दिनको ४ हजारभन्दा बढी सवारी ओहोरदोहोर गर्ने सडकमा सााघुरा पुलका कारण सबैभन्दा बढी ट्राफिक जाम पुलमै हुने गरेको छ
What you should know
काठमाडौं — असोज २०८१ मा आएको बाढीले क्षति गरेको बीपी राजमार्गमा सडकको काम सुरु भए पनि पुल निर्माणको सुरसार अझै गरिएको छैन । यस खण्डमा सबैभन्दा बढी ट्राफिक जाम पुलमा हुने गरेको छ । दिनको ४ हजारभन्दा बढी सवारी यो सडक भएर ओहोरदोहोर गर्छन् । साँघुरा र सिंगल लेनका पुलका कारण सवारीसाधन वारपार गर्न लाइन लाग्नुपर्ने अवस्था छ । सडक र पुलको ठेक्का एकैसाथ नहुँदा झन् समस्या हुने देखिएको हो ।
पुलको ठेक्काका लागि सडक विभागले तयारी गरेको जनाए पनि चालु आर्थिक वर्षमा काम सुरु नहुने भएको छ । अहिले पुराना पुलबाटै सवारी ओहोरदोहोर गरिरहेकाले सडकसँगै पुल निर्माणको काम नथालिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेले बताए ।
‘पुल निर्माणका लागि सुरुमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई आग्रह गर्छौं,’ उनले भने, ‘जाइकाबाट के जवाफ आउँछ, पुल बनाउने कुरा आए जाइकाबाटै बनाउँछौं, नभए आगामी आर्थिक वर्षको बजेटमा राखेर काम अघि बढाउँछौं ।’ यो वर्ष तयारी सबै सकेर अर्को वर्ष बजेटमा राखेर निर्माणको काम अघि बढाइने उनको भनाइ छ । दाप्चा खोलाको भकुन्डेबेसी, दाप्चा खोला, रोशी खोला र नार्केमा नयाँ पुल बनाउन लागिएको हो ।
‘पुल बनाउनेबारे प्रारम्भिक अध्ययनको काम भइरहेको र यो काम सकिसकेपछि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार गर्छौं,’ न्यौपानेले भने, ‘प्रारम्भिक अध्ययनको काम सकिने चरणमा छ ।’ डीपीआरको काम सकिएपछि कति लागत लाग्ने यकिन हुने उनले सुनाए । ‘अहिले बनाउन लागिएका सबै पुल काभ्रे खण्डमा पर्छन्, ती पुल दुई लेनका बन्नेछन्,’ उनले भने, ‘पुलको ठेक्का भएको दुई वर्षभित्र निर्माणको काम सक्नुपर्नेछ ।’
सडक बनाउँदा पुलका लागि ठाउँ छाडेर बनाइरहेको उनको भनाइ छ । ‘बाढीले बढी क्षति सडकमा गरेको थियो,’ उनले भने, ‘पुलमा त्यस्तो समस्या छैन, त्यही भएर पनि केही ढिलाइ भएको हो, निर्माण थालेपछि तोकिएकै समयमा सकिन्छ ।’ केही खण्डमा पुलको ठेक्का भएर काम भए पनि केहीमा निर्माण प्रगति सन्तोषजनक छैन ।
माम्तीखोला पुल गत असोजको बर्खामा निर्माण नसक्दै चलाइए पनि अहिले पुलमा जोड्ने पहुँच सडकको मात्र काम बाँकी रहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘माम्ती पुल निर्माणका क्रममा भएको कामको भुक्तानीमा समस्या छ । सडक विभागमा बिल पेस भइसकेको छ,’ उनले भने, ‘कालढुंगा पुलको पुरानो ठेक्काको फरफारक गरेर नयाँ ठेक्का गर्न सडक विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिएको छ ।’
सहमति पाएपछि नयाँ ठेक्काका लागि प्रक्रिया थालिने योगेशले बताए । यही राजमार्गमा पर्ने बर्खे खोलामा पुलको ठेक्का भए पनि निर्माणमा प्रगति छैन । यो राजमार्गमा सिंगल लेनका पाँच वटा पुल रहेको र सबैलाई दुई लेनमा स्तरोन्नति गरिने उनको भनाइ छ । पहिला सडक बनाउने विषयलाई प्राथमिकता दिइएको र बजेटअनुसार सडक मात्र बनाउन सक्ने अवस्था भएकाले सुरुमा यसको काम अघि बढाइएको उनले जनाए । ‘आउने बर्खालाई दृष्टिगत गर्दै सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको हो,’ उनले भने ।
राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा बढी क्षति गरेको हो । क्षतिग्रस्त राजमार्गको ३.२ किलोमिटरबाहेक २७.३ किमि खण्डको ठेक्का सम्झौता भई काम थालिएको छ । काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । दुई लेनमा निर्माण भइरहेको राजमार्गको भकुन्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो । दुवै ठेक्काको सम्झौता गत असारमा भएको हो ।
पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग गत कात्तिकमा सम्झौता भएको हो । यस खण्डको ठेक्का रकम ६८ करोड ८० लाख रुपैयाँ छ । जाइकाले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक निर्माण गर्नेछ । जापान सरकारको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा उक्त खण्डमा सडक निर्माण हुन लागेको हो ।
यस खण्डको ठेक्का प्रक्रिया अझै टुंगिसकेको छैन । बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । यसको ठेक्का रकम भ्याटबाहेक ५५ करोड रुपैयाँ छ । सबै खण्डको काम सम्झौता भएका मितिले दुई वर्ष भित्र सक्नुपर्ने सम्बन्धित कार्यालयहरूले जनाएका छन् ।
