१ अर्ब ९५ करोडको लगानीमा गोदावरीमा बेस्ट वेस्टर्न प्लस रिसोर्ट सञ्चालनमा

करिब १ अर्ब ९५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यस रिसोर्टको व्यवस्थापन अमेरिकी अन्तर्राष्ट्रिय होटल चेन बेस्ट वेस्टर्न प्लसअन्तर्गत हुँदै आएको छ ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

What you should know

ललितपुर — गोदावरी फरेस्ट होटल लिमिटेडद्वारा निर्माण गरिएको बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको बिहीबार औपचारिक उद्घाटन सम्पन्न भएको छ । 

रिसोर्टको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिंहले गरेका हुन् । करिब १ अर्ब ९५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यस रिसोर्टको व्यवस्थापन अमेरिकी अन्तर्राष्ट्रिय होटल चेन बेस्ट वेस्टर्न प्लसअन्तर्गत हुँदै आएको छ भने यसको अपरेसन तथा व्यवस्थापन ट्राभियलिटी कर्प, अमेरिकाले सम्हालिरहेको सीईओ अन्जन बगालेले बताए ।

वन क्षेत्रको बीचमा अवस्थित यस रिसोर्टबाट काठमाडौं उपत्यकाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । रिसोर्टमा ८३ वटा अत्याधुनिक कोठा तथा सुइटहरू रहेका छन्, जसमा डिलक्स सुइट, सुइट कोठा, काठमाडौं उपत्यका दृश्य कोठा, टेरेस कोठा तथा वन–जंगल दृश्य कोठा समावेश छन् ।

रिसोर्टमा अतिथिहरूका लागि ३ वटा सुविधा सम्पन्न मिटिङ हल, इन्फिनिटी स्विमिङ पुल, २ वटा रेस्टुरेन्ट, रूफटप सिग्नेचर रेस्टुरेन्ट, प्राइभेट डाइनिङ सेवा, विश्वस्तरीय स्पा, फिटनेस सेन्टर, साउना, स्टीम, सैलुन तथा तापक्रम नियन्त्रण गरिएको पौडी पोखरी उपलब्ध छन् ।

उद्घाटन समारोहमा ३५ जना शेयरधनी, पर्यटन व्यवसायी, संघ–संस्था प्रतिनिधि, प्रदेश तथा स्थानीय सरकारका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीय समुदायको उपस्थिति थियो ।

रिसोर्ट व्यवस्थापनले बेस्ट वेस्टर्न इन्टरनेशनलसँगको साझेदारीले अन्तर्राष्ट्रिय रिजर्भेसन नेटवर्क र लाखौं लोयल्टी सदस्यसम्म पहुँच सुनिश्चित गरेको जनाएको छ । यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय पर्यटन बजारमा उपस्थिति अझ बलियो बनाउने विश्वास लिइएको छ ।

गोदावरी क्षेत्र प्राकृतिक सौन्दर्य, धार्मिक स्थल र जैविक विविधताका लागि चर्चित मानिन्छ । फुलचोकीडाँडाको फेदीमा अवस्थित राष्ट्रिय वनस्पति उद्यान, गोदावरी कुण्ड, गोदावरी मन्दिरलगायत स्थल नजिकै रहेकाले रिसोर्ट पर्यावरणीय तथा धार्मिक पर्यटनका लागि पनि उपयुक्त मानिएको छ ।

गोदावरी फरेस्ट होटल लिमिटेडका अध्यक्ष विजय मल्लले बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको उद्घाटन काठमाडौं उपत्यकाको आतिथ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि भएको बताए । उनले भने, ‘हामी विलासी सुविधा, व्यक्तिगत सेवा र नेपाली आतिथ्यताको आत्मीयतासहित विश्वस्तरीय अनुभव प्रदान गर्न प्रतिबद्ध छौं ।’

उद्घाटनसँगै रिसोर्टलाई केवल विलासी विश्रामस्थल मात्र नभई पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र क्षेत्रीय विकासको उत्प्रेरकका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

शुभारम्भको अवसरमा, पहिलो तीन महिनाभित्र बुकिङ गर्ने पाहुनाहरूका लागि २० प्रतिशत छुट र निःशुल्क ब्रेकफास्टको विशेष योजना पनि लागू गरिएको व्यवस्थापनले जनाएको छ ।

हाल रिसोर्ट पूर्णरूपमा सञ्चालनमा आइसकेको छ र गोदावरीको शान्त वनपरिवेशमा विश्वस्तरीय सेवा र नेपाली आतिथ्यताको संयोजनसहित पाहुनालाई स्वागत गरिरहेको छ ।

कान्तिपुर

Link copied successfully