चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ५२४ वटा उद्योगमा ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।
काठमाडौँ — चालु आर्थिक वर्षको माघ महिनामा मात्रै १ अर्ब ४ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागले साार्वजनिक गरेको मासिक तथ्यांक अनुसार माघमा ४९ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो ।
स्वचालितमार्गबाट ३७ उद्योगमा ४४ करोड ९ लाख ५० हजार रुपैयाँ र अप्रुभल रुटबाट १२ वटा उद्योगमा ६० करोड ६२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ५२४ वटा उद्योगमा ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको ७ महिनामा ८ वटा ठूला उद्योग, ८ वटा मझौला उद्योग र ५०७ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको हो ।गत पुसको तुलनामा माघमा लगानी प्रतिबद्धता बढेको छ । पुसमा ५९ करोड ९५ लाख रुपैयाँ मात्रै प्रतिबद्धता आएकोमा माघमा १ अर्ब रुपैयाँको आएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा ८ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ४८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको थियो ।
