दोहोरो अंकले घट्यो नेप्से, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

२१ फागुनमा निर्वाचन हुन लागेको र राजनीतिक अस्थिरता रहेकाले बढ्न सकेन लगानीकर्ताको आत्मविश्वास, एकै दिन १७ अर्बले खुम्चियो सेयर बजारको आकार

माघ २६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । गत बिहीबार २७.१९ अंकले बढेर बन्द भएको नेप्से आइतबार १०.२५ अंकले घटेको हो ।

बिहीबारको तुलनामा ०.३७ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ९८.४४ अंकमा ओर्लेको छ । पछिल्ला दिनमा नेप्से एक दिन बढ्ने त एक दिन घट्ने जस्तै भइरहेको छ । यद्यपि बढेको र घटेको दिन पनि उच्च परिवर्तन देखिएको छैन । 

सेयर बजारको यो प्रवृत्तिलाई विश्लेषकहरूले नेप्सेले स्पष्ट दिशा समात्न नसकेका रूपमा विश्लेषण गरेका छन् । २१ फागुनमा निर्वाचन हुन लागेको, अन्तरिम सरकारको अवधि सकिन थालेको, नयाँ सरकार कसको नेतृत्वमा हुन्छ भन्ने स्पष्ट टुंगो नभइसकेको लगायत कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको उनीहरूको तर्क छ ।

यस दिन कारोबारमा आएका मध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ६८ कम्पनीको मूल्य घट्यो । र बाँकी ७ कम्पनीको स्थिर रह्यो । सेयर बजार बढ्नेमध्ये पनि सुपर माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेपछि कारोबार नियन्त्रणका लागि सर्किट ब्रेकर लागेको थियो । योसहित ८५ वटा कम्पनीका सेयरधनीले आइतबार नाफा कमाएका छन् ।

ती कम्पनीको सेयर मूल्य बढेपछि उनीहरूको सम्पत्तिको मूल्य बढेको हो । तर, १ सय ६८ वटा कम्पनीका सेयरधनीले नोक्सानी बेहोरेका छन् । यी कम्पनीको सेयर मूल्य घटेपछि ती कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य घटेको हो । जसमध्ये कालिञ्चोक दर्शनको सेयर मूल्य ८.९१ र कर्पोरेट डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशतले घटे । ७ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

आइतबार कुल १ लाख ११ हजार ९ सय ७८ पटकको सेयर किनबेचमा २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार सेयर बजारमा ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी र अन्यको परिसूचक सामान्य बढे । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि नेप्से दोहोरो अंकले घटेको हो । यसअनुसार लगानी उपसमूहको परिसूचक ०.०९ र अन्यको ०.४६ प्रतिशतले सकारात्मक रहे ।

तर बैंकिङ उपसमूहको परिसूचक ०.१३, विकास बैंकको ०.९२, वित्त कम्पनीको ०.०१, होटेल तथा पर्यटनको ०.१३, जलविद्युत्को ०.३१, जीवन बिमाको ०.७१, उत्पादन तथा प्रशोधनको १.१६, लघुवित्तको ०.२१, सामूहिक लगानी कोषको ०.६१, निर्जीवन बिमाको ०.२८ र व्यापारको १.३० प्रतिशतले घटे । 

नेप्से दोहोरो अंकले घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण १७ अर्बले खुम्चिएको छ । यसअनुसार गत बिहीबार ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण आइतबाट घटेर ४५ खर्ब ३० अर्ब रुपैयाँ कायम भएको छ ।

कान्तिपुर

Link copied successfully