सुरुङ खन्ने कम्पनीले काम सेकर जेठ २०८२ मा पानीको बहाव परीक्षण गरिसक्दा पनि बाँध निर्माणसहितको जिम्मा लिएको कम्पनीले ११ प्रतिशत मात्र काम गरेपछि सरकारले ठेक्का तोडेको थियो।
What you should know
काठमाडौँ — सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्माण व्यवसायीको पक्षमा जारी अन्तरिम आदेशलाई खारेज गर्दै सर्वोच्च अदालतले जमानत जफतको बाटो खोलिदिएको छ ।
मंगलबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले यसअघि जारी भएको अन्तरिम आदेश निरन्तर नहुने आदेश गरेको हो । यो आदेशले ठेक्का लिने कम्पनी पटेल–रमण जेभीले कार्यसम्पादन जमानत र अग्रिम भुक्तानीबापत राखेको ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत हुने भएको छ ।
निर्माण व्यवसायीबाट पहिलो पटक अग्रिम कार्यसम्पादन जमानतबापतको यति ठूलो रकम जफत गर्न लागिएको पूर्वसचिव देवेन्द्र कार्कीले बताए । ‘यसअघि यति ठूलो रकम बैंक ग्यारेन्टीबापत जफत भएको थिएन,’ उनले भने, ‘अदालतको यो निर्णयले निर्माण व्यवसायीलाई क्षमताभन्दा बढी ठेक्का लिन नहुने र गर्न सक्ने कामको मात्र ठेक्का लिनुपर्छ भन्ने नजिर कायम गरेको छ ।’ उनका अनुसार जेभी (ज्वाइन्ट भेन्चर) मा ठेक्का भएकाले जोखिम दुवै कम्पनीले बहन गर्नुपर्छ ।
निर्माण व्यवसायीले ठेक्का लिने बेलामा एक पटक ‘मैले यो काम गर्न सक्छु कि सक्दिनँ’ भनेर सोच्नुपर्ने उनको सुझाव छ । ग्यारेन्टी राख्ने बैंकहरूमा ग्लोबल आईएमई, प्रभु, माछापुच्छ्रे, प्राइम कमर्सियल र कुमारी बैंक छन् । यीमध्ये २ अर्बभन्दा बढी ग्लोबल बैंकमा छ भने १ अर्ब २० करोड बाँकी बैंकहरूका छन् ।
आयोजनाको सुरुङ खन्ने काम सकेर पानी परीक्षण गरिसक्दा पनि छुट्टै ठेक्का भएको बाँध निर्माणसहितका काम नसकिएपछि आयोजनाले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको थियो । आयोजना कार्यालयले २५ कात्तिकमा बाँध, विद्युत्गृह सहितका संरचनाको काम नभएपछि पटेल–रमण जेभीसँग ठेक्का तोड्ने निर्णय गर्दै १५ दिने सूचना जारी गरेको थियो । आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल–रमण जेभीले कार्यसम्पादन जमानतबापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोडसहित ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत प्रक्रिया अघि बढाएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका तत्कालीन मन्त्री कुलमान घिसिङ, मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, आयोजना तथा परामर्शदातालगायत समेतलाई विपक्षी बनाएर पटेल–रमण जेभीले आयोजनाको उक्त निर्णयविरुद्ध ९ मंसिरमा सर्वोच्चमा रिट दायर गरेको थियो । १० मंसिरमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ठेक्का तोड्ने र बैंक ग्यारेन्टी जफत गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । ढुंगानाको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
त्यसअनुसार पछिल्लो पटक सोमबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । सर्वोच्चले निर्माण व्यवसायीको पक्षमा जारी भएको अन्तरिम आदेशलाई मंगलबार खारेज गरिदियो ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बराल भन्छन्, ‘सम्झौतामा उल्लेख भएअनुसार काममा प्रगति नभएपछि ठेक्का तोडिएको हो, ठेक्का तोडिएपछि निर्माण व्यवसायीको कार्यसम्पादन जमानत र अग्रिम भुक्तानीबापत राखेको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया अघि बढाएका थियौं, यसका लागि अदालतले पनि बाटो खोलिदिएको छ, त्यहीअनुसार बैंक ग्यारेन्टी जफत गर्छौं, यसका लागि सम्बन्धित बैंकहरूमा चिठी पठाइसकिएको छ ।’ जफत गरेर यसअघि ठेक्का लिने निर्माण व्यवसायीबाट भएको कामको मूल्यांकन गरी टुंग्याइने उनले बताए ।
‘पहिला निर्माण व्यवसायीले गरेको कामको मूल्यांकन हुन्छ,’ उनले भने, ‘यसको मूल्यांकन गरी निर्माण व्यवसायीले काम नगरेका आधारमा सरकारी असुलउपर हुन्छ, यो प्रक्रिया अघि बढाउँछौं ।’ अहिले १ अर्ब २० करोड रुपैयाँ बैंक ग्यारेन्टीमा अग्रिम रूपमा दिएको रकम रहेको उनले बताए । यसको प्रक्रिया टुंग्याउन केही समय लाग्ने उनको भनाइ छ । ‘निर्माण कम्पनीलाई बैंकले एजेन्सी ग्यारेन्टी दिएको हो,’ उनले भने, ‘त्यसैका आधारमा प्रक्रिया पूरा गरे/नगरेको सबै हेरेर बैंक ग्यारेन्टी लिइएको हो ।’
सरकार पक्षबाट अल्पकालीन अन्तरिम आदेश खारेजी माग गर्दै सर्वोच्चमा निवेदन (भ्याकेट) दिइएको थियो । सर्वोच्चको अहिलेको आदेशसँगै ठेक्का तोड्ने, पेस्की जमानत जफत, कार्यसम्पादन जमानत जफतलगायतका सरकारी निर्णय अगाडि बढाउन बाटो खुलेको हो । पटेल–रमण जेभीले सुनकोशी नदीमा बाँध निर्माण कार्य ४ वर्ष ७ महिनामा सक्ने गरी माघ २०७९ मा १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।
आयोजनाको बाँध, विद्युत्गृह लगायतका सिभिल संरचना, गेट, हाइड्रो मेकानिकल उपकरण आपूर्ति तथा जडानको ठेक्कामा प्रगति नभएको विभागले जनाएको छ । ठेक्का सम्झौताको अवधि ६० प्रतिशत सकिँदा प्रगति ११ प्रतिशत मात्र भएको छ । विद्युत् उत्पादनसँगै बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको मुख्य उद्देश्य छ । समग्र आयोजनाको लागत अनुमान ४९ अर्ब छ । आयोजना सम्पन्न गर्ने समय २०८४ सम्म रहे पनि बाँधको ठेक्का तोडिएपछि थप समय लाग्ने आयोजनाको अनुमान छ ।
मुख्य सुरुङको ‘ब्रेक थ्रु’ २६ वैशाख २०८१ मा गरिएको थियो । सुरुङ खन्ने काम भने २८ असोज २०७९ बाट थालिएको थियो । सुरुङबाट पानी परीक्षणको कामसमेत सकेर तयारी अवस्थामा रहे पनि बाँध निर्माणले गति लिन सकेको छैन । बाँध निर्माण भएर पानी नपठाउँदासम्म सुरुङ सञ्चालनमा आउने छैन । त्यसका लागि पहिला सुनकोशी गाउँपालिकाको कानढुंग्रीस्थित सुनकोशी नदीमा बाँध निर्माणको काम सकिनुपर्छ । १३.३ किलोमिटरको सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले लिएको हो ।
टनेल बोरिङ मेसिनमार्फत सुरुङ खन्ने काम २२ महिनाभित्र सक्ने लक्ष्य थियो, निर्माण थालेको १९ महिना अर्थात् गत २६ वैशाख ०८१ मै खन्ने काम सकियो । त्यसको एक वर्षपछि जेठ २०८२ मा सुरुङ फिनिसिङको काम सकेर पानीको बहाव परीक्षण गरिएको थियो । तर बाँध निर्माणले गति नलिँदा सुरुङ प्रयोगविहीन छ । आयोजनाले बाँध निर्माणको ठेक्का तोडेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाइसकेको छ ।
