचको आत्मीय सम्बन्धलाई यस्ता महोत्सवले थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

सस्टेनेबल टुरिज्म उत्तर प्रदेशकी अध्यक्ष अंकिता जैसवालले नेपाल र भारत भौगोलिक मात्र नभई पारिवारिक र मानवीय सम्बन्धले गहिरो रूपमा जोडिएका देश भएको उल्लेख गर्दै सेवा, आतिथ्य र सांस्कृतिक सम्बन्धलाई दिगो विकाससाग जोड्नुपर्ने धारणा राखिन् ।

त्यसैगरी, पीएचडी चेम्बरको नेपाल–भारत सेन्टरका सिनियर सेक्रेटरी अतुलकुमार ठाकुरले फिल्म तथा लोकेसन प्रमोसन क्षेत्रमा नेपालसँग सहकार्यका व्यापक सम्भावना रहेको उल्लेख गर्दै आगामी दिनमा एभरेष्ट चेम्बरसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस वर्षको महोत्सवमा जलविद्युत् तथा ऊर्जा साझेदारी, सीमापार व्यापार तथा कनेक्टिभिटी, रामायण र बौद्ध सर्किटमार्फत पर्यटन एकीकरण, बैंकिङ, फिनटेक तथा डिजिटल अर्थतन्त्र सहकार्य, मिडिया तथा सांस्कृतिक कूटनीति, युवा सहभागिता, शिक्षा तथा नवप्रवर्तन साझेदारी, स्टार्टअप इकोसिस्टम र इन्डो–नेपाल सहकार्यको ‘भिजन २०३०’ लगायतका विषयमा १० बढी उच्चस्तरीय सत्र तथा नीतिगत संवाद आयोजना गरिँदैछ ।

कार्यक्रममा ५० भन्दा बढी विज्ञहरूको सहभागिता रहेको छ । 

महोत्सवको पहिलो दिन नेपाली निर्देशक मिलन चाम्लिङ राई निर्देशित नेपाली चलचित्र गोर्खा वारिअरको स्क्रिनिङ गरिएको थियो । लगत्तै ‘नेपाल भारत सम्बन्धमा सफ्ट पावरको रुपमा सिनेमाको भूमिका’ विषयको सत्र सञ्चालन गरिएको थियो ।

व्यवसायिक तथा नीतिगत छलफलसँगै महोत्सवमा नेपालको समृद्ध सांस्कृतिक सम्पदा, संगीत कार्यक्रम, चलचित्र प्रदर्शन, परम्परागत कला तथा प्रामाणिक नेपाली परिकारमार्फत प्रस्तुत गरिएको छ । महोत्सवमा नेपाल र भारतका ६० बढी स्टलहरू राखिएका छन् भने २५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ । तीन दिनसम्म चल्ने महोत्सव आइतबार समापन हुनेछ । 

तीन दिनसम्म चल्ने इन्डो–नेपाल ट्रेड फेस्टिभल २०२६ ले द्विपक्षीय सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने प्रभावकारी मञ्चका रूपमा आफूलाई स्थापित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

कान्तिपुर

Link copied successfully