अधुरो नौमुरे जलविद्युत् आयोजना देखाएर भोट माग्दै उम्मेदवार 

२०७९ मा तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बाँधस्थल नजिकै आयोजनाको कार्यालय उद्घाटन गरेका थिए । त्यसपछि आयोजना अध्ययनको काम सुरु गरिएको थियो । तर, कार्यालय सञ्चालनको केही सयममै अपायक भन्दै कर्मचारीले बस्न नमानेपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अर्घाखाँचीको सातमारामा सारिएको थियो ।

फाल्गुन १, २०८२

वीरेन्द्र केसी

What you should know

अर्घाखाँची — करिब चार दशकदेखि अर्घाखाँची र प्यूठानको सिमावर्ती क्षेत्रमा निर्माण गर्ने भनिएको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना चुनावी नारा बनिरहेको छ । २०४३ देखि ०७९ सम्मका निर्वाचनमा उम्मेदवारले नौमुरेबाट विद्युत उत्पादन गरेर सयौंलाई रोजगारी सृजना गर्ने नारा लगाएका थिए । 

प्यूठानको सरुमारानी–३, र अर्घाखाँचीको शितगंगा–८, को सिमानामा आयोजना निर्माण स्थल छ । पञ्चायतदेखि गणतन्त्रसम्म प्रत्येक चुनावका नौमुरेको निर्माण पूरा गर्ने बताउँदै प्यूठान र अर्घाखाँचीका उम्मेदवारले भोट माग्दै आएका छन् । यसपटक फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेकाले नौमुरेको काम अगाडि बढाउने आश्वासन बाँडन् थालेका छन् ।  

२०७९ मा तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझीले बाँधस्थल नजिकै आयोजनाको कार्यालय उद्घाटन गरेका थिए । त्यसपछि आयोजना अध्ययनको काम सुरु गरिएको थियो । तर, कार्यालय सञ्चालनमा आएको केही सयममै अपायक भन्दै कर्मचारीले बस्न नमानेपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अर्घाखाँचीको सातमारामा सारिएको थियो । बजेट र जनशक्ति अभावमा काम सुस्त छ । चालु आर्थिक वर्ष ११ करोड रुपैयाँ विनियोजना गरिएको छ ।

राप्तीमा पुल निर्माण, झिलिवाङ–दरावाङ पहुँच मार्ग निर्माणमा उक्त बजेट खर्च हुने आयोजनाका निमित्त प्रमुख पवन अधिकारीले बताए । यसअघि जलाशय, डाइभर्सन, वातावरणीय अध्ययनको काम सकिएको छ । अहिले काम अघि बढाउन बजेट र जनशक्ति अभाव रहेको उनले बताए । आयोजनामा ३२ जनाको दरबन्दी रहेपनि अहिले दुइ जना इन्जिनीयर, दुई सहायक कर्मचारी र आयोजना प्रमुखमात्र छन् । कार्यालयका अनुसार चालु वर्षका लागि १ अर्ब बजेट माग गरिए पनि ११ करोड मात्रै संघीय सरकारले छुट्याएको हो । 

नौमुरे आयोजना विद्युत उत्पादनसँगै दाङ, कपिलवस्तु र बाँकेमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । प्यूठानको सरुमारानीमा विद्युत गृह निर्माण गर्ने र अर्घाखाँचीको लामातालमा बाँध निर्माण गरेर ८८ मेगावाटसहित २ सय ८१ दशमलव ३४ मेगावाट बिजुली उत्पादन गर्न सकिने आयोजनाको पछिल्लो अध्यय्न प्रतिवेदनमा उल्लेख छ । विद्युतसँगै तीन जिल्लाका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याएर खाद्यान्न तथा तरकारी उत्पादन बढाउने आयोजनाको लक्ष्य रहेको अधिकारीले बताए । बाँधस्थल नौमुरे नजिकै लामातालमा ताल बनाएर पर्यटकीय गन्तव्य बनाउने उद्देश्य रहेको छ । 

नौमुरको पानीले कपिलवस्तुमा २९ हजार ७ सय ३६, बाँकेमा ४२ हजार ७ सय ६६ र दाङको देउखुरीमा १० हजार ८ सय हेक्टरमा सिचाइँ पुर्‍याउने  लक्ष्य राखिएको छ । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री भएर भारत भ्रमणमा गएका बेला त्यहाँको सरकारले उपहार स्वरुप आयोजना निर्माण गरिदिने आश्वासन दिएको थियो । तर, भारतले चासो नदिएपछि नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गर्ने तयारी गरेको थियो । 

सरकारले एक प्रदेश, एक जलाशाययुक्त क्षेत्र पनि घोषणा गरेको थियो । लुम्बिनी प्रदेशको नौमुरेलाई जलाशाययुक्त बनाएको छ । यही अधुरो आयोजना देखाएर यसपटक पनि उम्मेदवारले घरदैलो, चुनावीसभामा भोट मागिरहेका छन् । अर्घाखाँचीबाट कांग्रेस उम्मेदवार विष्णुप्रसाद खनालले नौमुरेबाट विद्युत उत्पादन गर्नसके मुलुकमै उर्जा क्षेत्रमा ठूलो टेवा पुग्ने भएकाले आफूले महत्वको रुपमा लिएको बताए । विद्युतले देशलाई आम्दानी तथा नौमुरेको पानीले दाङ, कपिलवस्तु र बाँकेका खेतीयोग्य जमिन सिँचाइ हुँदा त्यहाँ धान, मकै, गहुँसहित खाद्य वस्तु र तरकारी उत्पादन वृद्धि हुने उनले बताए । कृषिका साथै पशुपालनमा पनि वृद्धि हुने र सयौं कृषकलाई स्वरोजगार बनाउने आधार भएकाले पहिलो एजेण्डाको रुपमा नौमुरेमा धेरै बजेट पारेर योजना सम्पन्न गर्नतिर ध्यान दिने उनले बताए । 

कांग्रेसबाट प्यूठानका उम्मेदवार डा. गोविन्द पोखरेलले हरेक चुनावीसभा र घरदैलोमा नौमुरेबारे कुरा गर्न छुटाउँदैनन् । ‘नौमुरे प्यूठानको भविष्य हो,’ उनले भने, ‘सयौंलाई रोजगारी दिलाउँछ । पहिलो प्राथमिकता राखेर काम गर्छु ।’ प्यूठानका एमाले उम्मेदवार सूर्यबहादुर थापा क्षेत्रीले ठूलो आयोजना भएकाले सम्पन्न गर्न १ खर्ब २६ अर्ब खर्च लाग्ने भएकाले देशको बजेटले धान्न नसक्ने देखिएकाले विदेशी सहायता लिएर भएपनि काम गर्ने बताइरहेका छन् । 

एमालेबाट अर्घाखाँचीका उम्मेदवार पिताम्बर भुसालले अर्घाखाँचीसहित तराइका चार जिल्लामा कृषि, उद्यम र पर्यटनबाट युवाले रोजगारी सृजना गर्ने आयोजना भएकाले छिटै सम्पन्न गर्ने गरी संसद र सरकारमा लबिङ  गर्ने दाबी गरिरहेका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर चौहानले संघ सरकारबाट बजेट पार्ने काममा कटिबद्ध भएर लाग्ने र काम अगाडी बढाउने भन्दै मत मागिरहेका छन् । उम्मेदवारले सधै नौमुरेको नारा लगाउने तर, चुनाव जितेपछि सांसदले चासो नदिँदा विश्वास गर्न सकेका छैनन् । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully