कांग्रेस र एमालेले योग, ध्यान, आयुर्वेद र वेलनेस पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेका छन् भने नेकपाले जडीबुटी तथा स्वास्थ्य पर्यटनलाई नयाँ उत्पादनका रूपमा विकास गर्ने बताएको छ ।
What you should know
काठमाडौँ — दलहरूले पर्यटनलाई रोजगारी, विदेशी मुद्रा आर्जन र दिगो विकाससँग जोड्ने रणनीति सार्वजनिक गरेका छन् ।
कांग्रेसले १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘आरोग्य नेपाल’ अभियान अघि सारेको छ । एमालेले ५ वर्षभित्र पर्यटक आगमन दोब्बर बनाउने घोषणा गर्दै ‘गन्तव्य नेपाल’ अभियानमार्फत अन्तर्राष्ट्रिय बजारमा आक्रामक ब्रान्डिङ गर्ने योजना प्रस्तुत गरेको छ ।
नेकपाले दिगो तथा पर्यावरणमैत्री पर्यटनलाई प्राथमिकता दिएको छ । रास्वपाले डिजिटल प्रणाली र अन्तर्राष्ट्रियस्तरको पूर्वाधार विकासमार्फत प्रतिस्पर्धी पर्यटन अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । चारै दलले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई उच्च प्राथमिकता दिएका छन् । पशुपति, लुम्बिनी, जनकपुर, मुक्तिनाथ, पाथीभरा, खप्तडलगायत क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।
कांग्रेस र एमालेले योग, ध्यान, आयुर्वेद र वेलनेस पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेका छन् भने नेकपाले जडीबुटी तथा स्वास्थ्य पर्यटनलाई नयाँ उत्पादनका रूपमा विकास गर्ने बताएको छ । हवाई सेवा सुधार चारै दलको साझा एजेन्डा बनेका छन् । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने तथा युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउने पहल गर्ने विषय घोषणापत्रमा समेटिएका छन् ।
रास्वपाले नियामक निकायलाई सेवा प्रदायकबाट अलग गरी नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार गर्ने योजना अघि सारेको छ भने नेकपाले नेपाल एयरलाइन्स तथा निजी एयरलाइन्सको प्राविधिक स्तरोन्नति गर्ने उल्लेख गरेको छ ।
एमालेले भिसा प्रक्रिया सहज बनाउने र आन्तरिक उडानलाई सुरक्षित तथा प्रतिस्पर्धी बनाउने नीति अघि सारेको छ । डिजिटल पर्यटन प्रणाली विकासमा पनि दलहरूबीच समान दृष्टिकोण देखिएको छ । हिमाल संरक्षण, ‘सफा हिमाल’ अभियान, हरित प्रमाणीकरण र सिंगल–युज प्लास्टिक निषेध जस्ता कार्यक्रमहरू पनि घोषणापत्रमा समेटिएका छन् ।
