सेयर कर्जा र निर्वाचनले पनि बढ्न सकेन नेप्से

ब्याजदर निरन्तर घटिरहेको छ भने कर्जा माग निकै कम छ । यसकारण पनि अहिले बैंकले सेयर लगानीकर्तालाई कर्जा लिन आग्रह गरिरहेका छन् ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Nepse failed to grow despite share lending and elections

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले थप १२ अर्ब १२ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा प्रवाह भएको सेयर कर्जा ८.६ प्रतिशतले बढी हो ।

चालु वर्ष यस शीर्षकमा प्रवाह भएको कर्जा गत वर्षको सोही अवधिमा प्रवाह भएको कर्जाको तुलनामा कम हो । 

गत आर्थिक वर्षको पहिलो महिनामा सेयर कर्जाको वृद्धिदर २६.३ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको सुरुदेखि नै सेयर कर्जा बढिरहेको छ । तर सेयर कर्जाको वृद्धिदर भने कम छ । यद्यपि सेयर कर्जा बढेको अनुपातमा सेयर बजार बढ्न सकेको छैन । अघिल्लो साता चार दिन घटेको नेप्से यो साताका दुवै कारोबार दिन घट्यो । केही महिनायता सेयर बजारमा अधिकांश दिन नेप्से बढ्ने र थोरै दिन मात्र बढ्ने प्रवृत्ति देखिएको छ । 

सेयर कर्जाका नाममा जति पैसा आएको छ, त्योभन्दा धेरै पैसा सेयर बिक्री, पुँजीगत करमार्फत सेयर बजारबाट बाहिरिएको, सेयर धितोमा लिएको ऋण सेयर खरिदमै लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था नरहेकाले सेयर कर्जा बढे पनि त्यसको सकारात्मक प्रभाव नेप्से परिसूचकमा नदेखिएको सेयर ब्रोकरहरू बताउँछन् । ‘पछिल्ला महिनामा सेयर कर्जा बढेको देखिन्छ, यसो हुँदा बजारमा सेयरको माग बढ्नुपर्ने हो, तर त्यो देखिँदैन,’ एक ब्रोकरले भने, ‘कर्जा बढेअनुसार सेयरको माग नबढेकाले समग्र नेप्से अपेक्षित रूपमा बढ्न नसकेको हो ।’ 

राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुससम्म २५ देखि ५० लाखसम्मको सेयर कर्जा १०.४ र २५ लाख रुपैयाँभन्दा कमको कर्जा ७.३ प्रतिशतले बढेको छ । सोही अवधिमा १ करोड रुपैयाँभन्दा बढीको कर्जा ७.९ प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने ११.८ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । 

पुस २०८१ सम्म २५ लाखभन्दा कमको कर्जा ८.१, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा ११.९ र ५० लाखदेखि १ करोडसम्मको कर्जा १४.९ प्रतिशतले बढेको थियो । यसैगरी गत आर्थिक वर्षको ६ महिनामा १ करोडभन्दा माथिको कर्जा ३४.९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । पछिल्ला तीन वर्षदेखि नै वित्तीय प्रणालीमा अधिक तरलता छ ।

ब्याजदर निरन्तर घटिरहेको छ भने कर्जा माग निकै कम छ । यसकारण पनि अहिले बैंकले सेयर लगानीकर्तालाई कर्जा लिन आग्रह गरिरहेका छन् । राष्ट्र बैंकको तथ्यांकले साना लगानीकर्ताले पनि बैंकबाट कर्जा लिएको देखाउँछ । तर पनि बजार किन बढ्न सकेन भन्ने अन्योल लगानीकर्तामा रहेको जानकारहरू बताउँछन् ।

इतिहास हेर्दा सामान्यतया संसदीय निर्वाचनको समयमा नेप्से बढेको देखिन्छ । तर, यस पटकको निर्वाचनमा सेयर बजारमा उछाल आउने गरी वृद्धि देखिएको छैन । निर्वाचनको परिणाम अनुमान गर्न अप्ठ्यारो भएको, जुन दलले सरकार बनाए पनि बजारको विकासमा काम गर्ने होइनन् भन्ने भाष्य कायमै रहेको, अर्थतन्त्रमा अन्य क्षेत्रमा लगानी बढ्न नसकेको, सरकारी खर्च बढ्न नसक्दा अर्थतन्त्रमा अपेक्षित रूपमा चलायमान बन्न नसकेको लगायत कारण लगानीकर्ताको आत्मविश्वास बढ्न नसकेको ब्रोकरहरूको भनाइ छ । 

नेपालमा २०४६ को राजनीतिक परिवर्तनपछि वैशाख २०४८, कात्तिक २०५१, वैशाख २०५६, चैत २०६४, मंसिर २०७०, मंसिर २०७४ र मंसिर २०७९ मा संसदीय निर्वाचन भएका छन् । २०४९ र २०५४ मा स्थानीय निकाय तथा २०७४ र २०७९ मा स्थानीय तहको निर्वाचन भएका छन् । तीमध्ये वैशाख २०५६ यताका संसदीय र स्थानीय निकायका निर्वाचनमा सेयर बजार बढेको छ ।  

यद्यपि, सेयर बजार वृद्धिका लागि अहिले प्रायः सबै नीतिहरू पनि अनुकूल छन् । सोही प्रक्रियामा गत असोजमा राष्ट्र बैंकले व्यक्तिगत सेयर कर्जामा अधिकतम २५ करोडको सीमा हटाएको थियो । त्यसअघि कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड थियो । यी नीतिले पनि सेयर बजारमा दिगो सकारात्मक असर देखिएको छैन ।

कान्तिपुर

Link copied successfully