५ वर्षमा ७० प्रतिशतले बढ्यो अति धनाढ्यको जनसंख्या

३ करोड अमेरिकी डलर (करिब सवा ४ अर्ब रुपैयाँ) सम्पत्ति भएका व्यक्तिलाई ‘अल्ट्रा हाई नेटवर्थ इन्डिभिजुअल’ को समूहमा राखिन्छ, उनीहरूले निजी जेटलाई ‘ट्याक्सी’ जसरी प्रयोग गर्न थालेपछि यसको माग कोभिडअघिको तुलनामा ३५ प्रतिशतले बढेको छ

फाल्गुन २, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — सिंगापुरमा हालै सम्पन्न ‘हवाईजहाज प्रदर्शनी’ मा गल्फस्ट्रिम एरोस्पेसको ‘जी७००’ नामक विमान धेरैको आकर्षणमा पर्‍यो । अन्य व्यावसायिक र सैन्य जहाजबीच प्रदर्शनमा राखिएको उक्त निजी जेट अत्याधुनिक, सुविधासम्पन्न र विलासी थियो ।

त्यसमा आरामदायी सोफा र टेलिभिजनसहितको बैठक कक्षसँगै सावर (नुहाउने धारा) सहितका सुत्ने कोठा थिए । पछिल्लो समय यस्ता लक्जरी निजी जेटको बजार र बिक्री उल्लेख्य वृद्धि भइरहेको छ । विश्वमा ‘अल्ट्रा हाई रिच’ अर्थात् अति धनाढ्यहरूको संख्या बढेसँगै यस्ता विलासी वस्तुको माग र आकर्षण चुलिएको हो ।

विमान निर्माता कम्पनीहरूले पछिल्लो समय विशेषतः एसियाका अति धनाढ्यहरूलाई लक्ष्य गरेर साढे ५ करोडदेखि ६ करोड डलर (झन्डै ८/९ अर्ब रुपैयाँ) सम्म पर्ने निजी जेट विमान बनाइरहेको विषयमा बीबीसीमा पत्रकार सुरञ्जना तेवारीले भिडियो रिपोर्ट बनाएकी छन् । ‘मानिस यात्रा गर्दा समय र सुविधालाई महत्त्व दिने भएकाले यस्ता विलासी विमानको पनि राम्रो बजार छ,’ उनले भनेकी छन्, ‘पछिल्ला केही वर्षमा निर्माताहरूले एसिया प्रशान्त क्षेत्रका धनाढ्यहरूलाई लक्ष्य गरेर यस्ता विमान बनाइरहेका छन् किनभने यो क्षेत्रमा अर्बपति र खर्बपतिहरूको संख्या बढिरहेको छ ।’

 बीबीसीले उल्लेख गरेअनुसार सन् २०२० देखि २०२५ को बीचमा ३ करोड अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका ‘अल्ट्रा हाई नेटवर्थ’ व्यक्तिहरूको संख्या विश्वभर ७० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यही वृद्धिका कारण विमान निर्माताहरूले ठूलो संख्यामा दिनानुदिन यात्रा गर्ने आम मानिसभन्दा असाध्यै धनी ग्राहकको सानो झुन्डलाई सेवा दिनेतर्फ ध्यान केन्द्रित गर्न थालेका हुन् ।

धनी र प्रभावशालीहरूको तथ्यांक विश्लेषण गर्ने अल्ट्राटा नामक संस्थाको ‘वर्ल्ड अल्ट्रा वेल्थ रिपोर्ट २०२५’ अनुसार ३ करोड अमेरिकी डलरभन्दा बढी कुल सम्पत्ति भएका व्यक्तिको जनसंख्या सन् २०२५ को जुनसम्म ५ लाख १० हजार ८ सय १० पुगेको छ । सन् २०२० मा अति धनाढ्यहरूको संख्या करिब ३ लाख आसपास थियो । सन् २०२४ मा यो संख्या ४ लाख ८४ हजार ५२० थियो । सन् २०२४ मा मात्रै यो समूहको संख्या १२ प्रतिशतले बढेको थियो । 

सम्पत्ति आर्जनको यो गति विशेषगरी प्रविधि क्षेत्रको विकास र सेयर बजारको सकारात्मक प्रभावले सम्भव भएको बजार विश्लेषक बताउँछन् । पछिल्ला वर्षमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल सम्पत्तिमा लगानीकर्ताहरूको बढ्दो उत्साहका कारण धनाढ्यहरूको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । प्रविधिको प्रयोग र द्रुत सहरीकरणले गर्दा नयाँ पुस्ताका उद्यमीहरूले छोटो समयमै ठूलो सम्पत्ति आर्जन गरिरहेका छन् । अन्तर्राष्ट्रियस्तरमा घरजग्गाको मूल्य बढ्नु र पुरानो पुस्ताबाट नयाँ पुस्तामा ठूलो मात्रामा सम्पत्ति हस्तान्तरण हुनु पनि यस वृद्धिको अर्को कारण भएको वर्ल्ड अल्ट्रा वेल्थ रिपोर्टमा विश्लेषण गरिएको छ । 

‘एआईको प्रयोग र क्रिप्टोकरेन्सीसम्बन्धी नियमन खुकुलो हुनेमा लगानीकर्ताहरूको उत्साहले ठूला प्रविधि सेयरहरू र डिजिटल सम्पत्तिहरूको मूल्य बढाएको छ,’ रिपोर्टमा भनिएको छ, ‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा भइरहेको ठूलो मात्राको सम्पत्ति हस्तान्तरण वा ग्रेट वेल्थ ट्रान्सफरले पनि युवा पुस्ताका अति धनाढ्यहरूको संख्या बढाइरहेको छ ।’

यो वृद्धिले विश्वव्यापी रूपमा विलासिताका वस्तु र सेवाहरूको मागमा ठूलो प्रभाव पारिरहेको विभिन्न समाचारमा उल्लेख छन् । सन् २०२४ मा मात्रै यो समूहले विलासी वस्तु र सेवाहरूमा २ सय ९० अर्ब डलर खर्च गरेको अनुमान छ । अर्कोतर्फ, अति धनाढ्यहरूले परोपकारी कार्यमा पनि ठूलो लगानी गरिरहेका छन् । सन् २०२३ मा मात्रै उनीहरूले विभिन्न सामाजिक कार्यका लागि २०७ अर्ब डलर दान दिएको अल्ट्राटाको रिपोर्टमा उल्लेख छ ।

पछिल्लो समय राजनीतिक अस्थिरता र कर नीतिका कारण धनी व्यक्तिहरू सुरक्षित ठाउँ खोज्दै दुबई, सिंगापुर र स्विट्जरल्यान्डजस्ता क्षेत्रमा बसाइँ सर्ने क्रम पनि बढेको छ । क्षेत्रीय रूपमा हेर्दा उत्तर अमेरिका र एसियामा धनाढ्यहरूको संख्या सबैभन्दा छिटो बढिरहेको छ । विश्वका कुल अति धनाढ्यमध्ये ३८ प्रतिशत अमेरिका बस्छन् । न्युयोर्क, लस एन्जलसजस्ता सहर प्रमुख केन्द्र बनेका छन् । 

एसियामा अति धनाढ्यहरूको रोजाइ हङकङ बनेको देखिन्छ । छिमेकी भारतमा पनि यस्ता व्यक्तिहरूको संख्या तीव्र गतिले बढिरहेको विषयमा द इकोनमिक टाइम्सले ‘म्याकेन्सी एन्ड कम्पनी’ को ‘द स्टेट अफ फेसन २०२६’ रिपोर्टलाई उद्धृत गरेर लेखेको छ । रिपोर्टले आगामी ५ वर्षमा भारतको अति धनाढ्य जनसंख्या विश्वमै सबैभन्दा तीव्र गतिमा ५० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । अति धनाढ्यहरूको संख्या बढेसँगै भारतको विलासी बजार सन् २०२५ मै १५ देखि २० प्रतिशतले बढ्ने अपेक्षा गरिएको थियो । ‘भारत चीनलाई उछिन्दै विश्वको दोस्रो ठूलो हीरा बजार बनेको छ,’ रिपोर्टमा भनिएको छ, ‘भारतको मध्यम वर्गको संख्या बढिरहनु र सुन तथा हीराप्रतिको सांस्कृतिक लगाबका कारण यो क्षेत्रमा ठूलो लगानी भइरहेको छ ।’ 

अल्ट्राटाको रिपोर्टले पनि विश्वमा सबैभन्दा द्रुत गतिमा धनाढ्य बढ्ने १० सहरहरूमध्ये भारतका बैङ्गलुरु, मुम्बई, हैदरावाद र दिल्ली उल्लेख गरेको छ । सन् २०२५ को जुन महिनासम्मको तथ्यांकमा भारतमा अति धनाढ्यहरूको कुल संख्या ११ हजार ८ सय ६५ थियो । उनीहरूको कुल सम्पत्ति १.५ ट्रिलियन डलर रहेको पुगिसकेको छ । मुम्बई र दिल्लीजस्ता सहरमा जियो वर्ल्ड प्लाजा र ग्यालेरिज लाफायेटजस्ता नयाँ र ठूला विलासी मल तथा डिपार्टमेन्ट स्टोर खुलिरहेको द इकोनमिक टाइम्सले उल्लेख गरेको छ । यसरी लक्जरी रियल इस्टेटमा ठूलो वृद्धि भइरहँदा लिभाइज जिन्स, कसजस्ता ठूला विलासी ब्रान्डले पनि भारतमा स्टोर खोलेका छन् । भारत विश्वको दसौं ठूलो अति धनाढ्य बस्ने बजार बनेको छ, स्विट्जरल्यान्डलाई पनि उछिनेको छ । 

अल्ट्राटाको रिपोर्टअनुसार अति 

धनाढ्यहरू बस्ने विश्वकै दोस्रो ठूलो बजार चीन हो । सन् २०२५ को मध्यसम्ममा यहाँ ५२ हजार २० जना अति धनाढ्य थिए । बेइजिङ र सांघाई यहाँका प्रमुख केन्द्र हुन् भने पछिल्लो समय चीनका कम्पनी हङकङको सेयर बजारमा सूचीकृत हुने क्रम बढेपछि हङकङले पनि राम्रो प्रगति गरेको छ । हङकङमा १७ हजार २ सय १५ अति धनाढ्य बसोबास गर्छन् । एसियामा चीनपछि सबैभन्दा धेरै अति धनाढ्य भएको देश जापान हो । यहाँ १८ हजार ६ सय ९० अति धनाढ्य व्यक्तिहरू छन् र टोकियो विश्वकै अग्रणी अल्ट्रा हाई नेट वर्थ भएकाहरूको सहरमध्ये एक हो । सिंगापुरमा भने नयाँ पुस्ताका धनाढ्यको आकर्षण छ ।

युरोपमा भने जर्मनी, बेलायत र फ्रान्स प्रमुख बजारका रूपमा छन् । यो समूहले विश्वका कुल अर्बपतिको सम्पत्तिको झन्डै ३२ प्रतिशत हिस्सा ओगटेको छ । अति धनीहरूले निजी जेटलाई ‘ट्याक्सी’ जस्तै प्रयोग गर्न थालेपछि यसको माग कोभिडअघिको तुलनामा ३५ प्रतिशतले बढेको र सन् २०२४ मा निजी जेट र याटमा मात्रै २८.६ अर्ब डलर खर्च भएको बीबीसीको समाचार ‘प्लेन मेकर्स चेज एसियाज सुपर–रिच विद लक्स न्यु प्राइभेट जेट्स’मा उल्लेख छ । –एजेन्सीको सहयोगमा

कान्तिपुर

Link copied successfully