साउदीमा रहेका विदेशीले २०२५ मा पठाए हालसम्मकै धेरै पैसा

साउदीमा कुल जनसङ्ख्याको ४० प्रतिशत विदेशी नागरिक कार्यरत छन् । यहाँ विदेशी नागरिक मात्रै एक करोड २७ लाख ९८ हजार छन् ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Expatriates in Saudi Arabia sent the most money ever in 2025

What you should know

काठमाडौँ — साउदी अरबमा काम गर्दै आएका विदेशी श्रमिक तथा आप्रवासीहरूले सन् २०२५ मा हालसम्मकै सबैभन्दा धेरै पैसा आफ्ना देश पठाएका छन् । साउदी केन्द्रीय बैंकको तथ्यांकअनुसार सन् २०२५ मा विदेशीहरूले कुल १६५ अर्ब ५० करोड साउदी रियाल बराबरको रकम विदेश पठाएका हुन् ।

यो रकम सन् २०२४ मा पठाएको १४४ अर्ब २० करोड रियालको तुलनामा करिब १५ प्रतिशत बढी हो । साउदीमा कुल जनसङ्ख्याको ४० प्रतिशत विदेशी नागरिक कार्यरत छन् । यहाँ विदेशी नागरिक एक करोड २७ लाख ९८ हजार छन् । जसमा चार लाख नेपाली कार्यरत छन् । उनीहरूले नेपालमा पठाएको रेमिट्यान्स रकम भने खुलेको छैन ।

तथ्यांकअनुसार सन् २०२५ को डिसेम्बरमा मात्रै विदेशीहरूले करिब १४ अर्ब रियाल विदेश पठाएका छन् । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा केही कम भए पनि समग्र रूपमा धेरै नै रहेको देखिन्छ ।

सन् २०२५ मा सबैभन्दा धेरै वृद्धि फेब्रुअरी महिनामा देखिएको छ । उक्त महिनामा रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा करिब ३७ प्रतिशतले बढेको थियो । त्यसैगरी, मार्च महिनामा १५ अर्ब ५० करोड रियाल विदेश पठाइएको थियो, जुन सन् २०१६ यताकै सबैभन्दा धेरै मासिक रकम हो ।

साउदी नागरिकहरूले पनि विदेशतर्फ पठाउने रकम बढाएका छन् । सन् २०२५ मा साउदी नागरिकहरूले करिब ७० अर्ब ४० करोड रियाल विदेश पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशत बढी हो । फेब्रुअरी महिनामा साउदी नागरिकहरूको रेमिट्यान्स वृद्धिदर ३४ प्रतिशत पुगेको थियो ।

यद्यपि, डिसेम्बर २०२५ मा साउदी नागरिकहरूले पठाएको रकम भने ६ अर्ब १२ करोड रियालमा सीमित भएको छ । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब २० प्रतिशत कम हो ।

साउदी अरबमा कार्यरत विदेशी श्रमिकहरूको संख्या ठूलो भएकाले रेमिट्यान्सको मात्रा निरन्तर बढ्दै गएको देखिन्छ । यसले श्रम बजार, जीवनयापन खर्च र आप्रवासी श्रमिकहरूको आम्दानीसँग प्रत्यक्ष सम्बन्ध रहेको विश्लेषकहरूले बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully