विसं २०१४ मा तत्कालीन राजा महेन्द्र सुदूरपश्चिमको पैदल भ्रमणमा आएका बेला सुक्खा फलफूल विकास केन्द्र रहेको डाँडामा अवस्थित धर्मशालामा बास बसेका थिए । त्यतिबेला डाँडामा तुसारो र हिउँ जमेको देखेर स्थानीयसित जमिन उपलब्ध गराउने भए स्याउ बगैंचा स्थापना गरिदिने बताए ।
What you should know
बैतडी — जिल्लाको सतबाँझस्थित स्याउ बगैंचाले दशरथचन्द राजमार्ग हुँदै यात्रा गर्ने जोकोहीको मन लोभ्याउँछ । राजमार्ग सँगैको त्रिभुज आकारको सुक्खा फलफूल विकास केन्द्र एक समय यस क्षेत्रको आकर्षक गन्तव्य थियो ।
बगैंचा भएको डाँडो पछिल्लो समय हिउँदमा सुक्खा र वर्षातमा हरियो देखिने गरेको छ । हिउँदमा छपक्क हिउँले छोपिएका बेला भने हिमाल जस्तै देखिन्छ । पछिल्लो समय रोपिएका विभिन्न सुक्खा जातका फलफूलका विरुवा, नर्सरी र घाँसले वर्षातमा बगैंचामा हरियाली र हिउँदमा विरुवाका पात झरेर सुक्खा देखिने गरेको हो ।
सुरुआतमा केन्द्रमा लटरम्म स्याउ फल्थे । यहाँ उत्पादन हुने स्याउ मुलुकमै प्रसिद्ध थिए । अहिले त्यही अनुपातमा स्याउ फल्दैनन् । दशरथचन्द–१ सतबाँझमा २९ हेक्टर क्षेत्रफल केन्द्र रहेको छ । विसं २०१४ मा तत्कालीन राजा महेन्द्र सुदूरपश्चिमको पैदल भ्रमणमा आएका बेला सुक्खा फलफूल विकास केन्द्र रहेको डाँडामा अवस्थित धर्मशालामा बास बसेका थिए । त्यतिबेला डाँडामा तुसारो र हिउँ जमेको देखे । स्थानीयसित जमिन उपलब्ध गराउने भए स्याउ बगैंचा स्थापना गरिदिने उनले बताए । राजाले भनेपछि स्थानीय जमिन दिन तयार भए ।
केन्द्रमा उपलब्ध दस्तावेजमा उल्लेख भए अनुसार राजाको निर्देशन अनुरुप २०१८ सालमा सम्भाव्यता अध्ययन गरियो । सम्भाव्यता अध्यायनपछि स्याउकालागि उपयुक्त ठाउँ भएको पत्ता लाग्यो । स्याउ उत्पानमा आत्मनिर्भर बनाउने उद्देश्यले २०१९ सालमा फलफूल बगैंचा तथा नर्सरी स्थापना गरिएको थियो ।
दशरथचन्द–१ का ५९ वर्षीय देवदत्त भट्टले बगैंचा रहेको जमिन पहिले आफ्नोलगायत स्थानीय बासिन्दाको नाममा रहेको बताए । यो ठाउँको विकास हुन्छ भनेपछि आफ्ना बुवाले सरकारलाई जमिन उपलब्ध गराएको उनको भनाई छ ।
आफू जन्मिनुभन्दा पहिले स्थापना गरिएको भए पनि बगैंचाबारे धेरै जनकारी रहेको उनले बताए । उनका अनुसार स्थापनाकालमा स्याउका ६ हजार रोपिएको थियो । त्यसपछि थप गरेर ८ हजार बोट पुर्याइएको थियो।
२०३४ सालमा तत्कालीन राजा बगैंचा हेर्न आउँदा स्वागतद्वार नै स्याउको मालाबाट बनाइएको आफूलाई सम्झना रहेको भट्टले बताए । ‘त्यतिबेला यातायातको सुविधा थिएन, डोकोमा स्याउ बोकेर यहाँका बासिन्दा झुलाघाट हुँदै भारत लैजान्थे,’ भट्टले भने, ‘बाँकी रहेको स्याउ स्थानीय मेला पर्व र घरेलु मदिरा बनाउन ठेकेदारलाई बेच्ने गरिन्थ्यो ।’ स्याउ बिक्रीको लागि प्रत्येक वर्ष ठेक्का लगाउने गरिएको उनले बताए ।
२०३५ सालमा स्याउ बगैंचासँगै स्याउका बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना गरिएको केन्द्रको स्मरिकामा उल्लेख छ । सानैदेखि बगैंचा र नर्सरीमा आफूले पनि दैनिक ज्यालादारी गरेको भट्टले बताए । ‘नर्सरीमा उत्पादन गरिएका स्याउका विरुवा देशभरिका पहाडी जिल्लाका कृषि विकास कायालयले खरिद गरेर लैजान्थे,’ उनले भने, ‘आफूले पनि त्यही काम गरेर स्याउका बोटमा लाग्ने रोग बारे थाहा पाए ।’ २०५१ सालमा आफैले दर्ता गरेर निजी नर्सरी निर्माण गरेको पनि भट्टले बताए ।
मुलुकमा सशस्त्र द्वन्द्वकाबेला तत्काली बिद्रोही पक्षले केन्द्रका कार्यालयमा आगजनी गरेपछि बगैंचा र नर्सरीको रेखदेख गर्ने कोही नभएको स्थानीय बताउँछन् । रेखदेख नभएपछि स्याउका रुखलाई उलियाफीट किरा र पेपरीबार्क (बोक्रा खुइलिने) रोगले नष्ट गरेको केन्द्रको स्मारिकामा उल्लेख छ ।
अहिले १५/१६ वटा पुराना स्याउका रुख बोट भए पनि तिनमा फल नलाग्ने सुक्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख अर्जुन खड्काले बताए । ०६१ देखि कृषि विभाग अन्तर्गत नयाँ विभागीय संरचना अनुसार यसको सुक्खा फलफूल विकास केन्द्र नामकरण गरिएको हो ।
खड्काका अनुसार सशस्त्र द्वन्द्व सकिएपछि केन्द्रले हिउँदे फलफूलका विरुवा तथा बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको थियो । अहिले लिफ्ट सिँचाइको व्यवस्था गरेर कलमी र विभिन्न किसिमका सुक्खा फलफूलका विरुवा उत्पादन भइरहेको उनले बताए ।
पुराना बोटमा फल लाग्न छाडेपछि केन्द्रले समय अनुकुलका विभिन्न जातका स्याउ तथा अन्य सुक्खा फलफुलका विरुवा रोपेको प्रमुख खड्काले बताए । ‘स्याउ फल्नै छाडेको नभइ पहिलेको तुलनामा कम फल्छ,’ उनले भने, ‘अहिले केन्द्रमा जलवायु अनुकुल कम चिस्यानमा हुर्किने र फल्ने स्याउ र अन्य फलफूलका विरुवा रोपेका छौं ।’
पछिल्लो समय जलवायु परिवर्तनको कारणले यस क्षेत्रमा हिउँ र तुसारो कम पर्न थालेपछि स्याउलाई तापक्रम नपुगेको प्रमुख खड्काको अनुभव छ । केन्द्रमा अहिले विभिन्न जातका स्याउ, ओखर, कागती, बदाम, भोटे कटुस, नासपती, आरु, आरुबखडा, खुर्सानी, किबी, जैतुन, लप्सी, अनार, हलुवावेदका बिरुवा उत्पादन भइरहेका छन् । नर्सरीमा उत्पादित बिरुवा सरकारी दररेटमा बिक्री गर्ने र केन्द्रको फर्ममा पनि वृक्षरोपण गरिन्छ । अहिले पनि प्रत्येक वर्ष ५ देखि ७ क्विन्टलसम्म स्याउ फल्ने गरेको खड्काले बताए । फर्ममा फलेको स्याउ स्थानीय बजारमै खपत हुने गरेको उनले बताए ।
केन्द्रलाई अहिले सुक्खा फलफूलका विरुवा उत्पादन गरि विक्री गर्ने जिम्मेवारी दिइएको हुन्छ । चालु आर्थिक वर्षमा २१ हजार सुक्खा ठाउँमा हुर्किने फलफूलका विरुवा उत्फादन गरेर बिक्री गर्ने लक्ष्य छ । चालु वर्षको अहिलेसम्म १४ हजार बिरुवा वित्री गरिसकेको केन्द्रले जनाएको छ ।
यहाँ उत्पादित बिरुवा सुदूर पहाडलगायत मुलुकका विभिन्न क्षेत्रमा पठाउने गरिएको छ । प्रत्यक वर्ष बैतडी, दार्चुला, डडेल्धुराका कृषि कलेजमा पढ्ने विद्यार्थी फर्ममा अवलोकन भ्रमण र कार्यगत तालिममा आउने गरेका प्रमुख खड्काले बताए ।
चालु वर्षको अहिलेसम्म भने कुनै कलेजका विद्यार्थी नआएको उनले जानकारी दिए । केन्द्रमा चालु र पूँजीगत गरी दुई प्रकारले बजेट आउने गर्दछ । चालु आवमा चालु र पूँजीगत गरी ५ करोड २६ लाख बजेट प्राप्त भएको छ । कम्पोष्ट मल बनाउने मेसिन खरिद, केन्द्रको नयाँ भवन निर्माणमा बजेट खर्च गर्नुपर्ने छ ।
केन्द्रले प्रत्येक वर्ष मल, बीउ, विषादी, गोबरमल, दैनिक ज्याला र आवश्यक औजारमा खरिद गर्दै आएको जनाएको छ । केन्द्रमा दैनिक ५० जनासम्म स्थानीय कामदार हुन्छन् । तिनले नर्सरीको हेरचाह, गोडमेल, विरुवा काटछाँटलगायतका काम गर्छन् ।
