दलहरूको घोषणापत्र सय खर्बको अर्थतन्त्र र प्रतिव्यक्ति आय दोब्बर बनाउने महत्त्वाकांक्षी योजना

आसन्न निर्वाचनका लागि बिहीबार घोषणापत्र सार्वजनिक गरेका दलहरूले पाँच वर्षभित्र अर्थतन्त्रमा छलाङ नै हुने गरी निकै महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरेका हुन् ।

फाल्गुन ८, २०८२

यज्ञ बञ्जाडे

Parties' manifestos outline ambitious plans to double per capita income and create a $1 trillion economy

What you should know

काठमाडौँ — प्रमुख दलहरूले अर्थतन्त्रको आकार एक सय खर्ब पुर्‍याउने, हालको तुलनामा दोब्बरभन्दा बढी प्रतिव्यक्ति आय र दोहोरो अंकको आर्थिक वृद्धि गर्नेजस्ता योजना समेटेर घोषणापत्र ल्याएका छन् । आसन्न निर्वाचनका लागि बिहीबार घोषणापत्र सार्वजनिक गरेका दलहरूले पाँच वर्षभित्र अर्थतन्त्रमा छलाङ नै हुने गरी निकै महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरेका हुन् । यद्यपि, पछिल्ला चार दशकमा औसत चार प्रतिशतभन्दा केही बढी मात्र आर्थिक वृद्धि प्राप्त गरिरहेको अर्थतन्त्रमा दोहोरो अंकको आर्थिक वृद्धि त्यति सजिलो छैन ।

हाल करिब १४ सय डलर प्रतिव्यक्ति आय रहेकामा त्यसलाई कम्तीमा दोब्बर बनाउने र ६१ खर्बको अर्थतन्त्रलाई एक सय खर्ब हाराहारी पुर्‍याउने योजना दलहरूको छ । तर, ती लक्ष्य प्राप्तका लागि आवश्यक नीति, स्रोत संकलन र ठोस योजना भने कुनै घोषणापत्रमा देखिँदैन । दशकौंदेखि वार्षिक औसत ६० प्रतिशत पुँजीगत खर्च हुने गरेको मुलुकमा त्यसलाई कसरी बढाउने, स्रोत संकलन कसरी गर्ने, राजस्व संकलन र विदेशी लगानी कसरी बढाउनेलगायत अन्योल भने दलहरूले चिर्न सकेका छैनन् । 

कांग्रेसले पाँच वर्षमा एक सय १५ खर्बको अर्थतन्त्र र प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने संकल्प गरेको छ । यो पार्टीले युवालाई उद्यमशीलताको साझेदार, निजी क्षेत्रलाई समुन्नतिको इन्जिन मानेको छ । विपन्न नागरिकलाई विकासको मूल प्रवाहमा ल्याएर सम्पत्तिको मालिक बनाउने ‘उदार र उत्पादनमुखी’ अर्थतन्त्र निर्माण गर्ने बताइएको छ । 

करिब सवा सय खर्बको अर्थतन्त्रका लागि १ सय ३७ खर्ब ५० करोड खर्ब रुपैयाँ बराबरको लगानी परिचालन गर्ने भनिएको छ । उक्त लगानीमा ८० प्रतिशत हिस्सा निजी क्षेत्रबाट गरिने र राज्यको भूमिका सहजकर्ता र निष्पक्ष नियामकमा सीमित हुने कांग्रेसको नीति छ । ‘मुद्रास्फीतिलाई पाँच प्रतिशतभित्र नियन्त्रण गर्ने र सीमान्त पुँजी उत्पादन अनुपातलाई ४.५ः१ मा कायम राख्छौं । नेपालको अर्थतन्त्रलाई ‘प्रो–प्राइभेट’, ‘प्रो– ग्रोथ’ र ‘प्रो– सोसल जस्टिस’ बनाउन तीन स्तम्भमा केन्द्रित हुनेछौं,’ कांग्रेसको घोषणापत्रमा भनिएको छ । 

करका दर र सर्तहरू कम्तीमा १०–१५ वर्षसम्म स्थिर रहने गरी ‘स्ट्याबिलिटी क्लज’ सहितको कानुनको सुनिश्चितता कांग्रेसले गरेको छ । उद्योग दर्तादेखि नवीकरणसम्मका सरलीकृत डिजिटल प्रणाली निर्माण, व्यावसायिक मुद्दा छिटो टुंग्याउन ‘फास्ट ट्र्याक’ न्यायाधिकरण र ‘नो वर्क नो पे’ को व्यावहारिक प्रयोगमार्फत रोजगारदाता र श्रमिक दुवैका लागि पूर्वानुमानयोग्य श्रम वातावरण तय गर्ने बताइएको छ । 

संस्थागत आयकरलाई क्रमशः २० प्रतिशतमा झार्ने, वस्तु र सेवाको निर्यातमा १० प्रतिशत, सूचना प्रविधि निर्यात व्यवसायमा ५ प्रतिशत र उत्पादनमुखी उद्योगहरूमा १५ प्रतिशत आयकर कायम गर्ने नीति छ । विभिन्न नाममा लगाइएका स–साना करहरूलाई मूल्य अभिवृद्धिकरमा समाहित गरी दायरा विस्तार गर्ने तथा यसको एकल दरलाई क्रमशः १० प्रतिशतमा झार्ने नीति कांग्रेसको छ । 

एमालेले घोषणापत्रमार्फत ‘आधा दशकमा सय खर्ब, एक दशकमा २ सय खर्ब’ को अर्थतन्त्र बनाउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । जसमा कृषिको उत्पादकत्व, विद्युत् उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै ७ प्रतिशतदेखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिको परिकल्पना गरिएको छ । प्रतिव्यक्ति आय पाँच वर्षमा करिब अमेरिकी डलर ३ हजार पुर्‍याउने लक्ष्य पनि एमालेको छ । 

समष्टिगत आर्थिक तथा क्षेत्रगत नीतिहरूलाई लगानीमैत्री र उत्पादन सहयोगी तुल्याउने बताइएको छ । ‘वित्तीय क्षेत्रको पुँजी उत्पादक क्षेत्रमा उपयोग गर्ने, पुँजी बजारको विकास तथा सुदृढीकरण गर्दै थप आन्तरिक तथा बाह्य पुँजी परिचालन गरी उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तार गर्नेछौं,’ एमालेको घोषणापत्रमा भनिएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयन गर्न मात्रै सार्वजनिक ऋण लिने एमालेको नीति हो । ‘सार्वजनिक ऋणलाई राष्ट्रिय सामर्थ्यको सुरक्षित अनुपातभन्दा बढ्न दिने छैनौं,’ घोषणापत्रमा भनिएको छ ।

एमालेले निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिन मात्रै होइन, समृद्धिको प्रमुख अभियन्ताका रूपमा परिचालन गर्ने जनाएको छ । कृषि, ऊर्जा, उद्योग, पर्यटन, भौतिक पूर्वाधार, सहरी पूर्वाधार, आवास व्यवस्थापन, सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स, सिँचाइ, वन तथा वातावरण गरी दस क्षेत्रलाई नेपाली अर्थतन्त्रका प्रमुख संवाहक क्षेत्र निर्धारण गर्ने एमालेले जनाएको छ । 

रास्वपाले पाँच वर्षमा औसत ७ प्रतिशत (स्थिर मूल्यमा) आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य तय गरेको छ । पाँच वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरभन्दा बढी र अर्थतन्त्रको आकार १ सय खर्ब नजिक पुर्‍याउने रास्वपाको लक्ष्य छ । राज्यको राजस्व नघट्ने प्रत्याभूतिसहित सबै करका बोझ घटाउने, भूतप्रभावी कर नलगाउने र पारिवारिक भारका आधारमा आयकरको सीमा तोक्ने घोषणापत्रमा उल्लेख छ । 

तीन दशकदेखि स्थिर रहेको भारुसँग नेपाली मुद्राको विनिमय दर पुनरावलोकन गर्ने, लगानी प्रोत्साहन गर्ने ‘वान स्टेप’ सेवा र १२ वर्षदेखि गतिहीन रहेका राष्ट्रिय गौरवका आयोजनालाई २ वर्षभित्र सम्पन्न गर्ने, सहकारी र लघुवित्तको अनियन्त्रित र फितलो नियमनलाई विस्थापन गरी सम्पूर्ण गैरवित्तीय क्षेत्रलाई राष्ट्र बैंकको नियमनभित्र ल्याउने र ५० करोडभन्दा बढीको कारोबार गर्ने सहकारी र लघुवित्तलाई राष्ट्र बैंकको नियमन र साना संस्थाहरू नियमन गर्न उच्चअधिकार सम्पन्न दोस्रो तहको नियामक निकाय गठन गर्ने रास्वपाको योजना छ । पुँजी बजारलाई व्यवस्थित बनाउन नियामक निकाय धितोपत्र बोर्डको पुनःसंरचना गरी आवश्यक स्वायत्तता दिइने, नेप्से र सीडीएससीको पुनःसंरचना गरिने पनि उल्लेख छ । 

सहकारी ठगी गरेर जेल चलान गरिएका तथा पुर्पक्षका लागि थुनामा रहेका सञ्चालक तथा व्यवस्थापकलाई सर्तसहित जेलबाहिर निकाल्ने वाचा रास्वपाले गरेको छ । वाचापत्रमा सहकारी र लघुवित्त क्षेत्रको अनियन्त्रित र फितलो नियमनलाई विस्थापन गरी सम्पूर्ण गैरबैंकिङ वित्तीय क्षेत्रलाई नेपाल राष्ट्र बैंकको प्रत्यक्ष र शक्तिशाली सुपरिवेक्षण प्रणालीभित्र ल्याउने वाचा गरेको छ । 

‘हाम्रो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो । त्यसैले, थुनेर होइन, सुनेर समाधान गर्ने नीतिअनुरूप यदि कुनै सहकारी वित्तीय संस्थाका सञ्चालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरूसँग भरपर्दो स्रोत एवं योजना छ भने, मिलापत्रका लागि कानुनी बाटो प्रशस्त गरिदिनेछौं,’ वाचापत्रमा लेखिएको छ । रास्वपाले साना बचतकर्ताको रकम आफ्नो नेतृत्वमा सरकार गठन भएको १०० दिनमा फिर्ता गर्ने वाचा गरेको छ । त्यो रकम कसले फिर्ता गर्ने र कतिसम्मको रकमलाई साना बचतकर्ता भन्नेबारे भने वाचापत्रमा उल्लेख गरिएको छैन ।

Parties' manifestos outline ambitious plans to double per capita income and create a $1 trillion economy

यस्तै, नेकपाले प्रतिबद्धतापत्रमार्फत नयाँ चरणको आर्थिक सुधारको परिकल्पना गरेको छ । प्राकृतिक स्रोतहरूको विवेकशील, दिगो र उत्पादनमुखी उपयोग, स्वदेशी र वैदेशिक लगानीमा वृद्धिमार्फत पाँच वर्षभित्र दोहोरो अंकको (१० प्रतिशतभन्दा माथिको) आर्थिक वृद्धिदर हासिल गर्ने नेकपाको लक्ष्य छ । पाँच वर्षमा हालको बहुआयामिक गरिबीको दर २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने घोषणापत्रमा उल्लेख छ ।

नेकपाले कृषि तथा ग्रामीण अर्थतन्त्र रूपान्तरण, ऊर्जा तथा पूर्वाधार विकास, औद्योगिक तथा उद्यमशीलता प्रवर्द्धन, सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्र, पर्यटन तथा सेवा क्षेत्रको गुणस्तरीय विकास र सामाजिक क्षेत्रलाई मुख्य ६ प्राथमिक क्षेत्र तोकेको छ । स्वदेशी उद्योग, नवप्रवर्तन स्टार्टअप, साना तथा मझौला उद्यमलाई प्रोत्साहन, प्रादेशिक विशिष्ट आर्थिक अभियान डिजिटल पूर्वाधार, ई–कमर्स तथा आईटी उद्योग विकास, नीतिगत सुधार पनि घोषणापत्रमा छ । यसरी प्रतिवर्ष १ लाख ५० हजार अतिरिक्त रोजगारी थप गरी वार्षिक ५ लाख रोजगारी सुनिश्चित गरिने नेकपाको नीति छ । 

यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रतिबद्धतापत्रमार्फत आगामी दुई दकशभित्र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । भारत र चीनको आर्थिक तथा भौतिक विकाससँग एकाकार हुँदै प्राकृतिक तथा मानवीय स्रोत, स्वदेशी तथा अन्य विदेशी पुँजी र प्रविधिको उच्चतम प्रयोग र परिचालन गरिने पनि घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा भनिएको छ, ‘संघीयस्तरबाट विकास गरिने रणनीतिक महत्त्वका योजनाहरूमा खासगरी ऊर्जा सुरक्षा (ठूला जलविद्युत् र प्रसारण लाइन), ४ र ६ लेन सडक, रेलमार्ग, विमानस्थल, केवलकार, हिमाली बृहत् पदमार्ग, ठूला सिँचाइ, विशेष औद्योगिक क्षेत्र, खानी उद्योग, वातावरण संरक्षण, विज्ञान प्रविधि तथा अनुसन्धान, खेलकुद, उपग्रह आदि समावेश हुनेछन् ।’

उज्यालो नेपाल पार्टीले निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्दै समृद्धितर्फ स्वदेशी पुँजी परिचालन गर्दै निजी क्षेत्र, सहकारी र समुदायबीच सहकार्य विस्तार गर्ने र आवश्यक प्राथमिकता क्षेत्रहरूमा वैदेशिक लगानी आकर्षित गर्ने नीति अवलम्बन गरिएको छ । २०३० सम्म कुल गार्हस्थ्य उत्पादन ७० अर्ब अमेरिकी डलर र २०३५ सम्म १११ अर्ब अमेरिकी डलर पुर्‍याउने, २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने, निर्यातलाई २०३० मा १० अर्ब डलर र २०३५ सम्म २० अर्ब डलरसम्म विस्तार गर्ने तथा प्रतिवर्ष करिब १० लाख थप रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

यज्ञ बञ्जाडे बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully