‘बैंकिङ प्रणालीमा तरलता अभाव र आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित भएको छ, जसले गर्दा बचतकर्तालाई समयमै रकम फिर्ता गर्न कठिनाइ भएको छ,’ दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिमा भनिएको छ ।
What you should know
काठमाडौँ — आर्थिक मन्दीका कारण सहकारी संस्थाको ऋण असुली प्रभावित भएकाले बचतकर्तालाई समयमै पैसा फिर्ता गर्न कठिनाइ भएको दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिले औंल्याएको छ । लामो समयदेखि सहकारीका बचतकर्ताले पैसा फिर्ता पाउन नसकिरहेका बेला दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिले पनि सहकारीबाट प्रवाह भएको ऋण असुली नहुँदा बचतकर्तालाई समयमै पैसा फिर्ता दिन नसकेको बताएको हो ।
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको वित्तीय क्षेत्र विकास रणनीति (आर्थिक वर्ष २०८२/८३–२०८६/८७) मा सहकारीका बचतकर्ताको पैसा फिर्ता हुन नसक्नुमा बैंकिङ प्रणालीमा तरलता अभाव, आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित भएको, जसले गर्दा बचतकर्तालाई समयमै रकम फिर्ता गर्न कठिनाइ भएको उल्लेख छ । यद्यपि पछिल्ला तीन वर्षयता वित्तीय प्रणालीमा तरलता थुप्रिएको छ ।
तरलता व्यवस्थापनकै लागि राष्ट्र बैंकले सातामा दुई दिन आइतबार र बुधबार निरन्तर बजारबाट पैसा झिकिरहेको छ । छोटो समयका लागि पैसा झिक्दा तरलता नघटेपछि एकवर्षे राष्ट्र बैंक ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ झिकेको छ । तर, राष्ट्रको दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिमा वित्तीय क्षेत्रमा तरलता अभाव रहेको उल्लेख छ ।
‘बैंकिङ प्रणालीमा तरलता अभाव र आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित भएको छ, जसले गर्दा बचतकर्तालाई समयमै रकम फिर्ता गर्न कठिनाइ भएको छ,’ दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिमा भनिएको छ ।
रणनीतिले सहकारीका सिद्धान्तहरू परिपालन नहुनु र व्यवस्थापनमा सीमित स्वार्थ समूहको प्रभावले गर्दा सुशासनको गम्भीर समस्या देखिएको भनेको छ । ‘बचत तथा ऋण सहकारीहरूले खराब कर्जाको यथार्थ विवरण नदेखाउने र कर्जा नोक्सानीका लागि पर्याप्त कोष व्यवस्था नगर्दा वित्तीय जोखिम बढेको छ,’ रणनीतिमा भनिएको छ, ‘संघीय प्रणालीमा नियामक निकायहरू तीन तहमा विभाजित हुँदा एकीकृत तथ्यांक प्राप्त गर्न र प्रभावकारी नियमन गर्न कठिनाइ भएको छ ।’ सहकारी क्षेत्रका लागि ऋण असुली न्यायाधिकरण गठन भइसकेको छ ।
न्यायाधिकरणले काम सुरु गरिरहे पनि रकम फिर्ता भइनसकेको सहकारी ऋण असुली न्यायाधिकरणका अध्यक्ष कीर्तिबहादुर बस्नेतले बताए । ‘अहिलेसम्म २ सय ३८ वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये अहिलेसम्म ७ वटा मात्र फर्छ्योट भएका छन् । दुई वटा सानोसानो रकमको मेलमिलाप पनि भएको छ । मेलमिलाप भएकोबाट २/३ लाख मात्र असुलउपर भएको छ,’ बस्नेतले भने, ‘अरू असुलउपर हुनुभन्दा अघि पुनरावलोकन गर्ने म्याद पर्खेर बसिरहेको छ । म्याद सकिएपछि प्रक्रियामा जान्छ ।’
पर्याप्त धितो रहेको ऋणमा असुलीमा समस्या नभए पनि धितो नभएको हकमा कसरी असुलीउपर गर्ने भन्ने समस्या रहेको बस्नेतले जनाए । ‘कार्यान्वयनको चरण रहेका मुद्दामा धितो दोहोरो रोक्का देखिएको छ । पहिले बैंक वित्तीय संस्था र फेरि सहकारी गरी दोहोरो रोक्का भएको अवस्था छ,’ उनले भने, ‘तर, धितो भएको हकमा असुलीमा समस्या नहोला ।’ गत असारदेखि सहकारी ऋण असुली न्यायाधिकरणले काम सुरु गरेको हो । जसमा छठसम्म ५ वटा मात्र मुद्दा दर्ता भएको र त्यसपछि मात्र अरू मुद्दा दर्ता भएका छन् । ती मुद्दाहरूको अंक पुग्दै र पेसी चढ्ने क्रममा रहेको उनले जनाए ।
सहकारी ऐनमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन सकेको छैन । ‘सहकारी संस्थालाई कर्जा सूचना केन्द्रमा आबद्धताको विषयबारे ऐनमा व्यवस्था छ । विस्तृत नियमावली र कार्यविधिहरू निर्माणकै क्रममा भएकाले ठोस परिमाण प्राप्त हुन सकेन,’ रणनीतिमा भनिएको छ ।
पुस २०८१ मा जारी सहकारीसम्बन्धी अध्यादेश (हालको सहकारी ऐन) मा समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यले जम्मा गरेको पाँच लाख रुपैयाँसम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्ने भनिएको थियो । जसमा सदस्यले जम्मा गरेको पाँच लाख रुपैयाँभन्दा बढी बचतको हकमा सम्बन्धित संस्थाले एकै पटक भुक्तानी गर्ने अवस्था नभए मापदण्ड बनाई सदस्यको बचत रकम आनुपातिक रूपमा भुक्तानी गर्ने तयारी थियो । तर त्यो व्यवस्था अझै कार्यान्वयन हुन सकेको छैन ।
सोही ऐनको व्यवस्थाअनुसार राष्ट्रिय सहकारी नियमन प्राधिकरण पनि स्थापना भइसकेको छ । प्राधिकरणले अहिले सहकारी दर्ताका लागि आह्वान गरिरहेको छ । तर, सहकारीका बचतकर्ताले पैसा फिर्ता पाउन सकेका छैनन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले केही सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिएको छ । तर, ऐनको व्यवस्था र अघिल्ला सरकारले अघि सारेको योजनाअनुसार पाँच लाखभन्दा थोरी बचत गर्ने बचतकर्ताले पैसा पाउन सकेका छैनन् ।
‘बचतकर्ताको रकम फिर्ता गर्ने प्रयोजनका लागि सहकारी संस्था वा सहकारी ऐनको दफा १०५ बमोजिमको व्यवस्थापन समितिले त्यस्तो संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गर्ने सक्नेछ,’ सहकारी ऐनमा भनिएको थियो, ‘सहकारीले ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गर्नुअघि सम्बन्धित ऋणीलाई सहकारी संस्थाको ऋण चुक्ता गर्न समय दिई सो अवधिभित्र ऋण चुक्ता नगरेमा त्यस्तो धितो सुरक्षण लिलाम बढाबढ गरी बिक्री गर्नुपर्नेछ ।’ त्यस्तो धितो सुरक्षण बिक्री गर्दा ऋणीले तिर्नुपर्ने रकमभन्दा बढी रकम प्राप्त हुन आएमा ऋणीको रकम चुक्ता भई बाँकी रहेको रकम त्यस्तो ऋणीलाई फिर्ता दिनुपर्ने व्यवस्था ऐनमा छ ।
