सिर्सिया सुक्खा बन्दरगाहमा रेलको आवागमन घट्दो

यस वर्षको तीन महिनायता मालवाहक रेलको संख्यामा उल्लेख्य गिरावट आएपछि आयात–निर्यात कारोबार, ढुवानी समय र लागतमा प्रत्यक्ष असर देखिएको छ ।

माघ २८, २०८२

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा रेलमार्गबाट हुने मालसामान ढुवानी क्रमशः घट्दै गएको छ । वीरगन्जस्थित इन्टरमोडल यातायात विकास समितिको कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको पहिलो ६ महिनामा गत आवको सोही अवधिको भन्दा कम मालवाहक रेल आएका छन् ।

यस वर्षको तीन महिनायता मालवाहक रेलको आवागमनमा देखिएको समस्याका कारण आयात–निर्यात कारोबार, ढुवानी समय र व्यावसायिक लागतमा प्रत्यक्ष असर परेको गुनासो व्यवसायीहरूको छ ।

यहाँ बोरा बन्द कार्गो, लुज कार्गो, फलाम बाहक र कन्टेनर बाहक गरी चार प्रकारका रेल आउने गर्छन् । भारतको कोलकाता, हल्दिया र विशाखापटनम् बन्दरगाहबाट बढी जसो तेस्रो मुलुकबाट आयातित मालबस्तु बोकेर मालवाहक रेल यहाँ आउने गर्छन् । यसका साथै भारतकै विभिन्न राज्यबाट मल, चिनी, कोइला, अन्न आदि वस्तु पनि रेलबाट ढुवानी हुने गरेको छ ।

इन्टरमोडल यातायात विकास समिति वीरगन्ज शाखाका प्रमुख कमल ज्ञवालीका अनुसार बन्दरगाहमा गत आवको पहिलो ५ महिनामा कुल पाँच सय ८८ वटा रेल रेक आवागमन भएको थियो भने चालु आवको यसै अवधिमा यो संख्या घटेर पाँच सय ७२ मा सीमित भएको छ । तथ्यांकअनुसार गत आवमा मासिक औसत रूपमा ९० देखि १ सय ५ रेक सञ्चालन हुने गरेकोमा यस वर्ष मासिक औसत ८५ भन्दा तल झरेको छ ।

यस वर्ष केही महिनामा सबैभन्दा कम करिब ७९ रेक र बढीमा एक सय चार रेकमा सीमित रहेको छ । गत वर्ष केही असोज महिनामा १ सय १० रेकसम्म आवागमन भएको देखिन्छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल भारततर्फको रेल व्यवस्थापन प्रणालीमा समस्या, समयमै रेक उपलब्ध नहुनु, प्राविधिक अवरोध लगायतका कारण रेल सेवा नियमित हुन नसकेको बताउँछन् । पछिल्लो तीन महिना यता स्थिति झनै खराब भएको उनले बताए । ‘पहिले दैनिक रूपमा सहज ढुवानी हुने गर्थ्यो, अहिले कन्टेनर थुप्रिने, समयमै सामान नपुग्ने र डेमरेज शुल्क बढ्ने समस्या झेल्नुपरेको छ,’ उनले भने ।

रेल आवागमन घट्दा आयातसँगै निर्यात व्यवसायसमेत प्रभावित हुने उनले बताए । समयमै सामान नपुग्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम बढेको उनले बताए ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक नाकामध्ये एक सिर्सिया सुक्खा बन्दरगाहमा मालवाहक रेलको आवागमनमा देखिएको यो गिरावटले समग्र देशको आयात–निर्यात प्रणालीमै नकारात्मक असर पार्ने खतरा रहेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम बताउँछन् । ‘यो चिन्ताको विषय हो,’ उनले भने, ‘सरोकारवाला निकायहरूले रेल सेवामा सुधारात्मक कदम चाल्न जरुरी छ ।’

सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्यालीका अपरेशनल इन्चार्ज अभिषेक मिश्राले पछिल्लो समय मालवाहक रेलको आवागमनमा सुधार आएको बताउँछन् । यसअघि भारतमै विभिन्न प्राविधिक कारणले सबै खाले रेलको आवागमनमा समस्या भई नेपालतर्फ पनि समस्या देखिएकोमा हाल स्थितिमा सुधार आइसकेको उनले दाबी गरे ।

यस आधारमा बन्दरगाह परिसरमा मालवाहक र खाली कन्टेनरको संख्या पनि घट्दो क्रममा रहेको उनले दाबी गरे । हाल बन्दरगाह परिसरमा १ हजार दुई सय खाली र एक हजार चार सय गरी दुई हजार ६ सय कन्टेनर रहेको उनले जानकारी दिए । यो बन्दरगाहको कन्टेनर बाहक क्षमता एक हजार ६ सय हो । हाल पनि बन्दरगाहको क्षमताभन्दा एक हजार बढी कन्टेनर बन्दरगाह परिसरमा रहेका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully