रास्वपाले सुर्खेतबाट सार्वजनिक वाचापत्रमार्फत विशेषज्ञहरूको सहभागितामा भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरको अध्ययन र पुनरावलोकन गर्ने बताएको छ ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले भारतसँगको विनिमयदर पुनरावलोकन गर्ने वाचा गरेको छ । आगामी निर्वाचनपछि सरकार गठन भएको अवस्थामा भारतसँगको विनिमयदर परिवर्तन गर्ने रास्वपाको घोषणा छ ।
रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरूले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सार्वजनिक गरेको वाचापत्रमा उक्त कुरा उल्लेख गरिएको हो ।
रास्वपाको आगामी निर्वाचनका लागि बिहीबार सार्वजनिक वाचापत्रमा भारतसँगको विनिमयदर अध्ययन र पुनरावलोकन गर्ने लेखिएको छ । 'भारतीय रुपैयाँसँगको तीन दशकदेखि स्थिर विनिमयदर कायम रहेकोमा विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरू समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गर्नेछौं,' रास्वपाको वाचापत्रमा लेखिएको छ ।
