नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमको बैठकमा मंगलबार बोल्ने वक्ताहरूले नवप्रवर्तनशील उद्यमका लागि तालिम, प्राविधिक सहयोग र इन्क्युबेसन सेवाहरूलाई अझ प्रभावकारी बनाइँदै लैजानु पर्नेमा जोड दिएका हुन् ।
What you should know
काठमाडौँ — नेपालमा स्टार्टअप तथा इनोभेसन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहकार्यलाई तीव्र बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमको बैठकमा मंगलबार बोल्ने वक्ताहरूले नवप्रवर्तनशील उद्यमका लागि तालिम, प्राविधिक सहयोग र इन्क्युबेसन सेवाहरूलाई अझ प्रभावकारी बनाइँदै लैजानु पर्नेमा जोड दिएका हुन् ।
बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति तथा वित्तीय पहुाच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ हुन नसक्ने बताए । यसका लागि निजी क्षेत्र–सरकार सहकार्य बढाउनुपर्नेमा उनको जोड थियो । स्टार्टअपहरूलाई बजार पहुँच, मेन्टरसिप र नियामकीय स्पष्टता उपलब्ध गराउन महासंघ सक्रिय रहने उनले बताए । नवप्रवर्तनशील उद्यमका लागि तालिम, प्राविधिक सहयोग र इन्क्युबेसन सेवाहरूलाई अझ प्रभावकारी बनाइँदै लैजानु पर्नेमा उनको जोड थियो ।
महासंघका उपाध्यक्ष हेमराज ढकालले स्टार्टअप तथा इनोभेसन उद्यमलाई प्रोत्साहन गर्न कर तथा लगानीसम्बन्धी नीतिगत सहजीकरण आवश्यक रहेको उल्लेख गरे । महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला तथा युवा उद्यमशीलतालाई स्टार्टअप नीतिको केन्द्रमा राख्नुपर्ने बताउँदै समावेशी उद्यम वातावरण निर्माणका लागि क्षमता अभिवृद्धि र नेटवर्किङ कार्यक्रम विस्तार गर्नुपर्ने बताइन् ।
महासंघका कोषाध्यक्ष भरतराज आचार्यले महासंघअन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमलाई कमिटीमा रूपान्तरण गर्नु पर्नेमा जोड दिँदै यसको विस्तारका लागि संस्थागत मापदण्ड विकास आवश्यक रहेको बताए ।
बैठकमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार गुप्ताले स्टार्टअप तथा इनोभेसनका क्षेत्रमा नीतिगत सुधारहरू भएको उल्लेख गरे । उद्यम विकासका सरकारी कार्यक्रमहरु निजी क्षेत्रको सहकार्यमा अगाडि बढाइने उनले जानकारी दिए ।
फोरमका सभापति जुना माथेमाले फोरमका गतिविधि, साझेदारी विस्तार, स्टार्टअप सोकेस तथा नीतिगत संवाद कार्यक्रमबारे जानकारी दिँदै आगामी दिनमा उद्यमी–लगानीकर्ता प्लेटफर्म सुदृढ गर्दै जानु पर्नेमा जोड दिएकी थिइन ।
