नेपालका ८५.१ ५ घरधुरीमा स्मार्टफोन र ८२ मा इन्टरनेट पहुँच

एक्सेलमा गणितीय सूत्र प्रयोग गर्न सक्ने १०.२, कम्प्युटर प्रोग्रामिङ गर्न सक्ने ३.१ र डकुमेन्ट वा डिभाइसहरूबीच तथ्यांक वा सामग्री कप–पेस्ट गर्न सक्ने जनसंख्या २४.२ प्रतिशत

माघ २७, २०८२

सजना बराल

85.1% of Nepal's households have smartphones and 82% have internet access

What you should know

काठमाडौँ — नेपालका घरधुरी र विभिन्न उमेर समूहका व्यक्तिबीच स्मार्टफोन र इन्टरनेटको पहुँच उच्च रहे पनि प्राविधिक सीप र डिजिटल साक्षरताको स्थिति अत्यन्तै कमजोर पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५’ अनुसार नेपालका ८५.१ प्रतिशत घरधुरीमा स्मार्टफोन र ८२ प्रतिशतमा इन्टरनेटको पहुँच विस्तार भएको छ । 

व्यावसायिक वा उत्पादनमूलक कार्यका लागि आवश्यक कम्प्युटर (डेस्कटप, ल्यापटप, ट्याबलेट) को स्वामित्व भने १६.८ प्रतिशतमा सीमित छ । यसले ‘मोबाइल–फर्स्ट’ अर्थतन्त्रको झल्को दिए पनि प्रविधिको आधारभूत ज्ञान र सीपसँगै उत्पादनमूलक कार्यमा सूचना प्रविधि प्रयोग न्यून रहेको विश्लेषण गर्न सकिन्छ । 

सर्वेक्षणअनुसार डेटा व्यवस्थापन र व्यावसायिक कार्यका लागि आधारभूत मानिने स्प्रेडसिट (एक्सेल) मा गणितीय सूत्र प्रयोग गर्न सक्ने जनसंख्या १०.२ प्रतिशत मात्र छ । कम्प्युटर प्रोग्रामिङ गर्न सक्ने जनसंख्या त झनै कम ३.१ र डकुमेन्ट वा डिभाइसहरूबीच तथ्यांक वा सामग्री कप–पेस्ट गर्न सक्ने २४.२ प्रतिशत छन् ।

यसले मोबाइल तथा इन्टरनेट प्रयोगमा नेपाली अगाडि रहे पनि सफ्टवेयर निर्माण र उच्च प्राविधिक जनशक्ति उत्पादनमा पछाडि रहेको संकेत गर्छ । पेनड्राइभ, क्यामेरा वा प्रिन्टरजस्ता डिभाइस जडान गर्न जान्नेहरू ९.३ प्रतिशत मात्रै छन् । इलेक्ट्रोनिक प्रेजेन्टेसन बनाउन जान्नेहरूको हिस्सा १७.६ प्रतिशत छ । 

साथै, आफ्नो डिभाइस, एकाउन्ट वा एपमा प्राइभेसी सेटिङ मिलाउन जान्नेहरू जम्मा १९.९ प्रतिशत रहनुले प्राविधिक र डिजिटल सारक्षता कति कमजोर छ भन्ने अनुमान लगाउन सकिन्छ । इन्टरनेटमा रहेका सूचनाहरूको विश्वसनीयता वा तथ्यजाँच गर्न सक्ने १९.२ प्रतिशत छन् भने सुरक्षा फिचर मिलाउन सक्ने चाहिँ २३.८ प्रतिशत रहेको देखिन्छ । 

सरकारी निकाय र निजी क्षेत्रका आईटी कम्पनीहरूले पर्याप्त दक्ष जनशक्ति नपाएको र भएका दक्ष कर्मचारीहरू पनि पलायन हुने (रिटेन्सन दर न्यून रहेको) गुनासो गर्दै आएका छन् । यस्तोमा घरपरिवारसम्बन्धी सर्वेक्षण कार्यक्रमले पनि सूचना प्रविधिसम्बन्धी सीप र बजारको मागबीच ठूलो खाडल रहेको देखाएको हो ।

आर्थिक दृष्टिकोणबाट हेर्दा नेपाल ‘डिजिटल उपभोक्ता’ उत्पादन गर्न सफल भए पनि ‘डिजिटल उत्पादक’ तयार गर्न संघर्षरत देखिन्छ । प्राविधिक सीपमा पुरुषहरू महिलाभन्दा अगाडि देखिएका छन् । कम्तीमा एउटा सीप भएका पुरुष ६९.७ प्रतिशत हुँदा महिला ४८.८ प्रतिशत मात्र छन् । 

सर्वेक्षण प्रतिवेदनअनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ९०.४ प्रतिशत पुरुषसँग मोबाइल फोन छ भने सोही उमेर समूहका ८१.६ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन छ । आर्थिक रूपमा विपन्न वर्गका ५२.९ प्रतिशत घरधुरीमा इन्टरनेट पहुँच पुग्दा सबैभन्दा धनी २० प्रतिशतमा यो दर ९९.२ प्रतिशत छ । यसले प्रविधिमार्फत आर्थिक रूपान्तरण गर्ने अवसरमा ठूलो वर्गीय खाडल सिर्जना गरेको औंल्याउँछ । 

नेपालका ८२ प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच पुगिरहँदा सहरी क्षेत्रमा यो दर ८६.५ प्रतिशत र ग्रामीणमा भने ७३ प्रतिशत छ । कुल ९५.५ प्रतिशत घरधुरीमा कुनै न कुनै प्रकारको टेलिफोन (फिक्स्ड लाइन वा मोबाइल) छ । १५ देखि ४९ वर्ष उमेर समूहका ८५.३ प्रतिशत व्यक्तिसँग आफ्नै मोबाइल फोन र ७६.७ प्रतिशतसँग आफ्नै स्मार्टफोन छ । प्रादेशिक रूपमा बागमतीमा ८५ प्रतिशत घरधुरीमा इन्टरनेट पुग्दा कर्णालीमा ६८.५ र मधेशमा ७८.९ प्रतिशत मात्र पहुँच छ । पछिल्लो तीन महिनामा १६.८ प्रतिशत व्यक्तिले मात्र कम्प्युटर प्रयोग गरेका छन् । 

प्रतिवेदनमा आर्थिक अवस्था, भौगोलिक अवस्थिति, शिक्षा र लैंगिक आधारमा डिजिटल डिभाइडको पनि प्रस्ट चित्र देखिन्छ । सबैभन्दा धनी घरधुरीमा कम्प्युटरको स्वामित्व ५३.३ प्रतिशत रहँदा सबैभन्दा गरिब घरधुरीमा यो १.४ प्रतिशत मात्र छ । नेपलका १५–४९ वर्ष उमेर समूहमा कम्तीमा एउटा प्राविधिक सीप भएका व्यक्तिहरू धनी वर्गमा ७६.७ प्रतिशत छन् भने गरिब वर्गमा ४१.५ प्रतिशत मात्र छन् । सहरी र ग्रामीण क्षेत्रबीच पनि पूर्वाधार र प्रयोगमा ठूलो अन्तर देखिन्छ । सहरी क्षेत्रका २१.२ प्रतिशत घरधुरीमा कम्प्युटर छ भने ग्रामीण क्षेत्रमा ८.१ प्रतिशतसँग मात्र कम्प्युटर छ ।

सर्वेक्षणले प्रदेशहरूबीच पनि डिजिटल पहुँचमा असमानता रहेको औंल्याएको छ । बागमतीमा सबैभन्दा धेरै ८५ प्रतिशत घरधुरीमा इन्टरनेट पुगिरहँदा कर्णाली प्रदेशमा सबैभन्दा कम ६८.५ प्रतिशतमा सीमित छ । बागमतीमै ५.२ प्रतिशत व्यक्तिमा प्रोग्रामिङ सीप छ भने मधेशमा यो दर जम्मा १.४ प्रतिशत छ । लैंगिक दृष्टिले हेर्दा पछिल्लो ३ महिनामा कम्प्युटर प्रयोग गर्ने पुरुष २४ प्रतिशत हुँदा महिला ११.५ प्रतिशत मात्र छन् । कम्तीमा एउटा प्राविधिक सीप भएका पुरुष ६९.७ प्रतिशत छन् भने महिला ४८.८ प्रतिशत छन् । 

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully