सात महिनामा ७१ अर्बको कच्चा भटमास तेल आयात, ६६ अर्ब ७८ करोडको प्रशोधित तेल निर्यात

गत आर्थिक वर्षको सुरुवाती सात महिनाको तुलनामा चालु आवको माघसम्म कच्चा भटमासको तेलको आयात ८५.३८ प्रतिशत र प्रशोधित भटमास तेलको निर्यात १०६ प्रतिशतले बढेको देखिन्छ

फाल्गुन ९, २०८२

सीमा तामाङ

Imports of crude soybean oil worth Rs 71 billion in seven months, exports of refined oil worth Rs 66.78 billion

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँको कच्चा खाद्य तेल आयात भएको छ भने ७८ अर्ब १९ करोड ६१ लाख रुपैयाँको प्रशोधित खाद्य तेल निर्यात भएको छ । जसमा सबैभन्दा बढी ७० अर्ब ९९ करोड रुपैयाँको ४४ करोड ८३ लाख ८७ हजार ४ सय ९४ लिटर कच्चा भटमासको तेल आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यस अवधिमा ६६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँको ३२ करोड ४१ लाख १९ हजार २२ लिटर प्रशोधित भटमासको तेल निर्यात भएको देखिन्छ । कुल निर्यातमा सबै किसिमका तेलको हिस्सा साढे ४६ प्रतिशत हुँदा भटमासको तेल ४० प्रतिशत देखिन्छ । 

गत आवको सुरुवाती सात महिनामा कच्चा भटमासको तेल ३८ अर्ब २९ करोड ७३ लाख रुपैयाँ बराबरको २५ करोड ९२ लाख ९५ हजार ३ सय ५३ लिटर कच्चा तेल आयात भएको थियो । त्यसैगरी ३२ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको १५ करोड ८१ लाख ३८ हजार ८ सय ३१ किलो प्रशोधित भटमासको तेल निर्यात भएको देखिन्छ । तथ्यांकले चालु आवमा कच्चा भटमासको तेल आयातमा ८५.३८ प्रतिशत तथा प्रशोधित भटमासको तेलको निर्यातमा १ सय ६ प्रतिशतले बढेको देखिन्छ ।

भारत सरकारले ३० मे २०२५ मा कच्चा पाम तेल, सोयाबिन तेल र सूर्यमुखी तेलमा लाग्ने आधारभूत भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशत र प्रशोधित तेल ३५.७५ प्रतिशत नै यथावत् गरेपछि नेपालमा कच्चा तेल आयात र प्रशोधित तेल निर्यातमा प्रत्यक्ष असर देखिएको हो । भारतले सेप्टेम्बर २०२४ मा स्वदेशी तेलबिउ किसानलाई संरक्षण गर्ने उद्देश्यले कच्चा र परिष्कृत दुवै प्रकारका खाद्यतेलमा २० प्रतिशतले आयात कर बढाएको थियो । जसले गर्दा भारतमा कुल आयात शुल्क २७.५ प्रतिशतबाट घटेर १६.५ प्रतिशतमा झरेको थियो । तर उक्त निर्णयको अप्रत्याशित फाइदा नेपाललाई पुगेको थियो ।

कच्चा भटमासको तेल आयात गरी निर्यात गर्दा ठूलो मात्रामा मूल्य अभिवृद्धि (भ्यालु एड) हुन नसकेको पूर्वसहसचिव एवं व्यापार विज्ञ रविशंकर सैंजु बताउँछन् । अहिले धेरै खाद्यतेल निर्यात न्यूनतम प्रशोधनमै सीमित रहेको, धेरैजसो अवस्थामा आयात गरिएको तरल तेललाई पुनः प्याकेजिङ गरेर मात्र निर्यात गरिएको उनको भनाइ छ ।

अमेरिकाले भारतीय सामग्रीमाथि लाग्दै आएको भन्सार शुल्क २५ प्रतिशतबाट १८ प्रतिशतमा घटाएको छ । रुसबाट तेल खरिद बन्द गर्न भारत तयार भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका थिए । अमेरिका र भारतबीच आगामी मार्चभित्र द्विपक्षीय व्यापार सम्झौता गर्ने तयारी भइरहेकाले त्यसले नेपालको तेल आयात–निर्यातमा ठूलो प्रभाव पार्ने सैंजु बताउँछन् । ‘अमेरिकाबाट प्रशोधित भटमासको तेल शून्य प्रतिशतमा भारतले ल्याउने गरी सम्झौता हुन सक्छ । त्यसो भएमा भारतले नेपालबाट किन लैजान्छ ?’ उनले भने, ‘अमेरिका र भारतबीच व्यापार सम्झौता हुँदा नेपालको तेल आयात–निर्यातमा प्रभाव पर्नेछ ।’

नेपालमा कच्चा तेल आयात गरी प्याकेजिङ गरेर भारत लैजानुभन्दा प्रशोधित तेल नै अमेरिकाबाट सहजै आउने सैंजुको भनाइ छ । ‘खानेतेलको निर्यात बढ्दा केही व्यावसायिक समूहलाई मात्रै नाफा दिएको छ, नेपालभित्र वास्तविक मूल्य अभिवृद्धि वा रोजगारी सिर्जना भएको छैन,’ उनले भने, ‘त्यसैले नेपालमै उत्पादन भएका वस्तु निर्यातमा जोड दिनुपर्छ वा कम्तीमा पुनः निर्यात गर्दा उल्लेख्य मूल्य अभिवृद्धि सुनिश्चित गर्नुपर्छ ।’ भटमास नै आयात गरी तेल उत्पादन गर्ने र निर्यात गर्ने हो भने ठूलो मात्रामा रोजगारी सिर्जना हुने र तेलको पिनासमेत विदेश पठाउन सकिने सैंजुको भनाइ छ ।

विश्वको वर्तमान व्यापार अवस्था हेरेर नेपालले अब भारतसहित सबै मुलुकसँग आफ्नो व्यापार नीतिमा पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ । ‘भारतसँग भएको नेपालको व्यापार सन्धि पुनरावलोकन गर्न ढिला भइसक्यो,’ उनले भने, ‘अन्य मुलुकसँग भएको व्यापार नीतिमा पनि पुनरावलोकन गर्नुपर्छ र व्यापारका लागि नयाँ बजार खोज्‍नुपर्छ ।’

भारतले मे २०२५ मा कर संशोधन गरेसँगै नेपालबाट प्रशोधित खाद्यतेल (एडिबल आयल) निर्यातमा ठूलो असर पर्ने भन्दै विज्ञहरूले आशंकासमेत गरेका थिए । भारतका व्यापारीले कच्चा तेल आयात गर्दा १६.५ प्रतिशत र प्रशोधित तेल आयात गर्दा ३५.७५ प्रतिशत कर तिर्नुपर्छ । नेपालका व्यापारीले तेस्रो मुलुकबाट कच्चा भटमासको तेल आयात गर्दा २४.३० र सार्क मुलुकअन्तर्गत आयात गर्दा १८.६५ प्रतिशत कर तिर्नुपर्छ ।

कच्चा तेल तेस्रो मुलुकबाटै आयात हुने गरेको छ । प्रशोधित तेल भारत निर्यात गर्दा नेपालमा कर लाग्दैन । अर्थात् दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत भारत निर्यात गर्दा भन्सार छुट हुन्छ । त्यसकारण पनि नेपालमा कच्चा तेल आउने र प्रशोधन भई भारत जाने गरेको जानकार बताउँछन् । 

विभागको चालु आर्थिक वर्षको सातमहिने तथ्यांकमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको वस्तु आयात भएको देखिन्छ । सोही अवधिमा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँको वस्तु निर्यात भएको तथ्यांक छ । सर्वाधिक आयात र निर्यात हुने तेलमा भटमासकै तेलको हिस्सा बढी छ । नेपालको वैदेशिक व्यापार भने स्वदेशी वस्तुको निर्यातमा भन्दा भटमास तेलकै वरिपरि घुमेको देखिएको छ । जुन अस्थिर व्यापार हो ।

कच्चा भटमासको तेल अर्जेन्टिना, ब्राजिल, चीन, थाइल्यान्ड, पाराग्वे, युक्रेन, कतारबाट आयात हुन्छ भने प्रशोधित तेल भारतमा मात्रै निर्यात हुने गरेको छ । सबैभन्दा बढी अर्जेन्टिनाबाट ५९ अर्ब १३ करोड रुपैयाँ बराबरको ३७ करोड २४ लाख २७ हजार ८१९ लिटर र सबैभन्दा कम कतारबाट एक हजार रुपैयाँको एक लिटर कच्चा भटमासको तेल आयात भएको विभागको तथ्यांक छ ।

नेपालले स्वदेशी वस्तु निर्यात गर्नभन्दा आयातित वस्तु नै प्रशोधन गरेर निर्यात गरेको देखिएको छ । नेपालले सात महिनामा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँको वस्तु निर्यात गर्दा आन्तरिक उत्पादन अलैंची भने जम्मा ८ अर्ब ६१ करोड रुपैयाँको मात्रै बिक्री गरेको छ । निर्यात हुने वस्तुमा अलैंची दोस्रो नम्बरमा छ भने तेस्रोमा सूर्यमुखीको बिउ र तेल छ । जुन ५ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको छ ।

अलैंची र सूर्यमुखीको बिउ र तेलको बजार भारत मात्रै रहेको विभागको तथ्यांकले देखाउँछ । नेपालले सात महिनामा ५ अर्ब ७१ करोड रुपैयाँको गलैंचा निर्यात गरेको छ । गलैंचाको बजार भने भारतसहित ६४ मुलुकमा छ । सबैभन्दा बढी ३ अर्ब ६१ करोड रुपैयाँको अमेरिकामा र सबैभन्दा कम १४ हजार रुपैयाँको काजकस्तानमा निर्यात भएको हो ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully