सूर्यविनायक-धुलिखेल सडक विस्तारमा बजेट अभाव

सम्झौता अवधिमा काम नसकिएपछि अहिले ५ मंसिर ०८३ सम्म म्याद थप गरिएको छ ।

फाल्गुन ७, २०८२

विमल खतिवडा

Budget shortfall for Suryabinayak-Dhulikhel road expansion

What you should know

काठमाडौँ — अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारमा बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा मागअनुसार बजेट नपाएपछि काम प्रभावित हुने जोखिम बढेको हो ।

दुई जिल्ला भक्तपुर र काभ्रे जोड्ने सडकको कुल दूरी १५.८ किलोमिटर छ । यही सडक भएर सवारीसाधन बीपी राजमार्ग हुँदै पूर्वी पहाड र तराईका जिल्ला पुग्ने गरेका छन् । 

यो सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । जसमध्ये एउटा खण्ड हो, सूर्यविनायक–साँगा । यो खण्डको दूरी ७.५ किमि छ । उक्त खण्डमा अहिले कालोपत्रका लागि तयारी थालिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए । ‘असारसम्म दुवै खण्डमा कालोपत्र सक्ने योजना छ,’ उनले भने, ‘निर्माणका क्रममा कुनै समस्या नआए र बजेट अभाव नभए लक्ष्यअनुसार काम गर्न केही समस्या छैन ।’ 

उनका अनुसार चालु आर्थिक वर्षका लागि सडकतर्फ ६० करोड र पुल निर्माणतर्फ १० करोड बजेट विनियोजन भएको छ । ‘सडकको बजेट सकिएपछि थप १५ करोड रुपैयाँ मागेर काम गरिरहेका छौं, अहिले कामको गति बढेको छ,’ उनले भने, ‘अझै दुई अर्ब रुपैयाँ चाहिन्छ, बजेटका कारण काम रोकिने अवस्था आउनु भएन ।’

अहिले काम गर्ने सिजन भएकाले धेरै काम चालु आर्थिक वर्षमै सकिने दाबी उनको छ । ‘काम गरेको बिल बन्नेबित्तिकै भुक्तानी दिने रकम छैन, चुनावअघि भुक्तानी दिनु पर्नेछ,’ उनले भने, ‘काम सम्पन्न भएपछि समयमै भुक्तानी दिन पाए निर्माण व्यवसायीले राम्रोसँग काम गर्थे, त्यसैले निर्माणमा बजेट अभाव हुनुभएन ।’ 

सूर्यविनायक–साँगा खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २४ पुस २०७९ मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ छ । यस खण्डको प्रगति ४८ प्रतिशत छ । 

म्याद गत २७ पुसमा सकिएर २९ फागुन ०८३ सम्म थप गरिएको छ । यस खण्डको कामको प्रगति राम्रो भए पनि मुख्य रूपमा बजेटकै समस्या रहेको सडक विभागका महानिर्देशक विजय जैशीले बताए । ‘बजेटका लागि अर्थ मन्त्रालयसँग कुरा भइरहेको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा ३ अर्ब बजेट माग गरिएकामा ७० करोड मात्र विनियोजन हुँदा समस्या भएको हो ।’ उनले अन्य आयोजनामा विनियोजन भएर काम कम भएकाबाट रकमान्तर गरी उपलब्ध गराउने तयारीमा रहेको बताए । 

उक्त सडक आयोजनामा बजेट अभाव हुन नदिइने अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए । ‘आयोजनाबाट थप बजेट माग भएको छ, बजेटका कारण काम रोकिने छैन,’ उनले भने, ‘काम भइरहेका आयोजनामा बजेट अभाव हुन दिने छैनौं ।’ उनले कामको गति नरोकी अघि बढाउन आयोजनालाई आग्रह पनि गरे ।

Budget shortfall for Suryabinayak-Dhulikhel road expansion

त्यस्तै काम भइरहेको अर्को खण्ड हो, साँगा–धुलिखेल । यस खण्डको दूरी ८.३ किमि र निर्माण प्रगति ६५ प्रतिशत छ । साढे दुई किमि सडक कालोपत्र भइसकेको छ । दुई किमि ६ लेन सडक कालोपत्र भएको आयोजनाले जनायो । यस खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २७ मंसिर २०७९ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । म्याद गत २७ मंसिरमा सकिसकेको र अहिले २३ मंसिर ०८३ सम्म थप गरिएको छ । ‘बजेट अभाव नभए कामको प्रगति राम्रैसँग बढ्दै जान्छ,’ आयोजनाका इन्जिनियर खनालले भने । 

यस सडक खण्डमा पर्ने तीन वटा पुलको भने छुट्टै ठेक्का गरिएको छ । पुलको ठेक्का हिमदुङ एन्ड थोकर–रामजानकी जेभीले लिएका छन् । सडक निर्माण आधाभन्दा बढी सकिँदा पुल निर्माणले भने अझै गति लिन सकेको छैन । तीनवटा पुलको एउटै प्याकेजमा ठेक्का गरिएको आयोजनाले जनायो ।

दुईवटा पुलको निर्माण नै सुरु भएको छैन । एउटा पुलको मात्र काम भइरहेको छ । ठेक्का डिजाइन एन्ड बिल्ड प्रविधिमा भएको हो । ६ चैत २०७९ मा गरिएको सम्झौताअनुसार ५ असोज २०८२ भित्र पुल निर्माण सकिसक्नुपर्ने हो । भ्याटसहित तीनवटा पुलको ठेक्का रकम ५७ करोड ५० लाख रुपैयाँ छ । 

सम्झौता अवधिमा काम नसकिएपछि अहिले ५ मंसिर ०८३ सम्म म्याद थप गरिएको छ । जगाती पुल भक्तपुर र पुण्यमाता तथा महादेव खोला पुल काभ्रेमा पर्छन् । महादेव खोला पुलमा काम भइरहेको र निर्माण प्रगति १० प्रतिशत छ । पुण्यमाता र जगाती पुलको सुरुको डिजाइनमा पुनर्विचार गरेर बल्ल निर्माण थाल्ने सुरसार गरिँदै छ । ‘दुवै पुलको निर्माणका लागि क्याम्प खडा गरी सकिएको छ,’ इन्जिनियर खनालले भने, ‘धेरै लामा पुल होइनन्, निर्माण सुरु भएपछि सकिन धेरै समय लाग्ने छैन ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully