धनगढी–खुटिया–दीपायल–चैनपुर–उरै भन्ज्याङ (फास्ट ट्रयाक) मार्ग निर्माण गरेर पहाड र तराईबीच आधा दूरी घटाउने लक्ष्य छ । आयोजना सुरु गरिएको दुई दशक बितिसक्दा समेत गति लिन नसकेको हो ।
What you should know
कैलाली — सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसित जोड्न निर्माण थालिएको ‘फाष्ट ट्रयाक’ले गति लिन सकेको छैन। प्रत्येक संसदीय निर्वाचनमा प्रमुख मुद्दा बन्ने गरे पनि निर्माण कार्यले तिब्रता पाएको छैन ।
धनगढी–खुटिया–दीपायल–चैनपुर–उरै भन्ज्याङ (फास्ट ट्रयाक) मार्ग निर्माण गरेर पहाड र तराईबीच आधा दूरी घटाउने लक्ष्य छ । आयोजना सुरु गरिएको दुई दशक बितिसक्दा समेत गति लिन नसकेको हो ।
कैलालीको धनगढी–हसनपुरबाट सुरु हुने मार्ग खुटिया, वीपीनगर हुँदै डोटीको दीपायलबाट बझाङको चैनपुर भएर चीन सीमा उरै भन्ज्याङसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
अहिलेसम्म उक्त मार्ग अन्तर्गत सीमित खण्डमा मात्र काम भइरहेको छ । खुटियाबाट वीपीनगरतर्फ २० र दीपायलबाट वीपीनगरतर्फ १३ किलोमिटर कालोपत्र भइरहेको आयोजना प्रमुख इन्जिनियर शशांक मिश्रले जानकारी दिए ।
उनका अनुसार हसनपुर–खुटिया खण्डमा कालोपत्र पूरा भइसकेको छ । यसबाहेक ७ वटा पुल निर्माणाधीन छन् । जसमध्ये ५ वटाको निर्माण चालु वर्षभित्रै सक्ने लक्ष्य छ । दीपायलबाट चैनपुरतर्फ अहिलेसम्म निर्माण कार्य सुरु भएको छैन । पहाड र तराईबीच दूरी घटाएर दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने उद्देश्यले आयोजना अघि बढाइएको थियो । अहिलेको धनगढी–दिपायल सडक १ सय ८० किलोमिटर छ ।
उक्त सडकको विकल्पमा २०६४ मा खुटिया–दीपायल द्रुत मार्गको सर्भे पूरा गरेर ट्रयाक खोलिएको थियो । सुरुमा खुटियाबाट दीपायलसम्म ८२ किलोमिटर सर्भे गरिएको थियो । त्यसपछि कैलालीको स्याउलेबाट धनगढीसम्म १० किलोमिटर थप गरियो । त्यसपछि धनगढी–दीपायलसम्म ९२ किलोमिटर द्रुतमार्ग बनाउने निर्णय गरिएको थियो । पहिलो चरणमा खुटिया–वीपीनगर–दीपायल खण्ड निर्माण थालिएको थियो ।
२०७३ मा बिस्तार गरेर धनगढी–खुटिया–दीपायल–चैनपुर–उरै भन्ज्याङ नामकरण गरिएको थियो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार धनगढीदेखि बझाङको थलारासम्म १ सय ८६ किलोमिटरको अध्ययन पूरा भइसकेको छ । उक्त सडक निर्माण पूरा गर्न ९ अर्ब १५ करोड ५३ लाख लागत अनुमान गरिएको छ । दीपायल–पातीहाल्ने खण्डमा ५ अर्ब ९४ करोड रुपैयाँ लगानी अनुमान गरिएको छ ।
खुटिया–दीपायल खण्डमा २ अर्ब ९८ करोड र धनगढी–खुटिया खण्डमा २२ करोड ८२ लाख लागत अनुमान गरिएको छ । बझाङको चैनपुर बजार र उरै भन्ज्याङ सम्म जोड्ने लक्ष्य राखिए पनि अझै डीपीआर पूरा नभएको आयोजना प्रमुख मिश्रले जनाए । उनका अनुसार आयोजनामा अहिलेसम्म १ अर्ब ७७ करोड खर्च भइसकेको छ ।
बजेट अभावले बाधा
अहिले धनगढीबाट डडेल्धुरा हुँदै दीपायल पुग्न १ सय ८० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता छ । फास्ट ट्रयाक निर्माण भएपछि उक्त दूरी ९५ किलोमिटरमा सीमित हुनेछ । यसले ९० किलोमिटर दूरी कम हुने आयोजना प्रमुख मिश्र बताउाछन् । उनका अनुसार द्रुतमार्गले डोटी, अछाम, बाजुरा र बझाङलाई तराईसित जोड्नेछ । अहिले डडेल्धुरा हुादै घुमेर जानुपर्ने बाध्यता हट्नेछ । बजारसम्म पहुाच, स्वास्थ्य सेवा, शिक्षा, प्रशासनिक सेवा तथा आर्थिक गतिविधिमा उल्लेख्य सुधार आउने छ ।
आयोजनाको काम सम्पन्न गर्न बजेट अभाव छ । चालु आर्थिक वर्ष १५ करोड रुपैयाामात्र विनियोजन भयो । जुन आयोजनाको आकार र आवश्यकताको तुलनामा निकै कम हो । प्राविधिक रूपमा आयोजना कार्यान्वयनमा कुनै समस्यान भए पनि पर्याप्त बजेट अभाव नै निर्माण ढिलाइको मुख्य कारण भएको मिश्रको भनाइ छ । ‘आयोजनाको वर्तमान दायित्व ५० देखि ५५ करोड रुपैयाँ छ,’ उनले भने, ‘तर १५ करोड विनियोजन हुन्छ । बजेट अभावले नयाा ठेक्का लगाउन समस्या भइरहेको छ ।’ उनका अनुसार पर्याप्त बजेट उपलब्ध भएमा आयोजना ५ देखि ७ वर्षमा सम्पन्न हुने छ । हाल सडक र पुल निर्माणका लागि तीनवटा मुख्य ठेक्का मार्फत काम भइरहेको छ ।
साझा चुनावी मुद्दा
यो मार्ग सुदूरपश्चिम परिवर्तनका लागि महत्वपूर्ण आयोजना हो । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले आफू निर्वाचित भए खुटियादेखि उरै भञ्ज्याङ नाका जोड्ने ‘फास्ट ट्रयाक’ निर्माणलाई अगाडि बढाउने जनाए । उनी डोटीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । आˆनो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै भट्टले मुख्यमन्त्री हुँदा प्रदेश मन्त्रिपरिषद बैठकबाट निर्णय गरेरै यस सडकलाई भारत र चीनको सीमाना जोड्ने त्रिदेशीय सडकको रुपमा विकास गर्न संघीय सरकारलाई आग्रह गरेको बताए ।
कैलाली–५ का नेकपा उम्मेदवार प्रेमबहादुर आलेले पनि आयोजनालाई प्राथमिकतामा राखेका छन् । डोटीबाट लगातार तीन पटक चुनाव जितेका आलेले प्रत्येक चुनावमा यसलाई प्रमुख एजेण्डा बनाएका थिए । उनीबाहेक कांग्रेसका नरनारायण शाह र एमाले उम्मेदवार यज्ञराज ढुंगानाको एजेण्डामा पनि यो आयोजना परेको छ । ०७९ को निर्वाचनमा प्रायः सबै उम्मेदवारले यसलाई एजेण्डा बनाएर चुनाव पनि जिते । तर सुदूरपश्चिमका जनताले ठूलो आशा राखेको यो आयोजनाले अझै गति लिएको छैन ।
