सिग्देलले भवन पुनर्निर्माणको क्रममा ऊर्जा दक्षता र जलवायु सहनशील विशेषताहरू समेट्ने स्पष्ट अवसर प्रदान गरेको छ बताउँदै यी संरचनाहरूलाई दिगो सार्वजनिक भवनहरूको नमूना बनाइने उल्लेख गरे ।
What you should know
काठमाडौँ — सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले भवन पुनर्निर्माणको क्रममा ऊर्जा दक्षता र जलवायु सहनशील विशेषताहरू समेट्ने स्पष्ट अवसर दिएको बताएका छन् । युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित स्वीचएसियाको अनुदानमा सञ्चालित बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल(बीन) द्वारा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले यस्तो बताएका हुन् ।
सिग्देलले भवन पुनर्निर्माणको क्रममा ऊर्जा दक्षता र जलवायु सहनशील विशेषताहरू समेट्ने स्पष्ट अवसर प्रदान गरेको छ बताउँदै यी संरचनाहरूलाई दिगो सार्वजनिक भवनहरूको नमूना बनाइने उल्लेख गरे ।
जेनजी आन्दोलन पछिको पुनःउत्थान प्रक्रियामा ऊर्जा दक्षता र जलवायु सहनशीलतामैत्री भवन निर्माणमा जोड दिएको उनको भनाइ छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभरि करिब ३ सय सार्वजनिक भवनहरुमा क्षति पुगेको थियो । नेपाल विश्वमै सबैभन्दा तीव्र शहरीकरण भइरहेका देशहरूमध्ये एक भएको भन्दै सिग्देलले ६० प्रतिशतभन्दा बढी जनसंख्या अहिले शहरी क्षेत्रमा बसोबास गर्ने बताए ।
‘यस वृद्धिले अवसरहरू सिर्जना गरे पनि भवन क्षेत्रमा बढ्दो ऊर्जा माग, स्रोतमा दबाब, उत्सर्जन वृद्धि र जलवायु जोखिम जस्ता गम्भीर चुनौतीहरू पनि निम्त्याएको छ । यदि ऊर्जा दक्षतालाई अहिले प्राथमिकता नदिए यी अक्षम व्यवस्थाहरू दशकौँसम्म स्थायी रूपमा जकडिनेछन्, जसले दीर्घकालीन लागत र वातावरणीय प्रभाव बढाउने छ,’ सिग्देलले भने । यस सन्दर्भमा बिन आयोजना समयसापेक्ष र अत्यन्त सान्दर्भिक परियोजना भएको सचिव सिग्देलले बताए ।
भवन ऊर्जा दक्षता सरकारको प्रमुख प्राथमिकता भएको भन्दै नेपालको राष्टि्रय रूपमा निर्धारण गरिएको योगदान (एनडीसी) ३.० अन्तर्गत सन् २०३० सम्म ऊर्जा दक्षतालाई मुख्य आधार बनाएर हरित भवन संहिता र मार्गदर्शन विकास गर्ने प्रतिबद्धता गरिएको उल्लेख गरे ।
युरोपियन युनियनका नेपालका लागि राजदूत भेरोनिक लोरेन्जोले उर्जा दक्ष भवन निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिइन् । आयोजनाले सूक्ष्म, साना तथा मध्यम उद्यम (एमएसएमइज)लाई तालिम र सशक्तीकरण, निष्कि्रय शीतलीकरण (प्यासिभ कुलिङ) र हलो बिक्रिस जस्ता नवीन प्रविधिको प्रवर्द्धन, नीतिगत संवादमा सहयोग, तथा ऊर्जा–दक्ष भवनका बहुआयामिक फाइदाबारे जनचेतना अभिवृद्धि गर्दै आएको छ ।
कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका सहसचिव रविन्द्र बोहराले यस परियोजनाबाट प्राप्त सिकाइ र ज्ञानले जलवायु–संवेदनशील डिजाइन तथा निर्माण अभ्यासलाई अघि बढाउन र नेपाललाई हरित तथा दिगो अर्थतन्त्रतर्फ उन्मुख गराउने प्रतिबद्धतालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए ।
‘नेपाल सरकारले भवन क्षेत्रमा ऊर्जा दक्षता र जलवायु सहनशीलतालाई प्राथमिकता दिँदै आएको छ, जसको प्रतिबिम्ब सोह्रौँ योजना र राष्टि्रय रूपमा निर्धारित योगदान (एनडीसि) मा देखिन्छ । हरित भवन मार्गदर्शन को विकासमा बिन परियोजनाको महत्वपूर्ण योगदान छ ।
भविष्यमा हरित भवन संहिताका लागि आधार प्रदान गर्नेछ,’ बोहराले बताए । नेपाल तीव्र शहरीकरण र बढ्दो जलवायु जोखिमहरूको सामना गरिरहेको अवस्थामा यस्ता ज्ञान–उत्पादन र उपकरणहरू राष्टि्रय प्रतिबद्धतालाई व्यवहारिक कार्यान्वयनमा रूपान्तरण गर्न अत्यावश्यक भएको उनको भनाइ छ ।
कार्यक्रममा वैकल्पिक उर्जा केन्द्रका अध्यक्ष नवराज ढकालले राष्टि्रय उर्जा दक्षता योजना, रणनीति भएको भन्दै निर्वाचन पछि बन्ने नयाँ सरकारले भवन उर्जा दक्षता सम्बन्धि ऐन बनाएर यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बिन आयोजनाको टिम लिडर सुयेश प्रजापतिले आयोजनाको बारेमा जानकारी दिदैं परियोजनाको पहलमा ४० वटा नगरपालिकाहरूले ऊर्जा दक्ष भवन निर्माण सम्बन्धी उप–नियम वा कार्यविधिहरू स्वीकृत गरएिको बताइन । राष्टि्रय स्तरका ३ वटा र प्रदेश स्तरको १ वटा नीतिगत दस्ताबेज तयार पारिएको उनले जनाइन् ।वित्तीय पहुँचः दिगो आवासका लागि दुईवटा वाणिज्य बैंकहरूसँगको सहकार्यमा हरित आवास कर्जा योजना परिमार्जन गरी १.७ मिलियन युरो कर्जा प्रवाह गरिएको छ ।
प्रविधि र बजारः सर्वसाधारणलाई घर निर्माणका लागि आवश्यक परामर्श र सेवा दिन 'बिन कनेक्ट' मोबाइल एप सञ्चालनमा ल्याइएको छ, जसमा २३९ भन्दा बढी निर्माण व्यवसायीहरू आवद्ध छन् ।
