नेप्सेले तोकेको पहिलो कारोबार मूल्यमा रिलायन्सको असहमति

नेप्सेले निर्धारण गरेको १ सयदेखि ३ सय रुपैयाँसम्मको मूल्य सीमाप्रति कम्पनीको ध्यानाकर्षण

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

Reliance disagrees with the first trading price set by Nepse

What you should know

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तोकेको रिलायन्स स्पिनिङ मिल्सको पहिलो कारोबार मूल्यमा कम्पनीले असहमति जनाएको छ । सर्वसाधारणलाई आईपीओ जारी गरेपछि माघ अन्तिम साता रिलायन्स नेप्सेमा सूचीकृत भएको थियो ।

यसअनुसार सोमबारदेखि यो कम्पनीको कारोबार सुरु हुँदै छ । पहिलो कारोबारका लागि नेप्सेले १ सयदेखि ३ सय रुपैयाँसम्म निर्धारण गरेको छ ।

सोही मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ । ‘सेयरको ओपनिङ रेन्ज १ सयदेखि ३ सय रुपैयाँ निर्धारण गरिएको जानकारी प्राप्त भएको छ, जुन अंकित मूल्यको तीन गुणासम्म मात्र हो । यो सीमा यसअघि अन्य कम्पनीहरूको सूचीकरणका क्रममा अवलम्बन गरिएका आधार र अभ्याससमेत विपरीत रहेको कम्पनीको बुझाइ छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल धितोपत्र बोर्डले भने बुक बिल्डिङ विधिसम्बन्धी निर्देशिकाबमोजिम कम्पनीलाई सेयर निष्कासन गर्न यो कम्पनीलाई अनुमति दिएको जनाएको छ । कम्पनीले बुक बिल्डिङ विधि सामान्य विधिभन्दा फरक रहेको हुँदा सेयर सूचीकरणको प्रारम्भिक मूल्य निर्धारणको आधारसमेत फरक हुनुपर्ने ध्यानाकर्षण गराएको थियो । अन्ततः त्यसको सुनुवाइ गरिएन । त्यसपछि कम्पनी सेयर सूचीकरण गर्न बाध्य भयो । 

‘कारोबारको सुरु मूल्य जतिसुकै निर्धारण गरिए तापनि हामी लगानीकर्तालाई कम्पनीको वास्तविक वित्तीय स्थितितर्फ ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

कम्पनीको प्रतिसेयर मूल्य ९ सय १२ काल्पनिक आधारमा नभई विज्ञ वित्तीय संस्थाहरूले कम्पनीको वित्तीय प्रक्षेपण तथा सम्भाव्यतालाई दृष्टिगत गरी तोकेको वास्तविक मूल्य रहेको कम्पनीको दाबी छ । 

नेप्सेले नै योग्य संस्थागत लगानीकर्ताहरूबीच सिलबन्दी बोलपत्रमार्फत ६ सय ८ देखि ९ सय १२ सम्मको सेयर खरिद मूल्य सीमा कायम गरेको कम्पनीको भनाइ छ । 

संस्थागत लगानीकर्ताद्वारा तय मूल्यमा बुक बिल्डिङ निर्देशिकाबमोजिम १० प्रतिशत घटाएर सर्वसाधारण लगानीकर्ताका लागि ८ सय २० रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully