नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आ–आफ्ना घोषणापत्र तथा प्रतिबद्धतापत्रमार्फत पर्यटनलाई रोजगारी, विदेशी मुद्रा आर्जन र दिगो विकाससँग जोड्ने रणनीति सार्वजनिक गरेका छन् ।
What you should know
काठमाडौँ — फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख चार राजनीतिक दलले पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा अघि सारेका छन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आ–आफ्ना घोषणापत्र तथा प्रतिबद्धतापत्रमार्फत पर्यटनलाई रोजगारी, विदेशी मुद्रा आर्जन र दिगो विकाससँग जोड्ने रणनीति सार्वजनिक गरेका छन् ।
कांग्रेसले आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘आरोग्य नेपाल’ अभियान अघि सारेको छ । एमालेले पाँच वर्षभित्र पर्यटक आगमन दोब्बर बनाउने घोषणा गर्दै ‘गन्तव्य नेपाल’ अभियानमार्फत अन्तर्राष्ट्रिय बजारमा आक्रामक ब्रान्डिङ गर्ने योजना प्रस्तुत गरेको छ ।
नेकपाले आकर्षक, सुरक्षित र पहुचयोग्य गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्ने लक्ष्य राख्दै दिगो तथा पर्यावरणमैत्री पर्यटनलाई प्राथमिकता दिएको छ । रास्वपाले डिजिटल प्रणाली र अन्तर्राष्ट्रियस्तरको पूर्वाधार विकासमार्फत प्रतिस्पर्धी पर्यटन अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
चारै दलले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई उच्च प्राथमिकता दिएका छन् । पशुपती, लुम्बिनी, जनकपुर, मुक्तिनाथ,पाथिभरा, खप्तड लगायतका क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । कांग्रेस र एमालेले योग, ध्यान, आयुर्वेद र वेलनेस पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेका छन् भने नेकपाले जडीबुटी तथा स्वास्थ्य पर्यटनलाई नया उत्पादनका रूपमा विकास गर्ने बताएको छ । हवाई सेवा सुधार चारै दलको साझा एजेन्डा बनेका छन् । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने तथा युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउने पहल गर्ने विषय घोषणापत्रमा समेटिएका छन् ।
रास्वपाले नियामक निकायलाई सेवा प्रदायकबाट अलग गरी नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार गर्ने योजना अघि सारेको छ भने नेकपाले नेपाल एयरलाइन्स तथा निजी एयरलाइन्सको प्राविधिक स्तरोन्नति गर्ने उल्लेख गरेको छ । एमालेले भिसा प्रक्रिया सहज बनाउने र आन्तरिक उडानलाई सुरक्षित तथा प्रतिस्पर्धी बनाउने नीति अछि सारेको छ । डिजिटल पर्यटन प्रणाली विकासमा पनि दलहरूबीच समान दृष्टिकोण देखिएको छ ।
नेकपाले ‘डिजिटल टुरिज्म ड्यासबोर्ड’ र एकल डिजिटल पोर्टलमार्फत भिसा, ट्रेकिङ परमिट र शुल्क सेवा उपलब्ध गराउने योजना ल्याएको छ । रास्वपाले एयरपोर्टदेखि होटल र होमस्टेसम्मलाई एउटै डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने नीति अघि सारेको छ । कांग्रेसले बहुभाषिक डिजिटल प्लेटफर्म र एआई–आधारित सेवा प्रणाली विकास गर्ने बताएको छ ।
हिमाल संरक्षण, ‘सफा हिमाल’ अभियान, हरित प्रमाणीकरण र सिंगल–यूज प्लास्टिक निषेध जस्ता कार्यक्रमहरू पनि घोषणापत्रमा समेटिएका छन्। रोजगारी सिर्जना, स्थानीय उद्यम प्रवर्द्धन र सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत पर्यटन पूर्वाधार विकास गर्ने साझा नीति चारै दलले अघि सारेका छन् । युवा र महिलालाई लक्षित तालिम, कर छुट तथा सहुलियत ऋण कार्यक्रमसमेत प्रस्तावित छन् ।
घोषणापत्रहरूमा रणनीतिक फरक भए पनि नेपाललाई सुरक्षित, दिगो, डिजिटल र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी पर्यटन गन्तव्य बनाउने साझा लक्ष्य देखिन्छ । निर्वाचनपछि कुन दलले सरकार गठन गर्छ भन्ने कुराले यी महत्वाकांक्षी योजनाको कार्यान्वयन गति निर्धारण गर्ने छ । फागुन २१ को निर्वाचनसंगै पर्यटन क्षेत्र आगामी सरकारको मुख्य नीति प्राथमिकतामा पर्ने संकेत राजनीतिक दलहरूको घोषणापत्रले दिएको छ ।
