‘इन्डिया एआई इम्प्याक्ट समिट’का लागि विश्वकै ठूला प्रविधि कम्पनी प्रमुखहरू दिल्लीमा

पाँच दिनसम्म चल्ने सम्मेलनमा प्रदर्शनी कक्ष, पुरस्कार वितरण र शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा एआई प्रयोगसम्बन्धी सत्रहरू समावेश छन् ।

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

World's largest tech company leaders gather in Delhi for 'India AI Impact Summit'

What you should know

काठमाडौँ — सोमबारदेखि भारतको नयाँ दिल्लीमा सुरु हुन लागेको ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ का लागि अल्फाबेट (गुगल)का प्रमुख सुन्दर पिचाई, ओपनएआईका प्रमुख साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईसहित विश्वका अग्रणी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू नयाँ दिल्लीमा भेला हुँदै छन् ।

यसले भारतलगायत ठूलो जनसंख्या भएको दक्षिण एसियाली आर्टिफिसियल इन्टेलिजेन्स र प्रविधि  बजारप्रति बढ्दो आकर्षणलाई उजागर गरेको सीएनबीसीले जनाएको छ ।

फेब्रुअरी २० सम्म भारत मण्डपममा सञ्चालन हुने सो सम्मेलनमा ४० भन्दा बढी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत र २० राष्ट्रप्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने यस सम्मेलनका क्रममा एआई साझेदारी र पूर्वाधार सम्झौतामार्फत करिब १०० अर्ब अमेरिकी डलरसम्मका सम्भावित लगानी प्रतिबद्धता जुट्ने अनुमान गरिएको छ । साथै, सम्मेलनका विभिन्न सत्रहरूमा ६० भन्दा बढी देशका प्रतिनिधिहरूले एआई सुशासन, नवप्रवर्तन र विकास प्राथमिकताबारे छलफल गर्ने जनाइएको छ ।

भारत सरकारले यस कार्यक्रमलाई ‘ग्लोबल एआई कमन्स’ अर्थात् उदीयमान अर्थतन्त्र तथा ‘ग्लोबल साउथ’ का देशहरूलाई लक्षित गर्दै साझा डेटा, मापदण्ड र प्रयोगका क्षेत्र विस्तार गर्ने पहल निर्माण गर्ने प्लाटफर्मका रूपमा प्रस्तुत गरेको छ । कार्यक्रमममा विश्वकै सबैभन्दा धेरै बजार मूल्य भएको कम्पनी एनभिडियाका सीईओ जेन्सन ह्वाङ पनि सहभागी हुने अपेक्षा गरिएको थियो । तर, कम्पनीले अप्रत्याशित कारण देखाउँदै उनी भारत नआउने पुष्टि गरेको छ ।

यद्यपि, एनभिडियाको प्रतिनिधित्व वरिष्ठ अधिकारीले गर्ने तय भएको छ । सोही सम्मेलनमा फ्रान्सका राष्ट्रपति इम्म्यानुएल म्याक्रोँ, ब्राजिलका राष्ट्रपति लुला डे सिल्भा, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँगै स्विजरल्यान्ड, इस्टोनिया, स्लोभाकिया, सर्बिया, फिनल्यान्ड, क्रोएसिया, ग्रीस, भुटान, श्रीलंकाका प्रधानमन्त्रीहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ। 

यो सम्मेलन यस्तो समयमा भइरहेको छ जतिबेला सिलिकन भ्यालीका ठूला कम्पनीहरूले भारतको तीव्र गतिमा विस्तार भइरहेको एआई र प्रविधि बजारमा आफ्नो सक्रियता तीव्र बनाइरहेका छन् । माइक्रोसफ्टले हालै २३ अर्ब अमेरिकी डलरको नयाँ एआई लगानी घोषणा गरेको छ । त्यसमा भारत मुख्य केन्द्रका रूपमा रहेको बताइएको छ । यो कदम क्षेत्रीय क्लाउड तथा एआई पूर्वाधार विस्तार गर्ने व्यापक योजनाको हिस्सा रहेको रोयटर्सले जनाएको छ। 

अल्फाबेटको गुगलले पनि दक्षिण भारतमा ठूलो एआई डेटा सेन्टरू निर्माणका लागि १५ अर्ब अमेरिकी डलरको प्रतिबद्धता गरेको छ । अन्य अमेरिकी क्लाउड तथा एआई सेवा प्रदायकहरूले समेत स्थानीय साझेदारीलाई तीव्र बनाइरहेका छन् । ओपनएआई प्रमुख अल्टम्यानले गत वर्ष दिल्लीमा आफ्नो पहिलो भारत कार्यालय स्थापना गरेपछि भारतलाई सम्भावित ‘फुल-स्ट्याक एआई लिडर’ का रूपमा चित्रण गरेका थिए । उनका अनुसार त्यसयता भारत ओपनएआईका विश्वव्यापी प्रयोगकर्तामध्ये सबैभन्दा ठूला बजारमध्ये एक बनिसकेको छ ।

भारतकै स्टार्टअप र स्थानीय नवप्रवर्तकहरूका लागि समेत अवसर विस्तार भइरहेको छ । बेङ्गलुरुदेखि हैदराबादसम्मका भारतीय कम्पनीहरूले एआईमा आधारित उत्पादन र सेवा विकास गरिरहेका छन् । उद्योग सर्वेक्षणअनुसार भारतका अधिकांश स्टार्टअपहरूले मसिन लर्निङ र जेनेरेटिभ एआईजस्ता उन्नत प्रविधिमा लगानी बढाएका छन् । सरकारी प्रोत्साहन नीतिले पनि यो प्रवृत्तिलाई बल दिएको छ । स्थानीय डेटा सेन्टर प्रयोग गर्ने विदेशी कम्पनीहरूलाई २० वर्षसम्म कर छुट दिने नयाँ नीति ल्याइएको छ । उच्च कम्प्युटिङ क्षमता आवश्यक पर्ने सञ्चालनहरू भारतमै स्थापना गर्न कम्पनीहरूलाई आकर्षित गर्ने उद्देश्य यसमा रहेको छ ।

पाँच दिनसम्म चल्ने सम्मेलनमा प्रदर्शनी कक्ष, पुरस्कार वितरण र शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा एआई प्रयोगसम्बन्धी सत्रहरू समावेश छन् । नयाँ दिल्लीले यसलाई विश्व एआई नीति निर्माण र व्यावसायिक अवसर दुवैमा आफ्नो प्रभाव विस्तार गर्ने निर्णायक क्षणका रूपमा प्रस्तुत गरेको छ ।

कान्तिपुर

Link copied successfully