हिमालयन ह्वाइटवाटर च्यालेन्ज फागुन १४ देखि

प्रतियोगितामा ३० जना अन्तर्राष्ट्रिय र १४० जना राष्ट्रिय खेलाडी सहभागी हुने छन् ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) ले आगामी फागुन १४ देखि १६, २०८२ (फेब्रुअरी २६–२८, २०२६) सम्म ‘२४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ र कायाकिङ महोत्सव’ आयोजना गर्ने भएको छ ।

नाराका अध्यक्ष कमलबहादुर ठकुरीका अनुसार, प्रतियोगितामा ३० जना अन्तर्राष्ट्रिय र १४० जना राष्ट्रिय खेलाडी सहभागी हुने छन् । कायाकिङतर्फ दुई र राफ्टिङतर्फ एक गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन १०० भन्दा बढी कायकरबीच रेस, दोस्रो दिन नकआउट सेसन र तेस्रो दिन राफ्ट सेसन सञ्चालन गरिनेछ । समग्रमा खेलाडी, स्वयंसेवक, निर्णायक र दर्शक गरी ४०० देखि ६०० जनासम्मको उपस्थिति रहने अपेक्षा आयोजकले अपेक्षा गरेको छ ।  

नेपालमा राफ्टिङ  सन् १९६० को दशकबाट सुरु भएको मानिन्छ । सन् १९६४ मा फ्रान्सेली टोलीले त्रिशूली र १९६५ मा सर एडमण्ड हिलारीको टोलीले सुनकोशीमा गरेको जलयात्रा महत्त्वपूर्ण कोशेढुंगा बनेका थिए । सन् १९७५ मा हिमालयन रिभर एक्सप्लोरेसनमार्फत व्यावसायिक राफ्टिङ औपचारिक रूपमा सुरु भएको हो । नारा २०४६ सालमा स्थापना भएको हो ।

महोत्सव पर्यटन बोर्डको सहकार्यमा हुने भनिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले लामो समयदेखि ह्वाइटवाटर शृंखलामा पर्यटन बोर्डले सहकार्य गर्दै आइरहेको उल्लेख गर्दै यसपटक नदीमा आधारित साहसिक खेललाई नेपालको सशक्त पर्यटन पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको बताए । ‘सगरमाथा र हिमालसँगै राफ्टिङ, कायाकिङ र कनोइङजस्ता नदीजन्य साहसिक गतिविधिलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न आवश्यक छ,’ उनले भने, ‘यसका लागि नदी संरक्षणमा पनि समानान्तर रूपमा जोड दिनुपर्छ ।’

कान्तिपुर

Link copied successfully