भारतको एआई सम्मेलनमा चिनियाँ रोबोटमाथि विवाद

ग्रेटर नोयडास्थित गल्गोटियाज विश्वविद्यालयले चिनियाँ रोबोटलाई आफ्नै आविष्कार बताएपछि विवाद उत्पन्न हुनुका साथै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । यही घटनाका कारण बुधबार विश्वविद्यालयले सम्मेलनमा रहेको आफ्नो स्टल नै खाली गर्नुपर्ने स्थिति आयो ।

फाल्गुन ७, २०८२

सजना बराल

Controversy over Chinese robots at India's AI conference

What you should know

काठमाडौँ — भारतको नयाँदिल्लीमा जारी ‘इन्डिया एआई इम्प्याक्ट सम्मिट–२०२६’ मा चिनियाँ रोबोट र निर्माता कम्पनीको चर्चा भएको छ । भारत सरकारले कैयौं चिनियाँ प्रविधि र एपमाथि प्रतिबन्ध लगाइरहेका बेला यत्रो ठूलो एआई सम्मेलनमा चिनियाँ उत्पादनलाई स्वदेशी भन्दै प्रदर्शन गरिएपछि धेरैले आलोचना गरेका छन् । 

ग्रेटर नोयडास्थित गल्गोटियाज विश्वविद्यालयले चिनियाँ रोबोटलाई आफ्नै आविष्कार बताएपछि विवाद उत्पन्न हुनुका साथै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । यही घटनाका कारण बुधबार विश्वविद्यालयले सम्मेलनमा रहेको आफ्नो स्टल नै खाली गर्नुपर्ने स्थिति आयो ।

अलजजिराका अनुसार गल्गोटियाज विश्वविद्यालयकी प्राध्यापक नेहा सिंहले डीडी न्युजलाई दिएको अन्तर्वार्तामा उक्त रोबो डगलाई ‘ओरियन’ नाम दिँदै विश्वविद्यालयको सेन्टर अफ एक्सिलेन्सले विकास गरेको दाबी गरेकी थिइन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तुरुन्तै त्यो रोबोट चीनको चर्चित युनिट्री रोबोटिक्स कम्पनीले बनाएको ‘युनिट्री गो टु’ मोडेल भएको उल्लेख गरेका थिए । यो विवादपछि भारतका विद्युतीय एवं सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेको उक्त भिडियो पनि हटाए । 

विश्वविद्यालयका रजिस्ट्रार नितिनकुमार गौरले एएनआईसँग कुरा गर्दै ‘डेभलप’ र ‘डेभलपमेन्ट’ भन्ने शब्दहरूको प्रयोगमा झुक्किएका कारण यस्तो अन्योल उत्पन्न भएको स्पष्टीकरण दिएका छन् । उनले उक्त रोबोट विद्यार्थीहरूको अध्ययन–अनुसन्धानका लागि खरिद गरिएको र विश्वविद्यालयले आविष्कार नगरेको प्रस्ट पारेका छन् । प्राध्यापक सिंहले पनि अर्थको अनर्थ लगाइएको र आफूले बोल्दा सानो त्रुटि भएको बताइएकी छन् । भारतीय राष्ट्रिय कंग्रेसले भने यस घटनालाई लिएर सरकारको आलोचना गरेको छ । यसले विश्वस्तरमा देशको प्रतिष्ठामा आँच पुर्‍याएको कंग्रेसको टिप्पणी छ । 

बुधबार दिनभर गल्गोटियाज र चिनियाँ रोबोटले माहोल तताए पनि एआई सम्मेलनमा भाग लिन गुगलका प्रमुख सुन्दर पिचाइ, माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा भातर आइपुगे । बुधबार नै डिजिटल पहिचान प्रणाली आधार कार्डमा एआई समावेश गर्दाका फाइदा र त्यसले निम्त्याउन सक्ने डिपफेक तथा गोपनीयता जोखिमबारे गम्भीर छलफल भएको थियो । 

भारतीय सेनाले ‘एआई एक्जामिनर’ लगायत स्वदेशी प्रविधिहरू प्रदर्शन गर्‍यो भने सैन्य उपकरणहरूको मर्मत एवं सञ्चालनमा एआईको भूमिकाबारे छलफल भएको थियो । साथै, गुगलले भारतमा एआई पूर्वाधार निर्माणका लागि १५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनायो । अमेरिका र भारतबीच डिजिटल कनेक्टिभिटी बलियो बनाउन ‘अमेरिका–इन्डिया कनेक्ट’ पहल सुरु गरिएको छ । 

यसअघि २० फेब्रुअरीसम्मका लागि तय गरिएको कार्यक्रम अत्यधिक भीड र मानिसहरूको उत्साहलाई मध्यनजर गर्दै भारतले फेब्रुअरी २१ सम्म लम्ब्याउने जनाएको छ । सम्मेलनमा मसिन र हार्डवेयरमा जोडिएका एआई (फिजिकल एआई) को व्यापक चर्चा र प्रदर्शन भइरहेको छ । प्रदर्शनीको दोस्रो र तेस्रो दिन ह्युमनोइड (मानिसजस्तै देखिने) रोबोटले धेरैको ध्यान ताने । बालीमा लागेको रोग पत्ता लगाउने, औषधि छर्किने, प्रेडिक्टिभ मेन्टेनेन्स (मेसिन बिग्रनुअघि नै थाहा पाउने प्रणाली) र कारखानाहरूमा सामान ओसारपसार गर्ने स्वचालित रोबोटहरू प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीको एउटा मुख्य आकर्षण ईवाई इन्डिया नामक संस्थाले बनाएको ‘स्काउट’ नामक रोबोट पनि हो । यो रोबोट खासगरी तेल प्रशोधन केन्द्र र ठूला कारखानाहरूका जोखिमपूर्ण ठाउँमा आफैं घुमफिर गरेर निरीक्षण र निगरानी गर्न बनाइएको हो । प्रख्यात प्रविधि कम्पनी ‘क्वालकम’ले प्रस्तुत गरेको ह्युमनोइड रोबोटिक्स प्लाटफर्ममा एआईमा आधारित ह्युमनोइड प्रणाली र 

एड्भान्स्ड अटोनोमस मोबाइल रोबोट (एएमआर) समावेश छन् । यिनमा ‘र्ड्यागनविङ आईक्यू–१०’ प्रोसेसर छ । 

हाल ह्युमनोइड रोबोटको विश्व बजारमा चीनको वर्चस्व छ । डिजिटल न्युज संस्था ‘रेस्ट अफ वर्ल्ड’ ले ५ फेब्रुअरीमा सार्वजनिक गरेको समाचारअनुसार सन् २०२५ मा बिक्री भएका रोबोटमध्ये झन्डै ९० प्रतिशत चिनियाँ कम्पनीका थिए । ओम्डिया र आईडीसीको तथ्यांकले गत वर्ष विश्वभर १३ हजारदेखि १८ हजार रोबोट बिक्री भएको देखाउँछ । 

नेपालमा रोबोटिक्स

युनिट्रीलगायत चिनियाँ कम्पनीका रोबोट नेपाल पनि आइपुगेका छन् । रोबोटिक्स एसोसिएन अफ नेपाल (र्‍यान), एमएडब्लू वृद्धिलगायतले विभिन्न कार्यक्रमहरूमा ह्युमनोइड र क्वाड्रपेड रोबोट प्रस्तुत गर्ने गरेको छ । र्‍यानले चीनबाट ल्याएको युनिट्रीको ‘साइबर डग’ ले नेपाली गीतमा छमछमी नाच्ने, कार्यक्रम उद्घाटनका बेला पानसमा बत्ती बाल्ने, अभिवादन गर्नेलगायत क्षमता देखाएर अवलोकनकर्ताको ध्यान खिच्ने गरेको छ । भदौमा आयोजित नाडा अटो सोमा एमएडब्लू वृद्धिले दौरा–सुरुवाल लगाएको ह्युमनोइड रोबोट प्रदर्शनका लागि राखेको थियो । 

‘नेपालमा अहिले विशेषगरी मनोरन्जन र शिक्षा क्षेत्रमा रोबोटको माग निकै उच्च छ,’ र्‍यानका अध्यक्ष विकास गुरुङ भन्छन्, ‘कलेजहरूले विद्यार्थीलाई सिकाउन र तालिम दिन यस्ता रोबोट खोजिरहेका छन् भने खेलकुद तथा ठूला कार्यक्रममा पनि यिनको माग बढ्दो छ ।’ उनका अनुसार अन्य रोबोटको तुलनामा चिनियाँ युनिट्री रोबोटहरू सस्तो र किफायती छन् । एउटा रोबोटिक डग नेपाल आइपुग्दा कम्तीमा ४ लाख रुपैयाँसम्म पर्ने उनले बताए ।

नेपालमै यस्ता अत्याधुनिक रोबोट बनाउन तत्काल सम्भव नभएको गुरुङको भनाइ छ । चिनियाँ कम्पनीहरूको जस्तो ल्याब तथा प्रविधि विकास गर्न कम्तीमा ३ देखि ४ वर्ष कडा अनुसन्धान र विकास आवश्यक पर्ने उनी बताउँछन् । नेपाल चेम्बर अफ कमर्सको आईटी सफ्टवेयर निर्यात समिति तथा सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले पनि नेपालको रोबोटिक्स क्षेत्र अहिले प्रारम्भिक चरणमा रहेको उल्लेख गरे । ‘नेपालमा अहिले रोबोटिक्स वा आईओटी उद्योग विकास भइसकेको छैन । विद्यार्थीहरूले बनाएका रोबोट प्रोटोटाइप वा नमुना मात्र हुन्,’ उनले भने ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully