पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि भारतसँग हवाइ रुट र चीनसँग ऋण पुनर्संरचनामा आक्रामक कूटनीति आवश्यक रहेको विज्ञको भनाइ
What you should know
पोखरा — पाँच दशक लामो पोखरेलीको सपना र करिब २८ अर्ब रुपैयाँको चिनियाँ ऋण लगानीमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तीन वर्ष पुग्दा पनि अन्तर्राष्ट्रिय उडानका लागि ‘अघोषित नाकाबन्दी’ जस्तै अवस्थामा छ ।
आन्तरिक उडानमा उत्साहजनक प्रगति देखिए पनि प्राविधिक त्रुटि, भ्रष्टाचारको मुद्दा र भारत–चीनबीचको सामरिक खिचातानीका कारण यो गौरवको आयोजना अहिले वित्तीय र कूटनीतिक चक्रव्यूहमा फसेको छ ।
सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) द्वारा मंगलबार पोखरामा आयोजित ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः वर्तमान अवस्था र भविष्यको मार्गचित्र’ विषयक अन्तरक्रियामा सहभागी विज्ञले यसलाई ‘सेतो हात्ती’ हुनबाट जोगाउन कूटनीतिक पहल र ऋणको पुनर्संरचना नै अन्तिम विकल्प भएको निष्कर्ष निकालेका छन् ।
सेसिफका कार्यकारी अध्यक्ष एवं कूटनीतिज्ञ विजयकान्त कर्णले विमानस्थलको वर्तमान अवस्थालाई नेपालको कमजोर पूर्वाधार सुशासन र नीतिगत विचलनको ज्वलन्त उदाहरणका रूपमा चित्रण गरे । ‘नेपालको समग्र पूर्वाधार सुशासन हाल गम्भीर संरचनात्मक संकटबाट गुज्रिरहेको छ,’ उनले भने, ‘पोखरा विमानस्थल नेपालको उड्डयन क्षेत्रमा गम्भीर वित्तीय संकटको प्रतीक बनेको छ । चिनियाँ एक्जिम बैंकबाट लिइएको २ सय १६ मिलियन डलर ऋणको वार्षिक ३.२४ मिलियन डलर ब्याज तिर्नै पर्ने भारले हाम्रो सार्वजनिक वित्त व्यवस्थापनलाई चुनौती दिएको छ ।’
उनले न्यूयोर्क टाइम्सको खोजमूलक प्रतिवेदन र संसदीय उपसमितिको तथ्यलाई उद्धृत गर्दै थपे, ‘ठेकेदार कम्पनीले नाफा बढाउन प्राविधिक मापदण्ड मिचेको र धावनमार्गको उचाइ घटाएको कारण अहिले जहाजहरूले ‘लोड पेनाल्टी’ भोग्नुपरेको छ । १४ अर्बको भ्रष्टाचार प्रकरणमा ५५ जनाविरुद्ध मुद्दा चल्नुले केही आशा जगाए पनि विमानस्थललाई चलायमान बनाउन चिनियाँ ऋणलाई अनुदानमा परिणत गर्न कूटनीतिक पहल अनिवार्य छ ।’
अनुसन्धाता सुरंगना राज्यलक्ष्मी राणाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार विमानस्थल निर्माणमा सम्झौताविपरीत धावनमार्गको उचाइ ४१ फिट घटाएर ठेकेदार कम्पनी सिएमसीलाई ८.०६ मिलियन डलर अवैध लाभ पुर्याइएको छ । यसकै कारण ठूला र मध्यम दूरीका विमानले पूर्ण क्षमतामा उडान भर्न नसक्ने प्राविधिक जटिलता थपिएको छ ।
अख्तियारले यस आयोजनामा भएको अनियमिततालाई लिएर ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहितलाई विशेष अदालतमा उभ्याइसकेको छ । यो कानुनी प्रक्रियाले नीतिगत भ्रष्टाचारको पाटो उजागर गरे पनि विमानस्थलको व्यावसायिक भविष्य भने अझै अन्योलमै छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरा विमानस्थल चिनियाँ ‘बीआरआई’ परियोजनामा पर्ने कि नपर्ने भन्ने विवाद र भारतले नयाँ हवाई रुट दिन अस्वीकार गर्नुले पोखरा मारमा परेको बताए । ‘चीनका जहाज किनेकै कारण युरोपियन युनियनको कालोसूचीमा परेको १४ वर्ष भइसक्यो, जसले हाम्रो उड्डयन क्षेत्रलाई थला पारेको छ,’ उनले भने । संरक्षणकर्मी हेमन्त ढकालले विमानस्थल क्षेत्रमा चराको जोखिम अझै कायमै रहेको र फोहोर व्यवस्थापनमा हेलचेक्र्याइँ गर्दा सुरक्षा चुनौती थपिएको औंल्याए ।
विज्ञहरूले विमानस्थललाई ‘सेतो हात्ती’ को संज्ञा दिइएको प्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतिवाद गरे । उनले विमानस्थललाई असफल भन्नु पोखरेलीको ५० वर्षको संघर्षको अपमान भएको दाबी गरे । ‘राति ११ बजेसम्म जहाज चल्ने, वार्षिक १० लाखभन्दा बढी यात्रुले सेवा लिने यो विमानस्थल कसरी भूतको विमानस्थल भयो ?,’ उनले प्रश्न गरे, ‘काठमाडौं पछिको सबैभन्दा व्यस्त विमानस्थललाई कुन आधारमा असफल भनियो ? के पोखरा सधैं काठमाडौंले हेप्ने ठाउँ हो ?’ उनले भ्रष्टाचार गर्नेलाई कारबाही हुनुपर्नेमा जोड दिँदै कूटनीतिक पहल मार्फत दिल्ली, देहरादुन र लखनउबाट सिधा उडान सुरु गर्न सरकारसँग माग गरे ।
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराम लामिछानेले १३ वर्षको ऋण भुक्तानी अवधिलाई बढाएर २५ वर्ष पुर्याउनुपर्ने सुझाव दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सरकारले चीनसँग ऋणलाई अनुदानमा बदल्न उच्चस्तरीय संवाद गर्नुपर्ने र नागरिक स्तरबाट दबाब दिन ‘नागरिक समिति’ बनाउनुपर्ने प्रस्ताव गरे ।
कार्यक्रममा बोल्ने वक्ताले पोखरालाई केवल भौतिक संरचनामा मात्र सीमित नगरी यसलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न भारतसँग हवाई रुट र चीनसँग ऋण व्यवस्थापनका लागि सरकारले आक्रामक कूटनीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
