तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारण लाइन परीक्षण आजदेखि

सर्वसाधारणलाई प्रसारण लाइनका टावरमा नचढ्न, तार वा संरचना नछुन तथा घरेलु जनावरलाई त्यहाँ नछोड्न प्राधिकरणले आग्रह गरेको छ ।

फाल्गुन ३, २०८२

सन्तोष महतारा

What you should know

गुल्मी — गुल्मीको तम्घासदेखि बागलुङको बुर्तिबाङकाे विद्युत् प्रसारण लाइन आजदेखि परीक्षण हुँदै छ । नेपाल विद्युत् प्राधिकरणले उक्त १३२ केभीकाे डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याउँदै छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका-७ उनायचौरस्थित तम्घास सबस्टेसनदेखि बागलुङको ढोरपाटन नगरपालिका-२ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत प्रवाहका लागि परीक्षण सुरु गरिएको याेजना प्रमुख मनाेजप्रसाद चाैधरीले बताए ।

यो आयोजना ‘गाेरुसिंगे-सन्धिखर्क-तम्घास-पाैंदीअमराई-बुर्तिबाङ आयोजनाअन्तर्गत रहेको छ । जसमा पर्ने रुट रेसुङ्गा नगरपालिकाका ३, ४, र ५ इस्मा गाउँपालिका-२ र मुसिकोट नगरपालिकाका १, २ र ३ छन् । त्यस्तै बागलुङकाे बडिगाड गाउँपालिकका २, ५, ६ र ७ साथै ढोरपाटन नगरपालिका- २ बुर्तिबाङ रहेका छन् ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई प्रसारण लाइनका टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरि नजान तथा घरेलु जनावरलाई त्यहाँ नछोड्न आग्रह गरेको छ । खतरा संकेत गरिएका विद्युत् संरचनाबाट टाढा रहन र बालबालिकालाई समेत सचेत गराउन अनुरोध गरिएको नेपाल विद्युत् प्राधिकरण यस याेजना प्रमुख चाैधरीले बताए ।

यो आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत आपूर्ति थप सुदृढ हुने अपेक्षा छ । विगत दुई वर्षदेखि १३२ केभीमार्फत अर्घाखाँची र गुल्मीको उनायचौर सबस्टेसनबाट विद्युत् वितरण भइरहेको छ ।

गुल्मीमा बुटवलमा रहेको सबस्टेसनबाट लामो दुरीमा विद्युत् आउँदा विद्युत् आपूर्तिमा समस्या थियो । यो आयोजना सम्पन्न बनेपछि विद्युत् नियमित भइरहेको छ । यस आयोजनाको सम्पूर्ण कामको करिब चार अर्ब लागत छ ।

दुई दिनसम्म परीक्षण गर्ने र त्यसपछि नियमित सञ्चालन हुने याेजना प्रमुख मनाेजप्रसाद चाैधरीले बताए ।

सन्तोष

Link copied successfully