साउदीमा ४० प्रतिशत बासिन्दा विदेशी, २०२५ मा पठाए हालसम्मकै धेरै पैसा

१ करोड २७ लाख ९८ हजार विदेशी कार्यरत, जसमा चार लाख नेपाली

माघ २७, २०८२

कान्तिपुर संवाददाता

40 percent of Saudi residents are foreigners, sending the most money ever in 2025

What you should know

काठमाडौँ — साउदी अरबमा काम गर्दै आएका विदेशी श्रमिक तथा आप्रवासीहरूले सन् २०२५ मा हालसम्मकै सबैभन्दा धेरै पैसा आफ्ना देश पठाएका छन् । साउदी केन्द्रीय बैंकको तथ्यांकअनुसार सन् २०२५ मा विदेशीहरूले कुल १ खर्ब ६५ अर्ब ५० करोड साउदी रियाल बराबरको रकम विदेश पठाएका हुन् ।

यो रकम सन् २०२४ मा पठाएको १ खर्ब ४४ अर्ब २० करोड रियालको तुलनामा करिब १५ प्रतिशत बढी हो । साउदीमा कुल जनसंख्याको ४० प्रतिशत विदेशी नागरिक कार्यरत छन् । यहाँ विदेशी नागरिक १ करोड २७ लाख ९८ हजार छन्, जसमा चार लाख नेपाली कार्यरत छन् । उनीहरूले नेपालमा पठाएको रेमिट्यान्स रकम भने खुलेको छैन ।

तथ्यांकअनुसार सन् २०२५ को डिसेम्बरमा मात्रै विदेशीहरूले करिब १४ अर्ब रियाल विदेश पठाएका छन् । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा केही कम भए पनि समग्र रूपमा धेरै नै रहेको देखिन्छ । सन् २०२५ मा सबैभन्दा धेरै वृद्धि फेब्रुअरी महिनामा देखिएको छ । उक्त महिनामा रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा करिब ३७ प्रतिशतले बढेको थियो । त्यसैगरी, मार्च महिनामा १५ अर्ब ५० करोड रियाल विदेश पठाइएको थियो, जुन सन् २०१६ यताकै सबैभन्दा धेरै मासिक रकम हो ।

साउदी नागरिकहरूले पनि विदेशतर्फ पठाउने रकम बढाएका छन् । सन् २०२५ मा साउदी नागरिकहरूले करिब ७० अर्ब ४० करोड रियाल विदेश पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशत बढी हो । फेब्रुअरी महिनामा साउदी नागरिकहरूको रेमिट्यान्स वृद्धिदर ३४ प्रतिशत पुगेको थियो ।

यद्यपि, डिसेम्बर २०२५ मा साउदी नागरिकहरूले पठाएको रकम भने ६ अर्ब १२ करोड रियालमा सीमित भएको छ । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब २० प्रतिशत कम हो । साउदी अरबमा कार्यरत विदेशी श्रमिकहरूको संख्या ठूलो भएकाले रेमिट्यान्सको मात्रा निरन्तर बढ्दै गएको देखिन्छ । यसले श्रम बजार, जीवनयापन खर्च र आप्रवासी श्रमिकहरूको आम्दानीसँग प्रत्यक्ष सम्बन्ध रहेको विश्लेषकहरूले बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully