लगानीकर्ताले सेयर किन्नुअघि कुल लगानी रकमको कम्तीमा ३० प्रतिशत प्रारम्भिक मार्जिनका रूपमा ब्रोकरकहाँ जम्मा गर्नुपर्नेछ ।
What you should know
काठमाडौँ — अब धितोपत्र ब्रोकरहरुले पनि लगानीकर्तालाई सेयर खरिदका लागि ऋण दिन पाउने भएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ । उक्त निर्देशिका आउँदो फागुन १ देखि कार्यान्वयनमा ल्याउन निर्देशन जारी गरेको छ ।
सोही निर्देशन अनुसार आउने शुक्रबारदेखि निर्देशिका कार्यान्वयन हुनेछ । मार्जिन कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन सूचीकृत कम्पनीहरूका लागि धितोपत्र बोर्डले कडा मापदण्ड तोकेको छ ।
गत सोमबार बसेको धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले मार्जिन कारोबार सम्बन्धी २०७४ सालको पुरानो निर्देशिका खारेज गर्दै नयाँ जारी गरेको हो । निर्देशिकाले लगानीकर्ताले धितोपत्र व्यवसायी (ब्रोकर) मार्फत ऋण सुविधा लिएर सेयर किन्न पाउने बाटो औपचारिक रूपमा खुलेको हो ।
अब मार्जिन सुविधाका लागि योग्य हुन कम्पनीको कम्तीमा २५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत हुनुपर्ने, प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बढी वा बराबर हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्ने तथा आईपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था निर्देशिकामा छ ।
मार्जिन कारोबार अन्तर्गत लगानीकर्ताले सेयर किन्नुअघि कुल लगानी रकमको कम्तीमा ३० प्रतिशत प्रारम्भिक मार्जिनका रूपमा ब्रोकरकहाँ जम्मा गर्नुपर्नेछ । कारोबार अवधिभर बजारको उतारचढावलाई ध्यानमा राख्दै लगानीकर्ताले न्यूनतम २० प्रतिशत मार्जिन कायम राख्नुपर्ने व्यवस्था गरिएको छ । सेयरको मूल्य घटेर यो सीमाभन्दा तल पुगेमा ब्रोकरले ‘मार्जिन कल’ गर्नेछ ।
तोकिएको समयमा थप रकम वा सेयर जम्मा नगरेमा ब्रोकरलाई सेयर बिक्री गरी आफ्नो लगानी असुल गर्ने अधिकार हुनेछ । पारदर्शिता सुनिश्चित गर्न ब्रोकरले दैनिक रूपमा बजार मूल्यका आधारमा ‘मार्क–टू–मार्केट’ प्रणाली अनुसार मार्जिन हिसाब गर्नुपर्ने निर्देशका उल्लेख छ ।
