हायर-पर्चेज कर्जाको ऋण-मूल्य अनुपात ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह

नाइमाले सबै प्रकारका सवारी साधनमा हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ६० प्रतिशतबाट वृद्धि गरी अधिकतम ८० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयलाई आग्रह गरेको हो ।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

NAIMA urges to maintain loan-to-value ratio of hire-purchase loans at 80 percent

What you should know

काठमाडौँ — नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सबै प्रकारका सवारी साधनमा सवारी साधन हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ६० प्रतिशतबाट वृद्धि गरी अधिकतम ८० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । 

हालको ६० प्रतिशतको सीमाकै कारण अटोमोबाइल बजारमा सुस्तता देखिएको नाइमाले जनाएको छ । उच्च प्रारम्भिक भुक्तानीको आवश्यकताका कारण धेरै उपभोक्ता सवारी साधन खरिद गर्न असमर्थ भएका छन्, जसले बिक्रीमा कमी ल्याएको मात्र नभई समग्र आर्थिक गतिविधि तथा राजस्व संकलनमासमेत प्रत्यक्ष प्रभाव पारेको नाइमाको दाबी छ ।

'अटोमोबाइल क्षेत्र भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करमार्फत सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याउने क्षेत्रमध्ये एक हो,' नाइमाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, 'सवारी साधन बिक्रीमा वृद्धि हुँदा राजस्व संकलनमा ठोस तथा सकारात्मक प्रभाव पर्ने विश्वास छ।'

बैंकिङ प्रणालीमा विद्यमान अधिक तरलताको अवस्थालाई ध्यानमा राख्दा सवारी साधन कर्जामा ऋण-मूल्य अनुपात वृद्धि गर्नु पूँजी परिचालनको व्यावहारिक तथा प्रभावकारी उपाय हुन सक्ने नाइमाको धारणा छ। हायर–पर्चेज कर्जा किस्ताबन्दी प्रणालीमा आधारित र धितो सुरक्षासहित प्रवाह गरिने भएकाले यसलाई तुलनात्मक रूपमा सुरक्षित कर्जा खण्ड मानिने नाइमाले जनाएको छ ।

सवारी साधन बिक्रीले सर्भिस केन्द्र, स्पेयर पार्ट्स, बीमा, वित्तीय सेवा, ढुवानी, प्राविधिक सेवा लगायतका सहायक उद्योगहरूलाई सक्रिय बनाउँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने भएकाले यस क्षेत्रमा नीतिगत सहजीकरण आवश्यक रहेको नाइमाले जनाएको छ।

सवारी साधन हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात अधिकतम ८० प्रतिशत कायम गरी नीतिगत पुनरावलोकन गर्न नाइमाले सम्बन्धित निकायहरूसमक्ष पुनः आग्रह गरेको छ । 

कान्तिपुर

Link copied successfully