पर्यटन बोर्डका अनुसार यो समझदारी आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम तथा बजेटअन्तर्गत भएको हो ।
काठमाडौँ — चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डबीच चार बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार नेपालले कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल आयोजना गर्ने, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धन सामाग्री उत्पादन गर्ने गर्ने छ । बोर्डका अनुसार यो समझदारी आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम तथा बजेटअन्तर्गत सम्पन्न भएको हो ।
समझदारीको प्रमुख बुँदाअनुसार प्रत्येक वर्ष हुने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपालको आधिकारिक पभेलियन स्थापना गरी नेपाली चलचित्रसँगै नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरिनेछ । साथै, पोखरालाई चलचित्र र पर्यटनको संगमस्थलका रूपमा विकास गर्न अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिभल आयोजना गर्ने सहमति पनि भएको छ ।
समझदारीपत्रमा चलचित्रमार्फत प्रेरित यात्रा (सेट-जेटिङ)लाई प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त प्रचार गर्ने, नेपाललाई अडियो–भिजुअल उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा पूर्वाधार विकास र प्रवर्द्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् ।
यस सहकार्यबाट कम चर्चित गन्तव्यहरूमा समेत पर्यटकको आकर्षण बढ्ने, स्थानीय अर्थतन्त्र चलायमान हुने, रोजगारी सिर्जना हुने र सांस्कृतिक आदान–प्रदान सुदृढ हुने विश्वास लिइएको छ ।
